मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

अन्तरिक्षमा थुप्रिरहेको फोहोरले के पृथ्वीलाई क्षति गर्छ?

अन्तरिक्ष प्रतिस्पर्धाले बढ्दैछ प्रदूषण

काठमाडौँ– केही महिनाअघि अमेरिकाको फ्लोरिडामा एक घरको छतमाथि एउटा रहस्यमय वस्तु खस्यो । अलेजान्ड्रो ओटेरोको घरमाथि खसेको उक्त वस्तु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस )बाट खसेको फोहोरको टुक्रा ‘स्पेस डेब्रिस’ भएको अमेरिकी अन्तरिक्ष निकाय नासाले पुष्टि गर्‍यो ।

सन् २०२१ को मार्चमा आईएसएसमा नासाले करिब २ हजार ६ सय ३० किलोग्राम तौल भएको एक नयाँ लिथियम–आयन ब्याट्री जडान गरेपछि उक्त वस्तु अन्तरिक्षमा फालिएको थियो । जुन वस्तु मार्च ८ मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला पूर्ण रुपमा जलेर नष्ट हुने अपेक्षा गरिएको थियो ।

तर, कारणवश उक्त बस्तु पृथ्वीमा आइपुगेको बताइएको छ ।

पछिल्ला केही वर्षयता हजारौँको संख्यामा अन्तरिक्ष यानहरू प्रक्षेपण भइरहेका छन् । जसका कारण अन्तरिक्षमा फोहोर अर्थात् ‘स्पेस डेब्रिस’ बढिरहेको छ ।

अन्तरिक्ष अनुसन्धान तथा विकास कम्पनी एरोस्पेसका अनुसार अन्तरिक्षको फोहर पृथ्वीसम्म आइपुग्ने घटना कहिलेकाहीँ मात्रै हुन्छन् । तर, पनि गत महिना अन्तरिक्ष फोहोरकै करीब सात सय ग्रामको एक टुक्रा पृथ्वीमै खसेपछि अन्तरिक्षमा सिर्जित प्रदूषणले त्यहाँ मात्रै नभएर पृथ्वीसम्म क्षति गर्नसक्ने विषयलाई बहसमा ल्याएको छ ।

सन् १९९८ मा निर्माण शुरु भएको आईएसएस पृथ्वीको परिक्रमा गर्ने एक कृत्रिम उपग्रह हो । यो अन्तरिक्षको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने विश्वकै विभिन्न देशका वैज्ञानिक तथा अन्तरिक्षयात्रीहरुको आधार पनि हो । 

पछिल्ला २० वर्षभन्दा बढी समयदेखि आफ्नो कक्षमा घुमिरहेको आईएसएसलाई सन् २०३० पछि भने प्रतिस्थापन गर्ने नासाको तयारी छ ।

अन्तरिक्षमा रहेको फोहोर १८ हजार माइल प्रतिघण्टाको गतिमा दौडिरहने नासाले जनाएको छ । अन्तरिक्षमा पृथ्वीको निम्न कक्ष (लोअर अर्थ आर्बिट झण्डै ४ सय किलोमिटर माथिको अन्तरिक्ष, एलईओ) मा रहेको अन्तरिक्ष फोहोरका कारण वर्तमान तथा भविष्यमा अन्तरिक्षमा आधारित सेवा, अन्वेषण कार्य सँगसँगै अन्तरिक्ष र पृथ्वीमा बसेको मानवजातिको अस्तित्वमाथि नै खतरा ल्याउन सक्ने कुरा नासाले उल्लेख गरेको छ ।

यसरी बढ्दैछ अन्तरिक्षमा प्रदूषण

वैज्ञानिकहरुका अनुसार अन्तरिक्षमा करीब साढे ६ हजार टन फोहोर पृथ्वीको कक्षमा तैरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएअनुसार सन् २००७ मा चीनको ‘फेन्ग्युन–१ सी’ नामक अन्तरिक्ष यानको नष्ट गर्दा र सन् २००९ मा अमेरिकी र रुसी अन्तरिक्ष यान एक आपसमा ठोक्किन पुग्दा करिव ७० प्रतिशत अन्तरिक्षमा फोहर बढेको थियो ।

अन्तरिक्ष मिसनको शुरुवात देखि नै धेरै देशहरुका कैयौं मिसनहरु असफल पनि भएका छन् । यसकारण पनि अन्तरिक्ष फोहोर बढ्ने गर्दछ ।

भू–उपग्रहहरु बिग्रिनु तथा दुर्घटनामा पर्नुका साथै स्याटेलाइटहरुलाई अन्तरिक्षमा पुर्ने रकेट बुस्टरहरुका कारण पनि अन्तरिक्ष फोहरको मुख्य कारण मानिन्छन् । यस्तै ‘एस्याट’ भनिने पृथ्वीको तल्लो कक्षमा रहेका भू–उपग्रहलाई नष्ट गर्नका लागि प्रक्षेपण गरिने मिसाइलका कारण पनि ‘स्पेस डेब्रिस’ बढिरहेको नासाले जनाएको छ ।

यसलाई कसरी कम गर्ने?

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार अन्तरिक्षमा भएको फोहोर सफा गर्नको लागि कुनै अन्तर्राष्ट्रिय अन्तरिक्ष कानून छैन । अन्तरिक्षमा भएको करीब ६ हजार टन फोहर सफा गर्न धेरै महङ्गो पर्ने गर्दछ ।

सन् १९७९ जोनसन स्पेस सेन्टर (जेएससी)को अन्तरिक्ष विज्ञान शाखाले नासा ओर्बिटल डेब्रिस कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमले अन्तरिक्ष फोहर कम गर्ने उपायका साथै पहिलेदेखि नै अन्तरिक्षमा रहेका फोहोरहरुलाई पहिल्याउन र  हटाउने उपकरणहरू डिजाइन गर्ने गर्छ ।

यस्तै बेलायतले केही समय पहिले मात्रै पृथ्वीभन्दा ३ सय किलोमिटर माथिको उचाइमा फोहोर बटुल्न अन्तरिक्षमा बिछ्याएको छ ।

युरोपको ‘युरोपियन स्पेस एजेन्सी’ले सन् २०२० देखि नै अन्तरिक्षको फोहर सफा गर्ने नयाँ योजनामा काम शुरु गरिरहेका छन् । सन् २०२५ सम्ममा उक्त योजनालाई आधिकारिक रुपमा सफल पार्ने उद्देश्य युरोपियन वैज्ञानिकहरुले लिएका छन् ।

स्पेस डेब्रिस’ कसका लागि खतरा

अन्तरिक्षमा घुमिरहेका फोहोरहरु खास गरी पृथ्वीबासीका लागि नभइ अन्तरिक्षयात्री, अन्तरिक्षमा पठाइने भू–उपग्रह, रकेट र त्यहाँ रहेको स्पेस स्टेसनकै लागि लागि खतरा हुने जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको गति गर्ने दिशामै घुम्दै यसको परिक्रमा गरिरहेका फोहरका टुक्राहरु गुरुत्वाकर्षणका कारण पृथ्वीतिर आउन थाल्छन् । तर, एकैपटक पृथ्वीमा भने खस्दैनन् ।

ती टुक्राहरू पृथ्वीको सतहमा आइपुग्नुभन्दा पहिले नै जलेर नष्ट हुन्छन् । तर, कहिलेकाहीँ वस्तुको आकार र त्यसको निर्माणमा प्रयोग भएका तत्वको गुणस्तरका कारणले गर्दा वस्तु जलेर नष्ट हुनुपूर्व पृथ्वी सतहमा आएर ठोक्किन पनि पुग्छन् । तर यस्ता धेरै टुक्राहरु समुद्रमा खस्ने गर्छन् ।

नासाका अनुसार प्रत्येक दिन एउटा फोहोर पृथ्वीको सतहमा खस्ने गर्छ । यो पृथ्वीको कक्षमा प्रवेश गर्ने बित्तिकै जल्ने वा जलेकै अवस्थामा समुद्रमा खस्ने गर्छ ।

स्पेस डेब्रिस’ का कारण पृथ्वीमा हुने क्षतिको व्यवस्थापन

गत महिना मात्रै अमेरिकामा भएको घटनाले पनि कुनै अवस्थामा अन्तरिक्षमा रहेका फोहरका टुक्रा पृथ्वीमा आउन सक्छन् । जसबाट धनजनमा समेत क्षति पुग्न सक्छ ।

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय कानूनले अन्तरिक्ष गतिविधिबाट उत्पन्न हुने यस्ता विभिन्न दुर्घटनाहरूको समस्यालाई नियन्त्रण गर्दछ । बाह्य अन्तरिक्ष सन्धि १९६७ र दायित्व सम्मेलन १९७२ जस्ता अन्तर्राष्ट्रिय सन्धिहरू अन्तरिक्ष वस्तुहरूबाट हुने क्षतिको परिपूर्ति गर्नमा आकर्षित हुन्छ ।

यस्तै अन्तरिक्ष वस्तुहरु तथा विमानहरूबाट हुने क्षतिको लागि क्षतिपूर्ति तिर्न सम्बन्धित देशहरुलाई उत्तरदायी बनाउँछ ।

अन्तर्राष्ट्रिय कानुनले अन्तरिक्ष फोहर र त्यसबाट उत्पन्न समस्याको रुपमा कुनै पनि निजी अन्तरिक्ष एजेन्सी वा यात्रुलाई दोषी करार नगरी सम्बन्धित देशसँग आपसी सहमतिमा क्षतिपूर्ति लिनेदिने व्यवस्था गरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?