बालबालिकालाई लाग्ने रोगमध्ये निमोनियाले सबैभन्दा बढी सताउने गर्छ । शिशुलाई निमोनिया भयो भने जीवनभर नै यसले दु:ख दिने भएकाले पनि निमोनियालाई जटिल रोगका रूपमा लिइन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बालबालिकाको ज्यान जानुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्वमा प्रत्येक ४५ सेकेन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको पाइन्छ ।
यसको अर्थ निमोनिया शिशु तथा बालबालिकाका लागि घातक साबित हुन सक्छ । तर बेलैमा निमोनिया हुन नदिन र भएमा तत्काल पहिचान गरी बचाउन विशेषगरी जाडो मौसममा सर्तकता अपनाउन आवश्यक छ । यसैबीच बालबालिकालाई निमोनिया हुनबाट कसरी बचाउने? यो रोग लाग्ने प्रमुख कारणहरु के–कस्ता रहेका छन् ? भन्ने विषयमा केन्द्रित रहेर बालरोग विशेषज्ञ डा. रामहरी चापागााईंसँग जोय नेपालका लागि सुस्मिता फुँयालले गरेको कुराकानी:
निमोनिया कस्तो रोग हो ?
यो श्वासप्रश्वास सम्बन्धी जटिल रोग हो । जुन बालबालिकाहरुलाई बढी मात्रामा यो रोगले च्याप्ने गर्छ । निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा हाम्रो एउटा वा दुई वटै फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी(फङ्गस)का कारणले हुने गर्छ । जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेसन अर्थात्(सुन्निने) हुन्छ । त्यस्ता हावाथैलीहरुलाई एल्भोली भनिन्छ ।
यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाइ हुन थाल्छ ।
निमोनिया हुने मुख्य कारण के हो ?
यो रोग लाग्ने प्रमुख कारण ब्याक्टेरिया र भाइरसहरु नै हुन् ।
के–कस्ता लक्षणहरु देखा पर्दछन् ?
निमोनिया हुँदा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुन्छ । त्यस्तै सास पनि छिटो छिटो फेरिने हुन्छ । अझ साना बालबालिकाको हकमा त झन् कोखा हान्ने समस्या पनि हुन्छ ।
यसका लागि घरेलु उपचार के–के हुन सक्छन् ?
यसको घरेलु उपचार हुँदैन । मुख्य कुरा निमोनिया चिन्ने हो । ज्वरो, खोकी, नाकमा फोरा र छातीको कोखाहरु हान्न थाल्यो साथै सास छिटो–छिटो चल्न थाल्यो भने तुरुन्त स्वास्थ्य संस्थामा उपचारको लागि लैजानुपर्छ ।
समयमै रोगको पहिचान गर्न नसक्दा के–कस्ता जटिलताहरु निम्तन सक्छन् ?
यो रोग बेलैमा पहिचान भएन भने फोक्सोको सक्रमण बढाउँछ । फोक्सोको सक्रमण बढ्यो भने झन स्वास्थ्य समस्या बढ्छ र उपचारमा पनि समस्या आउन सक्छ । यसरी रोग पहिचानमा ढिलाइ भयो भने उपचारमा पैसा र समय पनि धेरै लाग्ने गर्छ र अवस्था जटिल हुँदै जाँदा ज्यान समेत जान सक्छ ।
के कसरी रोकथाम र सर्तकता अपनाउने ?
यो रोगबाट बच्न मुख्य त रुघाखोकीबाट बच्नु नै हो । जटिल लक्षण्हरु देखा पर्न थालेपछि चिकित्सकको सम्पर्कमा रहने गर्नुपर्छ ।
यो रोग धेरैजसो बच्चाहरुलाई लागेको सुनिन्छ । के निमोनिया अन्य व्यक्तिहरुको तुलनामा बच्चाहरुलाई बढी हुने हो ?
यो सबै उमेरसमूहका व्यक्तिहरुमा लाग्नसक्ने रोग हो । वयस्कहरूको तुलनामा बच्चाहरुमा यो रोग बढी मात्रामा देखिन्छ, किनभने बालबालिका र बुढापाकाहरुमा वयस्कको तुलनामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यसकारण यस्ता व्यक्तिहरुलाई यो रोगले च्याप्ने गर्छ ।
गर्मी महिनाको तुलनामा जाडो महिनामा यो रोग बढी फैलिने कारण के हो ?
पहिलो त यो श्वासप्रश्वास सम्बन्धी रोग हो । जाडो महिनामा धेरै चिसो हुने कारण गर्मी महिनाको तुलनामा जाडो महिनामा धेरै बालबालिकाहरु एकैठाउँ गुचुमुच्च भएर बस्छन्, सँगै सुत्ने पनि गर्छन् । अर्को भनेको चिसोमा इन्डोर पोलुसन अर्थात् निमोनिया उत्पन्न गराउने भाइरसहरु पनि लामो समयसम्म बाँच्छन् । यसकारण चिसोमा यो रोग बडी मात्रामा देखिन्छ ।
के यो रोग एकबाट अर्को व्यक्तिमा सर्छ ?
निमोनिया लगाउने किटाणुहरु संक्रमण गराउने खालका हुन्छन् । यस अर्थमा निमोनिया पनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । भाइरस वा ब्याक्टेरियाका कारण भएको निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिट्टाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित बनाउन सक्छ । त्यसबाहेक संक्रमितले छोएका वा प्रयोग गरेका सर–सामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ ।
यसको उपचार विधि कस्तो छ ?
निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्दछ । समस्याको मूल कारणको पहिचान तथा बिरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्न सक्छन् ।
सामान्यतः ब्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बिचमा आफूलाई निको भएको महसूस भयो भनेर औषधि खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधि छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया