मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: विश्व नर्स दिवस

नर्सिङ पेशा: नेपालमा श्रमको मूल्य छैन, विदेशमा मनग्य आम्दानी

‘सम्मानित पेशामा अपमानित व्यवहार’

काठमाडौँ– आज ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘नर्सहरू नै भविष्य हुन् र स्वास्थ्य स्याहारको वित्तीय शक्ति पनि नर्सहरूसँगै छ’ भन्ने नाराका साथ आज यो दिवस मनाइएको छ ।

‘लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसरमा हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नर्सिङ पेशालाई गर्विलो र इज्जतदार रुपमा हेरिए पनि यसमा लाग्नेहरुले श्रम अनुसारको पारिश्रमिक नपाएको विषयमा यसै क्षेत्रमा लागेकाहरु गुनासो गर्छन् ।

उनीहरुका अनुसार आम सर्वसाधारणले बौद्धिक र धेरै पैसा कमाउन सक्ने पेशााका रुपमा हेरिए पनि यस क्षेत्रमा दैनिकी धान्नै गाह्रो भएपछि पेशा छोड्न र विदेशिन बाध्य हुनुपरेको उनीहरु सुनाउँछन् ।

सुरक्षित कार्यस्थल, गुणस्तरीय नर्सिङ सेवा, रोजगारीको ग्यारेन्टीजस्ता विषय बेलाबखतमा उठ्ने गरेका छन् । पछिल्लो केही वर्षयता नर्सहरु श्रम शोषणमा परेको विषयका मुद्दाहरु समेत उठान हुँदै आएका छन् ।

स्वयम् नर्सहरुले पनि यस्ता शोषणका विषय आफैँले पनि खुलाउन थालेका छन् । तथापि नाम चलेका विभिन्न निजी अस्पतालले नर्सलाई श्रम शोषण गरेको, महिनौँसम्म पारिश्रमिक नदिने गरेको यो पेशामा लाग्नेको गुनासो छ ।

यसले गर्दा कामका लागि स्वदेशमाभन्दा विदेशमा राम्रो सुविधा लिन नेपाली नर्सहरु अहिले विदेशीने क्रम निकै बढेको देखिन्छ । नेपाल नर्सिङ परिषदको तथ्यांक अनुसार २०५९ सालदेखि २०८० साल असार सम्ममा ३३ हजार ७६५ जानले विदेश जान भेरिफिकेसन लेटर बनाएका थिए ।

नेपालमा पढाइमा हुने लगानी अनुसार तलवको सुविधा नभएको विगत १५ वर्षदेखि नर्सिङ पेशामा आवद्ध मुना योगी पराजुली गुनासो गर्छिन् ।

उनका अनुसार अहिले एक जना नर्सको कमाइ हेर्दा दैनिकी धान्नै धौ धौको अवस्था छ ।

‘नेपालमा पढेर यही काम गरेर बस्छु भन्दा केही उपलब्धी छैन,’ उनले भनिन्, ‘सिनियरहरुले जुनियरहरुलाई हेप्ने प्रवित्ति पनि निकै नै छ । यसले झन् केही गर्छु भनेर आउँदै गरेका नर्सहरुको मनोबल घटिरहेको छ ।’

यसले नयाँ आउनेहरुलाई निकै कठिन हुने उनले सुनाइन् । विदेशमा गएर काम गर्ने सोचाइले पढ्ने हो भने राम्रै हुने उनको अनुभवले बताउँछ । 

नर्सिङ पेशामै आवद्ध रहेकी बाला राई सरकारी अस्पतालहरुको हकमा नेपाल सरकारले बनाएको मापदण्ड नै रहेपनि नीजि अस्पतालहरुले भने नर्सहरुलाई श्रम शोषण गरिरहेको सुनाउँछिन् । डाक्टरहरुद्वारा हेपिनु, श्रम शोषणमा पर्नु सामान्य नर्सिङ पेशामा हुनेहरुका लागि सामान्य जस्तै बनेको उनको भनाइ छ ।

‘पितृसत्तात्मक संस्कारमा महिलाहरु जुनसुकै पेशामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शोषित भइ नै रहेका छन् । यो प्रवृत्ति नर्सिङ क्षेत्रमा पनि छ,’ उनले भनिन् ।

यस पेशामा नर्सको कार्य विभाजनको अभ्यास छैन । हरेक रोगका बिरामी हेर्न एउटै प्रकृतिका नर्स खटाइन्छ । गाइनो र न्यूरो बिरामीहरुका लागि छुट्टाछुट्टै नर्सहरु उर्थात सोहि विषयमा ज्ञान हासिल गरेका नर्सहरु खटाएमा काममा सजिलो हुने राईको बुझाइ छ ।

नर्सिङ पेशामा १२ घन्टा खटिँदा पनि २० हजार रुपैयाँ पाउन मुस्किल रहेको अनिता फुयाँलले सुनाइन् । उनी यस क्षेत्रमा ५ वर्षदेखि आवद्ध छिन् ।

उनी भन्छिन्, ‘यतिधेरै खर्च गरेर पढ्नुपर्छ । तर कमाइ भने अन्य पेशामा भन्दा पनि कम हुँदोरहेछ । अब नेपालमा नर्सिङ गरेर त्यही पढाइको खर्च उठाउन पनि गाह्रो छ । त्यसैले विदेश जाने तयारीमा छु ।’

यस पेशामा आउनुभन्दा अघि उनले नाम, दाम र इज्जत सँगै कमाउछु भनेर सोचेकी थिइन् । अहिले आएर उनले पछुतो महसूस गरेको सुनाइन् ।

उनका अनुसार अनुभवी नर्सहरुको दुःख देखेर यस पेशााप्रति पछिल्लो पुस्ताको रुचि घट्दै गइरहेको उनको अनुभव छ । उनलाई लाग्छ, धेरथोर पढ्नेहरु पनि सबै विदेशीने र जान अवसर नपाएकाहरु मात्र नेपालमा काम गरिहेका छन् ।

अबको केही वर्षमा नेपालमा नर्सको खडेरी पर्ने सम्भावना प्रवल रहेको यस पेशामा आवद्ध रहेकाहरु सुनाउँछन् ।

नेपाल नर्सिङ एसोसियसनले नर्सहरुको पक्षमा काम गर्ने प्रयास गरिरहेको नेपाल नर्सिङ एसोसियसनकी अध्यक्ष मनकुमारी राईले बताइन् । एसोसियसनको अहिलेको उद्देश्य भनकै नर्सहरुको उचित पारिश्रम, श्रम शोषण र दरबन्दी सवालमा कुरा गर्नु रहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा नर्स रित्तिँदै गएको र नर्सिङ पढेका विद्यार्थीहरुको उद्देश्य नै विदेशिने रहेको कुरामा उनले सहमति जनाइन् ।

उनले भनिन्, ‘बेरोजगार र नेपालमा भन्दा अझ सेवा सुविधा पाइन्छ भन्ने मानसिकताले पनि नेपाली नर्सहरु धमाधम विदेसिने क्रम निकै बढेको छ । यस्तो दु:खद् परिस्थिति हटाउन बिरामीको सङ्ख्याको अनुपातमा दरबन्दी बनाउन पनि हामीले पहल गरिरहेका छौं ।’

निजी अस्पतालहरुले आफै कमाउने र आफ्नै हिसाबले खर्च गर्न पाउने भएकाले तलवमा समस्या भएको उनको अनुमान छ । एसोसियसनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नर्सहरुको विषयमा समेत ध्यानाकर्षण गराइरहेको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?