मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी

अर्घाखाँची – नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् । तराईमा बढेको तातो गर्मी छल्न अहिले तराईका जिल्ला तथा भारतका उत्तर प्रदेश, विहार विभिन्न क्षेत्रबाट मानिसहरू आउने गरेका छन् । 

तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउँदा घुम्न आउने पर्यटकहरू पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी वनभोज स्थलको रुपमा पनि विकसित हुँदै गएको छ । 

सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउने र देउरालीमा चढाएका पाठा, पाठीहरु लिएर नरपानीमा वनभोज गर्ने गर्दछन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ ।

सुपा मन्दिरको शिरमा जान सकिने केबलकार र साहसिक पदमार्ग बनाउन सके  यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउँछन् । सुपाको पुर्ब रहेको भैसी मेलामा मन्दिर बनाएर केवुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न पहल भइरहेको उहाँको भनाइ छ ।

महेन्द्र राजमार्गको गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानी रहेको छ । गोरुसिङ्गे सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन् । यहाँ वरिपरि हरियाली डाँडा र बीचमा समथर भूभाग रहेको छ । भविष्यमा पनि  यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?