काठमाडौँ– अमेरिकी स्पेस एजेन्सी नासाले मानव जीवनका लागि उपयुक्त वातावरण हुन सक्ने भन्दै मङ्गल ग्रहको अध्ययन गरिरहेको छ । वैज्ञानिकहरूले लामो समयदेखि यो ग्रहमा मानव पठाउने तयारी गरिरहेका छन् ।
विश्वकै धनाड्य अर्बपति तथा स्पेसएक्सका मालिक एलन मस्कले पनि मङ्गल ग्रहमा मानव पठाउने तयारी थालेका छन् । उनको दाबी अनुसार अबको केही वर्षमा मङ्गल ग्रहमा मानिसले पाइला टेक्नेछन् ।
केही दशकयता विश्वका शक्तिशाली देशले अन्तरिक्ष दौडमा आफूलाई अगाडि देखाउन कसरत गरिरहेका छन् । पृथ्वीबाहेक अन्य ग्रहमा चन्द्रमा (उपग्रह) बाहेक अरुमा मानवले पाइला टेक्न भने सकेका छैनन् ।
मङ्गल ग्रह आफैँमा अचम्मको ग्रह हो । यसलाई पृथ्वीको छिमेकी ग्रहका रुपमा पनि लिइन्छ । पृथ्वीले जस्तै सूर्यको परिक्रमा गर्ने ग्रहहरुमध्ये मङ्गल ग्रह मानव बसोबासका लागि उपयुक्त ग्रहका रुपमा लिइएको छ । त्यसैले पनि वैज्ञानिकहरू यो ग्रहको खोज तथा अनुसन्धानमा व्यापक रुपमा लागिपरेका छन् ।
विभिन्न रिपोर्टहरुका अनुसार सन् १९६० को दशकदेखि नै नियमित रुपमा पृथ्वीवाट मङ्गल मिसनहरु प्रक्षेपण भइसकेका छन् । यसलाई रेड प्लानेट (रातो ग्रह) का नामले समेत चिनिन्छ । वैज्ञानिकहरूका अनुसार मङ्गल ग्रहका पनि दुईवटा उपग्रह छन् । ती हुन्, फोबोस र डेमोस ।
हालसम्म ती उपग्रहको उत्पतिबारे वैज्ञानिकहरूले कुनै पनि क्लू पत्ता लगाउन सकेका छैनन् । जापानले ती ग्रहका बारेमा अनुसन्धान थालिएको केही समयअघि बताएको थियो ।
जापानले उपग्रह (मङ्गल ग्रहका चन्द्रमा) को बारेमा मात्र नभएर मङ्गल ग्रहको समेत अध्ययन गर्ने उद्देश्यले गत वर्षको सेप्टेम्बरमा ‘मार्टेन मुनस् एक्सपोलोरेशन’ (एमएमएक्स) नामक मिसन शुरु गरेको थियो ।
यो मिसन अन्तर्गत जापानको एयरोस्पेस अन्वेषण एजेन्सी जाक्साले पठाएको यानले मङ्गल ग्रहमा ल्याण्ड गरी यसका दुई चन्द्रमा (उपग्रह) फोबोस र डेमोसका बारेमा विस्तृत अध्ययन गर्नेछ ।
यो मिसनमा प्रक्षेपण गरिने यानमा युरोप र संयुक्त राज्य अमेरिकाका विज्ञान उपकरण र हार्डवेयरको विकास समेत समावेश गरिएका छन् । उक्त अन्तरिक्ष यानले ती दुवै चन्द्रमाको अन्वेषण गरी फोबोसकाकेही नमूना सङ्कलन गरी पृथ्वीमा पठाउनेछ ।
यदि निर्धारित समयमै यान प्रक्षेपण भएमा त्यसको करीब एक वर्षपछि यान गन्तव्यमा पुग्ने बताइएको छ । यो मिसन सफल भएमा सन् २०२९ सम्ममा यानले संकलन गरेका केही नमूनाहरू पृथ्वीमा आइपुग्ने स्पेस डटकमले उल्लेख गरेको छ ।
स्पेस डटकमका अनुसार ‘एमएमएक्स’ अन्तरिक्ष यानमा लगभग एक दर्जन वैज्ञानिक उपकरणहरू हुनेछन् । जसमध्ये सातवटाले रिमोट सेन्सिङ र मङ्गल ग्रहको चन्द्रमाको स्थलगत अवलोकन गर्नेछन् भने दुईवटा उपकरणले मङ्गल ग्रहका दुईवटा चन्द्रमा मध्ये एक फोबोसबाट सामग्री सङ्कलन गर्नेछन् ।
यस्तै बाँकी दुईवटा अन्वेषण प्रविधि परीक्षण र विकास गर्न डिजाइन गरिएका उपकरणहरू हुन् ।
हालसम्म मङ्गल ग्रहको अन्वेषणमा विश्वको अनुभव
अन्तरिक्ष युगको सुरुवातसँगै मानिसले सवैभन्दा पहिले मङ्गल ग्रहमा नै पुग्ने प्रयास गरेको मानिन्छ । सोभियत सोसलिस्ट रिपब्लिक संघ (युएसएसआर) को रुपमा चिनिने सोभियत संघले सन् १९६० को दशकमा रातो ग्रह अर्थात् मङ्गल ग्रहमा पुग्ने कोशिश गरेको थियो ।
त्यसपछि सन् १९५७ मा तत्कालीन सोभियत संघले स्पुतनिक नामक पहिलो उपग्रह प्रक्षेपण गरेको करीब ३ वर्षपछि मङ्गल ग्रहसम्म आफ्नो पहुँच पुर्याउने कोसिस गरेको थियो ।
शीत युद्धको समयमा शुरु भएको अन्तरिक्ष दौडसँगै सोभियत संघसँग प्रतिस्पर्धा गर्न तत्कालीन अमेरिकी राष्ट्रपति वाइट डी आइजनहावरले सन् १९५८ मा अमेरिकी अन्तरिक्ष संस्था नासाको स्थापना गरे । नासाको स्थापना भएको केही समयभित्रै ‘मेरिनर ३’ नामक अन्तरिक्ष यान मङ्गल ग्रहको लागि पठाएको थियो ।
तर, उक्त प्रक्षेपण सफल नभएको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) तथा रुसीवेव डटकमले उल्लेख गरेको छ ।
सन १९६५ जुलाई १४ मा नासाले पुन: ‘मेरिनर ४’ नामक अर्को अन्तरिक्ष यान मङ्गल ग्रहमा प्रक्षेपण गर्यो । जुन यान मङ्गल ग्रहको नजिक पुग्ने पहिलो यान समेत बन्यो । यसले मङ्गल ग्रहका करीब २१ वटा तस्वीर खिचेर पृथ्वीमा पठाएको थियो ।
‘मेरिनर ४’ प्रक्षेपण गरिएको केही दिनपछि नै सोभियत संघले पनि ‘जोण्ड २’ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । जुन यान लक्ष्यको धेरै नजिकसम्म पुगेको मानिन्छ । तर, पृथ्वीमा कुनै तथ्याङ्क वा सन्देश पठाउन नपाउँदै सम्पर्कविच्छेद भएको थियो ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार अमेरिकाले त्यसपछि पनि सन् १९६९ मा मेरिनर ६ र मेरिनर ७ नामका थप अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । यी यानले पनि मङ्गल ग्रहका केही थान तस्वीर खिचेर पठाए । यी यानहरुले खिचेका कतिपय तस्वीरका कारण मङ्गल ग्रहको बनोट चन्द्रमाको जस्तै भएको धारणा वैज्ञानिकहरुले गरे ।
तर, त्यसपछि भएका अध्ययनहरूले उक्त धारणा गलत भएको देखायो ।
त्यसपछि सन् १९६९ देखि १९७१ का बीचमा धेरै प्रयासहरु भएपनि आफ्नो लक्ष्यमा पुग्न भने नसकेको अंग्रेजी पत्रिका स्पेस डटकमले उल्लेख गरेको छ ।
यो बीचमा सन् १९६९ मार्च २७ मा यूएसएसआरले ‘मार्स १९६९ए’ लन्च गरेको थियो । जुन लक्ष्यमा पुग्नुभन्दा पहिले नै नष्ट भएको थियो । यसैबीच २ अप्रिल १९६९ मा युएसएसआरले नै ‘मार्स १९६९बी’ नामक यान प्रक्षेपण गरेको थियो ।
यो पनि असफल नै भएको थियो । यस्तै ८ मे १९७१ मा अमेरिकाले प्रक्षेपण गरेको ‘मेरिनर ८’ र १० मे १९७१ मा युएसएसआरले प्रक्षेपण गरेको ‘कोस्मोस४१९’ पनि सफल हुन सकेन ।
तर, त्यसको केही समयपछि सन् १९७१ मा सोभियत संघ मङ्गल ग्रहमा पुग्न सफल भयो । सन् १९७१ मे २८ मा सोभियत संघले प्रक्षेपण गरेको ‘मार्स ल्यान्डर ३’ नामक यान डिसेम्वर ३ मा मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण भयो । तर, पहिलोपटक मङ्गल ग्रहमा पुग्न सफल भएको उक्त यानले केही सेकेण्ड मात्रै काम गरेपछि सम्पर्कविच्छेद भएको थियो ।
यस्तै, सन् १९७१ को मे ३० मा नासाले प्रक्षेपण गरेको ‘मेरिनर ९’ ले ज्वालामुखीका कारण मङ्गल ग्रहको सतहमा धेरै धुलो धुवाँ र फोहोरसहित ठूला गल्छीहरू रहेको तथ्य पत्ता लाग्यो । ‘मेरिनर ९’ ले लगभग एक वर्षसम्म रातो ग्रहको परिक्रमा गर्दै करीब ७ हजार ३ सयभन्दा बढी तस्वीर पृथ्वीमा पठाएको स्पेस डटकमले उल्लेख गरेको छ ।
यसपछि सोभियत संघले पनि मङ्गल ग्रहको अध्ययन तथा खोजका लागि यानहरु प्रक्षेपण गर्ने क्रम जारी राख्यो । सन् १९७३ मा सोभियत संघले प्रक्षेपण गरेका ‘मार्स ४’, ‘मार्स ५’ ‘मार्स ६’ ‘मार्स ७’ ले पनि आशिंक सफलता प्राप्त गरे ।
यसैबीच, नासाले सन् १९७५ मा एकैसाथ प्रक्षेपण गरेको अर्विटर र ल्याण्डर मङ्गल ग्रहको बिस्तारित खोज तथा अध्ययनमा बल पुग्यो । तर, जब यो ल्याण्डरले रातो ग्रहमा कुनै पनि जीवनसँग सम्बन्धित कुनैपनि प्रकारका सुक्ष्म जीवहरु फेला पार्न नसकेपछि अर्को ग्रहमा मानव जीवनको अस्तित्वको खोजमा रहेका वैज्ञानिकहरू निरुत्साहित भए ।
तर यो मङ्गल मिसनले यस ग्रहको संरचना र पृथ्वीमा पाइएका केही उल्का पिण्डहरुको संरचनासँग धेरै समान रहेको तथ्य पत्ता लगाउन सहयोग पुग्यो । यसबाट पृथ्वीमा पाइएका केही उल्कापिण्ड उक्त ग्रहका रहेको वैज्ञानिकहरूले अनुमान गरे ।
यसपछि सोभियत संघद्वारा सन् १९८० को दशकमा फोबोस अर्थात मङ्गल ग्रहको उपग्रहको खोजका लागि गरिएका २ ओटा प्रयास असफल रहे ।
साइन्स एण्ड ग्लोवल सेक्युरेटी नामक अंग्रेजी जर्नलमा प्रकाशित एक लेखका अनुसार सन् १९९१ मा सोभियत संघलाई भंग गरिएपछि रुसी अन्तरिक्ष कार्यक्रमहरु स्थगित गरिएका थिए ।
यसपछि २५ सेप्टेम्वर सन् १९९२ मा नासाले प्रक्षेपण गरिएको ‘मार्स अब्जर्बर’ मङ्गल ग्रहको कक्षमा प्रवेश गर्नुभन्दा पहिले नै विफल भएको बैज्ञानिकहरुले पुष्टि गरे । धेरै लागतमा निर्माण गरिएको यो अन्तरिक्ष यानको असफलताले नासाभित्र उन्नत कम्प्युटर इलेक्ट्रोनिक्स र नयाँ टोली व्यवस्थापन प्रविधिहरूको फाइदा उठाउने मिसनहरू सिर्जना गर्ने नयाँ आन्दोलनले जन्म लियो । जसलाई नासाले फास्टर, बेटर, सस्तो ‘एफवीसी’ कार्यक्रमका रुपमा परिभाषित गरेको छ ।
यसैबीच, नासाले फेरि सन् १९९६ कहो नोभेम्वर ७ मा मार्स ग्लोवल सर्वेयर (एमजीएस) नामक यान पनि मङ्गल ग्रहका लागि प्रक्षेपण गर्यो । जुन सन् १९९७ को सेप्टेम्बरमा लक्ष्यमा पुग्न त सफल भयो । तर, झण्डै ५ वर्षपछि पृथ्वीसँगको सम्पर्क टुट्नुभन्दा पहिलेसम्म धेरैपटक यो यानले थप जानकारीहरू दिइसकेको थियो ।
त्यतिबेला एमजीएसले मङ्गल ग्रहमा पानी भएको हुनसक्ने केही संकेत दिएको वैज्ञानिकहरूले बताएका थिए । अहिले पनि उक्त ग्रहमा पानी हुनसक्ने भन्दै खोजी कार्य जारी राखिएको छ ।
एमजीएसले पठाएको तथ्याङ्क विश्लेषण गर्दा वैज्ञानिकहरुमा फेरि मङ्गल ग्रह मानव वस्तीका लागि योग्य हुनसक्ने अ एमजीएसले मङ्गल ग्रहका धेरै तस्वीरहरु धर्तीमा पठायो । जसमा त्यहाँ मानिसको जस्तै अनुहार भएको फोटो पनि सामेल भएको बताइन्छ ।
रुसी अन्तरिक्ष एजेन्सीले आफ्नो ‘मार्स ९६’ औँ मिसनसम्म मङ्गल ग्रहमा खोज जारी राख्यो । यता अमेरिकाको एफबीसी कार्यक्रमको पहिलो मिसनले व्यापक सफलता हात पारेको मानिएको थियो ।
नासाको बाटो पत्ता लगाउने ल्याण्डर र सोजर्नर रोवर जुलाई १९९७ मा मङ्गल ग्रहमा प्रक्षेपण गरिएको थियो । जसमा ल्याण्डरलाई अवतरण गर्नका लागि पहिलोपटक एयरब्यागको प्रयोग गरिएको थियो । र, मङ्गल ग्रहको सतहमा चक्कर लगाउने पहिलो रोवर सोजर्नर नै बन्यो । तर यसले पनि अपेक्षित काम भने गर्न सकेन ।
मङ्गल ग्रहमा पहिलोपटक यान प्रक्षेपण गर्ने अमेरिका र तत्कालीन सोभियत संघपछि जापानले पनि मङ्गल ग्रहमा यान पठाउने तयारी गर्यो । जापानले पनि ४ जुलाई १९९८ मा ‘अर्बिटर नोजोमी’ नामक अन्तरिक्षयान प्रक्षेपण गर्यो ।
उक्त यान लक्ष्यमा पुग्न त पुग्यो तर अपेक्षित परिणाम भने दिन नसकेको जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी जाक्साले जनाएको स्पेस डटकमको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसपछिका नासाले सन १९९८ र १९९९ मा एफबीसी मिशन अन्र्तगत नै प्रक्षेपण गरेका २ यान भने सफल हुन सकेनन् ।
यस्तै सन् २००१ मा अमेरिकी अन्तरिक्ष एजेन्सीले नै प्रक्षेपण गरेको ‘मार्स ओडिसी’ दश लाखभन्दा बढी रातो ग्रहका तस्वीरहरु पृथ्वीमा पठायो ।
यसपछि युरोप स्पेस एजेन्सी (ईएसए) ले पनि सन् २००२ को जुन २ मा ‘मार्स एक्सप्रेस/बीगल २ नामक ल्याण्डर तथा अर्बिटर प्रक्षेपण गर्यो । सन २००३ को अन्तिमतिर हराएको यो अर्बिटरले फेरि सन् २००५ मा मिसन पूरा गरेको स्पेस डटकमले उल्लेख गरेको छ ।
‘स्पिरिट’ तथा ‘अपुर्चुनिटी’ नामक नासाका २ वटा रोवर्सले पनि मङ्गल ग्रहमा पानीका विषयमा प्रमाण खोज्ने काम गर्यो । र, सन् २०१० सम्म आइपुग्दा उक्त यान निष्क्रिय भएको स्पेस डटकमले उल्लेख गरेको छ ।
सन २००५ मा नासाले नै प्रक्षेपण गरेको एक यानले पहिले गरिएका सबै परीक्षणका तुलनामा धेरै तथ्याङ्क पृथ्वीमा पठायो । भनिन्छ, यसले सन् २०२२ सम्म नै पृथ्वीमा सूचना पठाएको थियो ।
यसपछि सन् २००७ को अगस्त ४ मा प्रक्षेपण गरिएको मार्स फिनिक्स नामक यानले सन् २००८ को मे २५ मा मङ्गल ग्रहको सतह मुनि पानीको रहेको पत्ता लगायो । तर, यो यानले पनि त्यहाँको चिसो सहन नसकी डाटा पठाउन नै बन्द गरेको बताइन्छ ।
यसैबीचमा रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले मङ्गल ग्रहको उपग्रह फोबोससम्म पुग्नको लागि फोबोस–ग्रन्ट नामक मिसन शुरु गर्यो । तर, उक्त मिसन पनि असफल रह्यो ।
यसपछि छिमेकी मुलुक भारतले पनि एमओएम अर्थात् मार्स अर्बिटर मिसन शुरु गर्यो । जसले मङ्गल ग्रहको तस्वीर लिने मुख्य उद्देश्य राखेको थियो । यो यानको मद्दतले मङ्गल ग्रहको मौसम लगायतका अन्य विशेषताहरुको बारेमा केही तथ्य फेला पारेको बताइन्छ ।
त्यस्तै, सन् २०१३ मा प्रक्षेपण गरिएको नासाकै एमएभीएन अर्थात् मार्स एटमस्फियर एण्ड भोलेटाइल इभ्याल्युएसन ले पनि यो ग्रहको वतावरणमा आउने परिवर्तनका बारेमा निरिक्षण गर्यो ।
रुसी स्पेस एजेन्सीसंग मिलेर पछि फेरी युरोपियन स्पेस एजेन्सीको एक्सोमार्स कार्यक्रमले सन् २०१६ मा ‘ट्रेस ग्यास अर्बिटर’(टीजीओ) र शिअपरेल्ली नामक ल्याण्डर प्रक्षेपण गर्यो । स्पेस डटकमले उल्लेख गरेअनुसार यसले अहिले पनि काम गरिरहेको छ । जसले त्यहाँको वातावरणका बारेमा अध्ययन गरिरहेको छ ।
नासाले पहिलोपटक मङ्गल ग्रहको अन्तरिक संरचनाको अध्ययन गर्नका लागि सन् २०१८ मा ‘मार्स इन्साईड’ नामक ल्याण्डर फेरि रातो ग्रहमा पठायो । ‘इनसाइड ल्याण्डर’ लाई सन् २०२१ मङ्गल ग्रहको इतिहासका बारेमा अहिलेसम्म भेटिएका तथ्य तथा निष्कर्षहरुका बारेमा थप खोज गर्न निर्देश गरिएको थियो ।
त्यस्तै सन् २०१२ नासाले मानव बसोबास तथा पानीको सम्भावना खोज्नका लागि शक्तिशाली रोभर क्युरियोसिटी वाट प्रभावित भई प्रक्षेपण गरिएको पर्सभेरेन्स नामक यानले सन् २०२१ को फेब्रुअरी १८ मा मङ्गल ग्रहको जेजेरो क्रेटरमा सफलतापूर्वक अवतरण गर्यो ।
अन्य धेरै अनुसन्धानका लागि उपकरणहरू पनि साथमा वोकेर गएको यो मिसनले पनि मङ्गल ग्रहमा जीवनको सम्भावित संकेतहरू समावेश गर्ने नमूनाहरू फेला पार्ने लक्ष्य लिएको छ ।
मङ्गल ग्रहमा जीवनको सम्भावनाको खोजी कार्य जारी नै रहेका छन् ।
यी बाहेक अन्य धेरै देशका मिशनहरुले मङ्गल ग्रहमा अनुसन्धान अनुभव लिएका छन् । संयुक्त अरव इमिरेट्स (युएई) ले पनि सन् २०२१ मा ‘होप मिशन’ अन्तर्गत मङ्गल ग्रहको मौसम तथा वायुमण्डलको वारेमा अध्यन गर्ने उद्येश्य राखेर अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो ।
यस्तै चीनले पनि सन् २०२१ को फव्रुअरी मा मङ्गल ग्रहको प्रवेश गर्नका लागि तियानवेन–१ नामक मिसन अन्तर्गत मङ्गल ग्रहको विभिन्न क्षेत्रको अध्ययनका लागि एक ल्याण्डर तथा एक अर्बिटर प्रक्षेपण गरेको थियो । जसले मङ्गल ग्रहमा पानी तथा त्यहाँको प्रयावरणको परीक्षण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया