काठमाडौँ– ‘मिस पिंक नेपाल २०२४’को उपाधि झापा दमक स्थायी घर भइ हाल काठमाडौं बस्दै आएकी २० वर्षिया अनमोल राईले जितेकी छिन् । नील हिरा समाजको आयोजना एवम् राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा आयोजना गरिएको प्रतियोगिताको ग्राण्ड फाइनल बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा भएको थियो ।
प्रतियोगितामा ‘फर्स्ट रनर अप’ सरोजी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेत भइन् । पारलैङ्गिक महिलाहरुको प्रतिभा प्रस्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको ‘मिस पिंक’को यो सातौं संस्करण हो ।
फाइनल राउण्डमा अनमोलले १८ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनले ‘मिस फोटोजेनिक’ र ‘मिस बेस्ट क्रियटिभ ड्रेस’अवार्ड समेत जितिन् ।
उनै ‘मिस पिंक नेपाल २०२४’ की विजेता अनमोल राईसँग उनको सङ्घर्ष, ‘मिस पिंक नेपाल’ सम्मको यात्रा, उपाधिपछिको अनुभव र अबको योजनाबारे जोयनेपालकर्मीसुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश :
‘मिस पिंक–२०२४’को ताज पहिरिएपछि कतिको जिम्मेवारी बोध गर्नुभयो त ?
शुरुमा ताज पहिरिएपछि मैले मेरो परिवारलाई सम्झेँर केही नोस्टाल्जिक र भावुक भएँ । मेरो आमाबुवा, नजिकका साथीहरु सम्झेर म त्यो टाइममा इमोस्नल भएकी थिएँ । म ब्लु डाइमण्ड सोसाइटीमा आबद्ध भएदेखि नै मेरो व्यक्तिगत विकासका लागि लागिरहेकी थिएँ ।
ताज पहिरिएपछि अब मेरो लागि मात्र होइन, मेरो समग्र समुदायका लागि बोल्न पाउन मैले आवाज पाएको छु भन्ने महसूस गरेकी छु । अब मेरो आवाज थुप्रै संस्था र क्षेत्रहरुबाट पहुँचमा पुग्नेछ । मैले एउटा प्लेटफर्मसँगै अवसर पाएकी छु, यसलाई पूरा गर्नुपर्छ भन्ने मेरो दिमागमा आयो ।
ताज पहिरिनु अघिको र पछिको अनमोलमा केही फरक महसूस गर्नुभयो होला नि ?
व्यक्तिगत रुपमाभन्दा हिजो म अनमोल थिएँ, आज पनि अनमोल नै छु । तर मिस पिंक नै बनेपछि यो हाम्रो लागि सौन्दर्य प्रतियोगिता मात्र होइन । हाम्रो समुदायलाई अझै पनि धेरै कुराहरुको अभाव छ ।
सौन्दर्य प्रतियोगितामा पनि अन्तर्राष्ट्रिय कतिपय प्लेटफर्ममा जान हामीलाई कठिनाइ छ । मिस पिंकको प्लेट फर्मले मलाई अझै राम्रो अनमोल बनाउन सक्छ । यसमा मेरो व्यक्तित्व अझै विकास हुन्छ भन्ने लागेको छ । जिम्मेवारीमा फरक होला तर व्यक्तिगत रुपमा रहने त त्यहीँ पहिलाकै अनमोल नै हुँ ।
सौन्दर्य क्षेत्रमा थुप्रै प्रतियोगिताहरु भइरहेका हुन्छन् । ती प्रतियोगिताहरुको तुलनामा ‘मिस पिंक’लाई कसरी लिनुभएको छ ?
शुरुमा त म अन्य ब्युटी पेजेन्ट र ‘मिस पिंक’लाई तुलना नै गर्दिनँ। किनकि ब्युटी पेजेन्टहरुको आ–आफ्नै ठाउँमा एकदमै राम्रो र त्यसको मूल्य छ । म सबैलाई सम्मान गर्छु । तर ‘मिस पिंक’ भनेको यस्तो प्लेटफर्म हो, यसबाट हामी हाम्रो पहिचान पाउन र बाहिर ल्याउन सक्छौं । म को हुँ भन्ने कुरा यसले बताइदिन्छ । यो मात्र यस्तो प्लेटफर्म हो कि जहाँ हामीमाथि लिङ्गकै आधारमा विभेद हुँदैन । शिक्षा र सचेतनाको कमीले गर्दा अझै पनि हाम्रो अस्तित्वलाई समाजलाई स्वीकार्न गाह्रो छ । परिवारहरुले समेत हामीलाई हाम्रो पहिचान दिलाएको छैन । यस्तो अवस्थामा अन्य प्रतियोगिताभन्दा ‘मिस पिंक’ हाम्रो पहिचान र अस्तित्वका लागि नै हो ।
तपाईं यहाँसम्म आइपुग्न त धेरै सङ्घर्ष गर्नुभयो होला नि होइन ?
धेरै नै सङ्घर्ष गर्नुपर्याे। १३ वर्षको उमेरमा मैले आफैंलाई स्वीकारेँ । त्यो समय नै मेरो लागि निकै गाह्रो थियो । आफूलाई महसूस गर्नु मेरो लागि टाढाको कुरा थियो । त्यतिबेला सम्ममा म आफैंभित्र थिएँ ।
म आफैं उठ्नुपर्छ र बाहिर आउनुपर्छ भनेर मैले एक्लै सङ्घर्ष गरेँ । तर मेरो परिवारमा म ट्रान्स महिलाका रुपमा बाहिर आउँदा उहाँहरुले केही भन्नु भएन । आफ्नो बच्चालाई पहिला चिन्ने भनेको आमाबुवा हो भनेर उहाँहरुले भन्नुभएको थियो । उहाँहरुले तँ यस्तो छस्, तँ अरुभन्दा फरक हो भनेर कहिल्यै टर्चर दिनुभएन ।
छोरा भएर जन्मे पनि मलाई छोरीका चीजहरु मनपर्छ भन्ने कुरामा उहाँहरु सचेत हुनुहुन्थ्यो । परिवारसँग बसेर मैले मेरो लिङ्गको पहिचानबारे कहिल्यै खुलेर कुरा गरिँन । समाज र समाजकाका मान्यताहरुले भने आफूलाई स्वीकारेर बाहिर आउन अलि गाह्रो भयो । तर मेरो परिवार र मेरो शिक्षा, बुझाइले आज म यहाँ छु ।
यस मानेमा आफूलाई भाग्यमानी नै ठान्छु । यता ब्युटी पेजेन्टहरुमा अडियन्सका रुपमा म पहिलादेखि नै थिएँ । तर यसमा आउँछु नै भन्ने मेरो भिजन थिएन । सानोमा साथीहरुसँग ब्युटी पेजेन्टहरुकै जसरी खेल्थ्यौं । सानोका कति कुराहरु वास्तविकतामा पनि हुँदो रहेछ भन्ने कुरा अहिले आएर महसूस गरेकी छु ।
मिस पिंकको यात्रामा प्रतिस्पर्धा एकदमै थियो । सबैजना त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो । सबैले उत्तिकै कठिन मेहनत गर्नुभएको थियो । यसमा पनि मैले मेरो प्रतिस्पर्धी म नै हुँ भनेर मेरो सबै बल यसैमा लगाएर सफल पनि भएँ, खुसी छु ।
समाजसँगभन्दा आफैंसँगको लडाइँ कति कठिन हुने रहेछ ?
समाजसँगको लडाइँ छुट्टै हो । आफैंसँग भनेको अझै ठूलो युद्ध हो जस्तो मलाई लाग्छ । तर आफैँभित्र हुने सङ्घर्षको अनुभव छुट्टै हुने रहेछ । जुन कुरा अति नै गाह्रो हुने रहेछ ।
अब अगाडि कसरी बढ्ने भन्ने तपाईंका योजनाहरु होलान् नि होइन ?
मेरो पहिलो प्राथमिकता म नै हुन्छु । म मेरो पढाइलाई अगाडि बढाउन चाहन्छु । दोस्रो भनेको मेरो साथमा रहेको जिम्मेवारीलाई म पूरा गर्छु । मिस पिंक भएपछि एन्जल लामाले जसरी आफू र आफ्नो समुदायका लागि ठूलो परिवर्तन ल्याउनुभयो, त्यसरी नै अगाडि बढ्न चाहन्छु । जुन ताज उहाँले आफ्नो शिरबाट मेरोमा लगाइदिनुभयो त्यही बाटोमा हिँड्ने मैले प्रण गरेकी छु ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र समग्र समाजका लागि तपाईंको सन्देश के छ ?
मेरो समुदायका लागि म के भन्न चाहन्छु भने पक्कै पनि यहाँ धेरै सङ्घर्षहरु गर्नुपर्छ । जो–जो आफ्नो पहिचानका लागि सङ्घर्ष गरिरहनुभएको छ, त्यो पाटो पनि ठिकै छ ।
किनकि यो सङ्घर्षमा तपाईं एक्लै होइन, म पनि थिएँ, कुनै समय अध्यक्ष पिङ्की गुरुङ, पूर्व मिस पिंक भूमिका श्रेष्ठ, एन्जल लामा सबै हुनुहुन्थ्यो । यदि सहायता चाहिन्छ भने म कुनै पनि समय सहयोगका लागि तयार छु । ब्लु डायमण्ड सोसाइटी छ । हामी सबै एक भएर नै हाम्रो कथाहरु अगाडि आउँछन् र हामी सँगै हातेमालो गरेर हिँड्न सक्छौं ।
कोही कसैको जीवन फरक भएर स्वीकार्न समाजलाई गाह्रो छ भने त्यो पनि ठिकै छ, तर हामीलाई पनि सम्मान दिनुहोस् भन्ने कुरा म समग्र समाजलाई भन्न चाहन्छु । यसमा तपाईं कुन समाज, कुन वर्ग र लिङ्गबाट आएको हो भन्ने कुरामा निर्धारित हुनुपर्छ भन्ने जरुरी म ठान्दिनँ । हामी सबै मान्छे भएकोले हामीमा पनि मानवता छ । हामी एक भएर अगाडि बढ्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया