मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

नवजात शिशुको आँखामा गाजल लगाउनु कति हानिकारक हुन्छ ?

नेपाली समाजमा शिशु जन्मिएको केही समयपछि आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । यसरी गाजल लगाउँदा आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो हुन्छ भन्ने आम बुझाइ छ । कतिपयले बच्चाको आँखामा गाजल लगाइदिँदा अरुको नजर नलाग्ने सामाजिक मान्यता पनि छ ।

कतिपयले भने केही नबुझेपनि गाजल लगाएपछि बच्चाहरु राम्रा र चिटिक्क देखिन्छन् भन्ने मनासायले शिशुको आँखामा गाजल लगाइदिने गरेको पाइन्छ । के नवजात शिशुलाई आँखाभरी गाजल लगाइदिनु सही हो ? यसले कस्तो असर पार्छ ? गाजल लगाउनु हुन्छ या हुँदैन भन्ने प्रश्नहरु समेट्दै बाल रोग विशेषज्ञ डा. जय यादवसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंशः

नवजात शिशुको आँखामा गाजल लगाउनु कत्तिको सही र स्वस्थकर हो ?

पहिलो कुरा त नवजात शिशुको आँखामा गाजल लगाउनु हुँदैन । स–साना बालबालिकाको आँखामा गाजल लगाउने भनेको हाम्रो गाउँघरमा रहेको एउटा चलन हो । वास्तवमा गाजल भनेको इन्फेक्सन (सङ्क्रमण) को स्रोत मात्रै हो । मेडिकलको भाषामा भन्नुपर्दा बच्चाको आँखामा गाजल नलगाएकै राम्रो । यो स्वस्थकर हैन ।

यसले शिशुको आँखामा कस्तो असर गर्छ ?

गाजलमा कस्तो केमिकल प्रयोग भएको छ र कस्ता गाजल हो भन्ने कुरामा पनि भर पर्छ । गाजल लगाएर केही पनि स्वास्थ्य लाभ त छँदै नै छैन । गाजल आँखालाई चाहिने कुरा होइन । यसकारण गाजल लगाइदिँदा आँखा धेरै रसाउने, कचेरा आउने, आँखामा केही इन्फेक्सन छ भने त झन् चिकित्सकहरुसँग परामर्श गरेर मात्रै लगाउनु उपयुक्त हुन्छ । गाजल लगाउँदा आँखा रातो हुने, पोल्ने, संक्रमण हुने समस्या आउँछ । गाजलले आँसु आउने बाटो अवरुद्ध पार्ने भएकाले झन धेरै आँसु बग्ने समस्या बढ्न सक्छ । गाजलले कोही–कोही बच्चामा एलर्जी समेत गराउँछ । आँखामा गाजल लगाउनु बच्चाका लागि कुनै पनि कोणबाट सुरक्षित छैन । गाजलमा धेरै मात्रामा लिड पाइन्छ । जुन आँखाको माध्यमबाट शरीरका अन्य अङ्गहरुमा गएर पनि प्रभावित पार्न सक्छ । जसले गर्दा मस्तिष्क, मृगौला तथा बोन म्यारोसँग जोडिएका समस्याहरु हुन सक्छन् ।

बजारको गाजल लगाइदिनु हुँदैन तर घरमा बनाएको गाजल लगाउँदा असर गर्दैन भन्नेपनि हाम्रो आम बुझाइ छ । यसमा कतिको सत्यता छ ?

यो गलत बुझाइ हो । गाजल घरमा बनाएको होस् या बजारमा, कुनै पनि बच्चाको आँखामा लगाइदिनु हुँदैन । बच्चाको आँखामा गाजल लगाउन जरुरी हुँदैन । यसले आँखामा विभिन्न समस्या ल्याउन सक्छ । नवजात शिशुको आँखामा गाजल लगाउनु हानिकारक हुनसक्छ । कतिपयले घरमा प्राकृतिक सामग्रीबाट बनेको गाजल सुरक्षित हुने विश्वास गर्छन् । तर घरमा बनाएको प्राकृतिक गाजल होस् वा बाहिरको कुनै पनि किसिमको गाजल बच्चाको आँखाको लागि सुरक्षित हुँदैन । वास्तवमा बच्चाको छाला निकै संवेदनशील हुन्छ । सानो लापरवाहीले पनि संक्रमण हुन सक्छ । गाजल लगाउँदा हात वा सिन्काकै प्रयोगबाट पनि कीटाणु आँखामा पर्न सक्छ । त्यसैले आँखालाई राम्रो बनाउने चक्करमा आँखा बिग्रिन सक्ने हुँदा गाजल नलगाउनु नै उत्तम हुन्छ ।

आँखामा गाजल लगाइदिँदा बच्चालाई चिसो लाग्दैन भनिन्छ नि होइन ?

आँखामा गाजल लगाउँदा चिसो नपस्ने भन्ने कुरामा पनि सत्यता छैन । नवजात शिशुको आँखा धेरै संवेदनशील हुन्छ । यस्तो अवस्थामा गाजल लगाउँदा त्यसमा हुने रसायनको प्रयोगले बच्चालाई उल्टो हानी पुर्‍याउन सक्छ । अझ बजारमा किनेको गाजलमा अत्यधिक केमिकल हुने भएकाले आँखादेखि शरीरका अन्य अङ्गमा पनि क्षति गर्न सक्छ । गाजलमा लिड कार्बन जस्ता केमिकल हुन्छ, जसलाई टिकाउन तेल पनि प्रयोग हुन्छ । यो आँखाको लागि जोखिमयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?