मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुमघाम

पर्यटकको मन लोभ्याउने नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमचुचुरा

काठमाडौँ– पर्यटनका लागि अथाह सम्भावना भएको देश हो, नेपाल । विश्वकै अग्लो शिखर सगरमाथादेखि ८ हजार मिटर अग्ला आठवटा हिमालहरू नेपालमै पर्छन् ।

केही दशकयता नेपालमा समेत घुम्ने संस्कृतिको विकास हुँदै गएको छ । नेपालका पर्यटकीय र रमणीय स्थानहरूमा बाह्य मात्र नभएर आन्तरिक पर्यटकहरू पनि आकर्षित हुन थालेका छन् ।

नेपाल सरकारले सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाएपछि आन्तरिक पर्यटकहरुको पनि घुम्ने संस्कृति बढेको पाइन्छ ।

हिमाल आरोहण गर्न रुचाउने पर्यटकका लागि नेपालका हिमश्रङ्खला पनि पहिलो रोजाइ हुन् । आज हामीले नेपालमा रहेका ८ हजार फिटभन्दा माथिका हिमश्रृङ्खलाका बारेमा जानकारी दिन गइरहेका छौँ ।

सगरमाथा (८,८४८ मिटर)

विश्वकै सर्वोच्च शिखर सगरमाथा माउण्ट एभरेस्टका नामले पनि परिचित छ । नेपालको उत्तरपूर्वी क्षेत्रमा रहेको सगरमाथा क्षेत्र विशाल हिमनदी, हिमपात, अग्लो हिमाल, गहिरो उपत्यका, असुरक्षित बस्ती र प्रकृतिले दिएको कठोर भूगोललाई  चुनौती दिने साहसी मानिसहरूको छुट्टै संसार हो । यो क्षेत्र हिमाल आरोहण र पदयात्रासँगै जीवन परिवर्तन गर्ने मिठो अनुभव समेत लिने क्षेत्रका रुपमा परिचित छ ।

प्रसिद्ध शेर्पाहरुको बस्ती रहेको यो क्षेत्रको भ्रमण गरेपछि सांस्कृतिक तथा आध्यात्मिक अनुभवहरु पनि लिन सकिन्छ । यो क्षेत्रको यात्रा काठमाडौंदेखि लुक्लासम्मको उडानबाट शुरु हुन्छ ।

१० देखि १२ दिनको यात्रामा सोलुखुम्बुदेखि खुम्बु र सगरमाथा राष्ट्रिय निकुञ्जसम्मको चलन, परम्परा र जीवनशैलीलाई बुझ्न सकिन्छ ।

सगरमाथा क्षेत्रको भ्रमणमा जाँदै गर्दा युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज र यहाँ रहेका छ हजार मिटर भन्दा अग्ला सातवटा हिमश्रुङ्खलाहरुको पनि अवलोकन गर्न सकिन्छ ।  यस्तै उच्च पर्वतीय वातावरण रहेको यस रहेका प्राकृतिक सम्पदा, वन्यजन्तुसँगै एक सय ९३ प्रजातिका चराहरू पनि हेर्न पाइन्छ ।

नेपालकै प्रसिद्ध शेर्पा जातिहरुको बसोबास रहेको गाउँ नाम्चे बजारसँगै पृथ्वीको दूर्लभ जैविक विविधताका साथै केही दूर्लभ र लोपोन्मुख प्रजातिहरू जस्तै हिउँ चितुवा, रातो पाण्डा, हिमालयन कालो भालु, कस्तुरी मृग र हिमालयन ब्वाँसाहरूको पनि अवलोकन गर्न सकिन्छ ।

कञ्चनजङ्घा (८,५८६ मिटर)

कञ्चनजङ्घा बेस क्याम्पसम्म जाने आन्तरिक पर्यटकको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ । कञ्चनजङघा हिमालको आधार शिविर पुग्न दुईवटा पदमार्ग प्रयोग हुँदै आएको छ । झापाको बिर्तामोडबाट मेची राजमार्गमा पर्ने पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाबाट पर्यटक उक्त हिमालको आधार शिविर जाने गर्छन् ।

यस्तै काठमाडौँदेखि हवाइमार्ग भएर ताप्लेजुङको सुकेटार विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिका भएर पनि कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्न सकिन्छ ।

८ हजार ५८६ मिटर उचाइमा रहेको यो क्षेत्र घुम्न उत्तिकै रमाइलो हुन्छ । यहाँ अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रसहित यहाँको हिमाली जनजीवन, शेर्पाहरूको जीवनशैली, याक, चौँरीको बसोबास, महत्वपूर्ण जडीबुटी, प्राकृतिक सौन्दर्यता मनमोहक र आनन्ददायी छ ।

हिउँ चितुवाका लागि पनि महत्वपूर्ण मानिने यो क्षेत्रमा रैथाने र घुमन्ते गरी तीन सय तीन प्रजातिका चरा दुई सय ६६ बढी ताल तथा हिमनदी सहित र हिमाली क्षेत्रको गहना मानिएका चौँरीको पनि अवलोकन गर्न पाइन्छ ।

ल्होत्से (८,५१६ मिटर)

ल्होत्से विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । समुद्र सतहदेखि ८ हजार ५ सय १६ मिटरको उचाइमा रहेको यो हिमाल नेपाल र तिब्बतको सिमानाको बीचमा रहेको छ ।

मकालु (८,४६३ मिटर)

८ हजार ४६३ मिटर अग्लो रहेको मकालु हिमाल पूर्वी नेपालको संखुवासभा जिल्लामा पर्ने संसारकै पाँचौं अग्लो हिमाल हो । यो क्षेत्र पनि पदयात्रा तथा विदाको समयमा आनन्द लिनका लागि राम्रो गन्तव्य हुन सक्छ । यो पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

खुम्बु क्षेत्रको सगरमाथाबाट २० किलोमिटर पूर्वमा रहेको मकालु हिमाल मकालु बरुण राष्ट्रिय निकुञ्जमा अवस्थित छ र चार वटा चुचुरासहितको उत्कृष्ट पिरामिड आकारका लागि पनि प्रसिद्ध छ ।

यो क्षेत्रमा जानका लागि काठमाडौँदेखि खुर्कोट, धरान हुँदै सडक यात्रा गर्न सकिन्छ भने काठमाडौँदेखि तुम्लिङटार विमानस्थलसम्म ४५ मिनेट हवाई यात्रामार्फत पनि यो क्षेत्रको भ्रमणमा जान सकिन्छ । भोटे, राई, शेर्पा लगायत जातजातिको बसोबास रहेको यो क्षेत्रको प्राकृतिक, जैविक र सांस्कृतिक हिसाबले मात्र नभई धार्मिक तथा सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ ।

चोयु (८,२०१ मिटर)

सगरमाथा हिमालको पश्चिमी क्षेत्रमा चीन र नेपालको सिमानामा अवस्थित चोयु हिमाल विश्वको छैठौँ अग्लो हिमाल हो । यो हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको लागि सबैभन्दा सजिलो हिमालका रुपमा मानिन्छ । यो हिमालको आरोहण १९ अप्रिल एक हजार ९८७ मा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली नागरिक आङफुरी शेर्पाले गरेका थिए । ‍‍‍‍‍‍‍‍‍

धौलागिरी (८,१६७ मिटर)

पोखराको उत्तर–पश्चिममा अवस्थित धौलागिरी हिमाल विश्वकै सातौँ अग्लो चुचुरोको सूचीमा पर्दछ । केही समय पहिलेसम्म आरोहण गर्न असम्भव मानिने यो हिमाललाई धेरै वर्षसम्म संसारकै अग्लो हिमाल समेत मान्ने गरिन्थ्यो ।

यो क्षेत्रको भ्रमणमा जाँदा मनोरम हिमशृङ्खला, थरिथरिका जङ्गली फूल, जडीबुटी, चराचुरुङ्गी, हिमाली र जङ्गली जनावर, प्राकृतिक भू–बनोट देख्न सकिन्छ । यस्तै, क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृतिसमेत यो क्षेत्रको प्रमुख आकर्षण हो ।

मनास्लु (८,१६३ मिटर)

यो विश्वको आठौं अग्लो हिमाल हो । नेपालको उत्तरी भागमा गोरखा र मनाङ जिल्लाको सिमानामा रहेको मनास्लु हिमालको पहिलोपटक जापानी आरोहीले आरोहण गरेका थिए ।

गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतिर भई लार्के भञ्ज्याङ नाघेर करीब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । मनास्लु क्षेत्रको उचाइ ८ हजार १६३ मिटर रहेको छ । अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा स्थानीय गुरुङ (भोटिया) जातिहरूको बस्ती छ ।

यो क्षेत्रको भ्रमणमा जानेहरुले तीब्बती संस्कृतिसँग मिल्दोजुल्दो गुरुङहरुको रहनसहन तथा संस्कृति सहित यहाँ पाइने २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तैः हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारल र करीब एक सय १० प्रकारका चरा, तीन प्रकारका सर्पप्रजातिहरू एवं दुई सय भन्दा बढी हिमाली वनस्पतिहरूको अवलोकन गर्न सक्छन् ।

अन्नपूर्ण (८०९१ मिटर)

अन्नपूर्ण हिमाल करिब ५५ किलोमिटर फैलिएको चुचुरोहरूमध्येको एक हिमशृङ्खला हो । जसको सबैभन्दा अग्लो बिन्दु अन्नपूर्ण प्रथम, विश्वको दशौं अग्लो चुचुरो मानिन्छ ।

नेपालको उत्तर–मध्य गण्डकी प्रदेशको अन्नपूर्ण हिमाल समुन्द्र सतहबाट ८ हजार ९१ मिटर उचाइमा रहेको छ । यो हिमाल आरोहणका लागि निकै कठिन तथा खतरनाक हिमालका रुपमा समेत परिचित छ ।

यो क्षेत्रमा घुम्नको लागि जाँदा अन्नपूर्णसँगै माछापुच्छ्रे हिमाल, धौलागिरी, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक दृश्यको आधारमा उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग आदिको आनन्द लिन सकिन्छ ।

मुक्तिनाथ र दामोदर कुण्ड जस्ता प्रख्यात धार्मिक क्षेत्र तथा लोमानथाङ जस्ता सांस्कृतिक धरोहर पनि अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?