सामान्यतया हामीले मानसिक रोग भन्नसाथ डिप्रेसन, एन्जाइटी नै सम्झन्छौं । तर अन्य यस्ता धेरै जटिल मनोरोगहरु पनि रहेका छन् । जसका विषयमा तपाईं जानकार नहुन पनि सक्नुहुन्छ ।
सिजोफ्रेनिया डिप्रेसन, एन्जाइटी भन्दा गम्भीर मनोरोग भएको मनोविदहरू बताउँछन् । जुन रोग लागेपछि जीवनकाल भरी औषधी सेवन गर्नुपर्ने पनि हुनसक्छ । एकपटक ठीक भएजस्तो भएपनि समस्या पुनः उही अवस्थामा फर्किन पनि सक्छ ।
सिजोफ्रेनिया भएपछि नचाहिने सोचहरू आउने, हुँदै नभएको चीजहरु देखे जस्तो लाग्ने र कसैले बोलाए जस्तो लाग्ने हुन्छ । यो समस्या भएपछि मानिहरुले आफैँलाई हानी पुग्ने कामहरू गर्न शुरु गर्छन् । यसले मानिसको दैनिक जीवनमा बाधा पुर्याउँछ ।
सिजोफ्रेनिया कस्तो रोग हो ? यसका लक्षण र उपचारहरु के हुन् ? यो रोग पूर्ण रुपमा निको हुन्छ कि हुँदैन लगायतका प्रश्नहरुमा केन्द्रित रहेर मनोविद् विनोद पौडेलसँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:
कस्तो रोग हो सिजोफ्रेनिया ?
यो एकदमै कडा खालको मानसिक समस्या हो । नेपाली समाजमा त यो रोग लागेका व्यक्तिहरुलाई मानसिक सन्तुलन ठिक नभएका, दिमाख खुस्किएका अझ ठेट शब्दमा पागल नै पनि भन्ने गरिन्छ । यस्ता बिरामीहरुले निकै असामान्य व्यवहार देखाउने गर्छन् । यो रोग लागेका मानिसलाई भूतप्रेत लागेको, दैवी शक्ति लागेको भनेर धामी झाँक्रीकोमा लैजाने गरिन्छ ।
यो रोगका बिरामीहरुको सङ्ख्या कस्तो छ ?
पूरै जनसङ्ख्याको दुई प्रतिशत मानिसहरुमा यो रोग देखा पर्छ ।
कस्ता व्यक्ति र कुन उमेर समूहका मानिसहरुलाई यो रोग लाग्ने गर्छ ?
२० वर्ष उमेर पार गरेका व्यक्तिहरु र सानै उमेरमा ठूलो दुःख र शोक बोकेका मानिसहरु र बाल्यकालमै ठूलो दुर्घटनामा परेकाहरुमा यस्तो समस्या निम्तिन सक्छ ।
यो रोग लाग्ने मुख्य कारण के हो ?
यो रोग लाग्ने कारणहरु मध्ये एक भनेको वंशानुगत कारणले पनि हुन्छ । अन्य कारणहरु भने मस्तिष्क रसायन र वरपरको वातावरणले गर्दा पनि यो समस्या निम्तिन सक्छ ।
अधिकांश मानिसमा वंशाणुगत गुणका कारण सिजोफ्रेनिया हुने गर्छ । यदि आमाबुबामा सिजोफ्रेनिया छ भने बच्चामा पनि हुने सम्भावना अधिक रहन्छ । साथै लागूपदार्थ सेवन तथा औषधीको दुरुपयोगका कारण पनि सिजोफ्रेनिया हुन सक्छ ।
केही गर्भावस्था र जन्मजात जटिलताहरू जस्तैः कुपोषण वा अन्य भाइरसहरूको जोखिमले मस्तिष्कको विकासलाई असर गर्न सक्छ र सिजोफ्रेनिया हुन सक्छ । मानसिक रोगलाई सहज नमान्ने वातावरणको कारण पनि सिजोफ्रेनियाको विकास हुन सक्छ ।
यो रोग लागेको कसरी थाहा पाउने, यसका लक्षणहरु के–कस्ता देखा पर्दछन् ?
सिजोफ्रेनिया भएका व्यक्तिमा लक्षणहरू फरक–फरक देखिन सक्छन् । लक्षण आफैं आउने जाने केही समय हराउने पनि हुन सक्छ । सिजोफ्रेनिया हुँदा केही यस्ता आशंका र भ्रम पनि मनमा पर्छन्, जुन वास्तवमा सत्य हुँदैनन् । मनमनै कोही छ, कसैको आवाज सुनेको जस्तो लाग्न सक्छ । त्यसले उनीहरुलाई त्रसित गराउने वा कल्पना गरिएको व्यक्ति वा आवाजले पनि उसलाई हानी पुर्याउन सक्छ ।
परिवारलाई र आफैँलाई नै सखाप पार्न आयो भन्ने जस्तो भ्रम पैदा हुन सक्छ । सिजोफ्रेनियाबाट पीडित व्यक्तिको सोच्ने र बोल्ने तरिकामा फरक आउन थाल्छ । विशेष गरी यदि उनीहरूलाई कुनै प्रकारको प्रश्न सोधियो भने उनीहरुको जवाफ सामान्य व्यक्तिको जवाफभन्दा पूर्ण रूपमा फरक दिन सक्छन् ।
साथै केही अर्थहीन शब्दहरू प्रयोग गर्ने जुन सामान्य मानिसले बुझ्न सक्ने क्षमतामा पनि नहुन सक्छ ।
यी लक्षण धेरै रूपमा देखा पर्न सक्छन्, कहिले उग्र हुने, कहिले शान्त हुने, कहिले एकोहोरो भएर एकै ठाउँमा बसिरहने, कसैको कुरा नसुन्ने, अनुपयुक्त वा अनौठो आसनमा बस्ने र सुत्ने, कसैले बोलाएमा प्रतिक्रिया नदेखाउने जस्ता लक्षण देखिन्छन् । साथै सिजोफ्रेनिया भएका प्रायः व्यक्ति एक्लै बस्ने, ढोका थुन्ने, कसैसँग नबोल्ने, बत्ती निभाउने, बोल्न झर्को मान्ने जस्ता समस्याहरु देखिन्छन् ।
महिला र पुरुषको हकमा यो रोग कुन वर्गको हकमा बढी देखापर्छ ?
महिला र पुरुषको हकमा कसलाई बढी र कसलाई कम यो रोग लाग्ने भन्ने त छैन । दुवै वर्गमा यो रोग देखापर्छ । उमेरको हकमा कुरा गर्नुपर्दा पुरुषहरुमा ३० वर्ष माथि र महिलाहरुमा २० वर्ष माथिमा यस्तो रोग लाग्ने गर्छ ।
यसको उपचार पद्धति कस्तो छ ?
सिजोफ्रेनिया कुनै किसिमको स्वास्थ्य परीक्षणबाट पत्ता नलाग्ने भएकाले हालसम्म यसको ठोस कारण प्रमाणित भइसकेको छैन । तसर्थ यसको लागि बिरामीको व्यवहारलाई नै अध्ययन गर्नुपर्ने हुन्छ ।
यद्यपि लागूपदार्थ सेवन तथा वंशाणुगतकारण पनि एक मानिन्छ । यसबाहेक जन्मजात जटिलताहरू कुपोषण वा अन्य भाइरसको जोखिमले मस्तिष्कको विकासलाई असर पार्दा पनि यो रोग लाग्न सक्छ । बाल्यकालमा कुनै न कुनै मानसिक पीडाको शिकार हुँदा पनि यो रोग विकास हुन सक्छ ।
उदाहरणका लागि सानै उमेरमा आमाबाबुमध्ये एकको मृत्युले पनि बच्चालाई सिजोफ्रेनिया जस्ता गम्भीर समस्याबाट ग्रस्त बनाउन सक्छ । अन्य आफ्ना आफन्तको मृत्यु हुनु, ठूलो शोक र झट्का लाग्ने खबर सुन्नु जस्ता कारणहरुले पनि यो रोग सिर्जना गर्छ ।
यो रोग लागेकै कारण के–कस्ता जटिलताहरु निम्तन सक्छन् ?
समयमा उपचार नगर्दा सिजोफ्रेनियाले जीवनको हरेक क्षेत्रलाई असर गर्ने गम्भीर समस्याहरू निम्त्याउन सक्छ । यस्तो रोग लागेका बिरामीलाई आत्महत्याको विचार आउने, डिप्रेसन हुने पनि हुन्छ ।
रक्सी वा अन्य लागू पदार्थको दुरुपयोग गर्दा पनि यस्तो भएको पाइन्छ । त्यस्तै काम गर्ने ठाउँमा अनुपस्थित या असक्षमता देखाउनु, स्वास्थ्य सम्बन्धी अन्य समस्याहरू देखा पर्छन् । त्यस्तै कतिपयलाई रिस या चिन्ता बढ्ने पनि हुन्छ ।
अन्त्यमा, यो रोग लागेका बिरामीहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
यो रोग लागेका बिरामीहरुले मुख्य कुरा भनेको औषधी नियमित रुपमा सेवन गर्नुपर्छ । शारीरिक व्यायाममा जोड दिनुपर्छ । विशेषतः तनावलाई व्यवस्थित गनुपर्छ र आफ्ना घरपरिवारलाई आफ्नो समस्या खुलेर भन्नुपर्छ र सहयोग लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया