काठमाडौँ–वैशाख ९ गते ‘मायाको पहिचान नेपाल’ले काठमाडौंमा आयोजना गरेको ‘मिस्टर गे नेपाल २०२४’ उपाधि डोटी बडीकेदार गाउँपालिकाका २२ वर्षिय लक्ष्मण मगरले जिते ।
उपाधि हात परेसँगै जतिबेला उनको शिरमा ताज पर्यो, त्यतिबेला उनले घरमा रहेकी आमा र दाजुभाइ दिदीबहिनीहरुलाई सम्झिए । किनकि, उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्र पर्छन् भन्ने परिवारलाई जानकारी थिएन ।
उपाधि हात पारेको क्षण उनलाई गर्वसँगै सबैभन्दा ठूलो चिन्ता आफ्नी आमाको भयो ।
‘विजेता हुनु भनेको म मेरो पहिचान लिएर बाहिर आएको क्षण थियो,’ उनले भने, ‘मैले मेरो पहिचान पाएकोमा म एकदमै खुसी थिएँ, तर घरमा आमा र दाजुभाइ, दिदीबहिनीहरुले के भन्ला भनेर सोचेँ, मैले गर्दा आमालाई चिन्ता हुन्छ भनेर मलाई निकै टेन्सन भयो ।’
सबैलाई आफू यो समुदायको हुँ भनेर चिनाउनुभन्दा ‘मिस्टर गे नेपाल’ प्लेटफर्मबाट चिनाउन सहज हुने ध्येयले उनी प्रतियोगितासम्म पुगेका थिए । उनलाई प्रतियोगितमा भाग लिएर जित्छु नै भन्दा पनि आफ्नो पहिचान संसारलाई चिनाउनु थियो ।
उपाधि नै जितेपछि उनको खुसीको सीमा नै रहेन । यसले उनलाई आफू पहिचानसहित अझै उत्साहित भएर बाँच्ने लय सिकाइदियो ।
लक्ष्मण परिवारमा दुई छोरी चार दाजुभाइमध्ये साइँलो छोरा हुन् । उनी सानैदेखि फरक स्वभावको भएको सुनाउँछन् । सानो छँदा आमाको सारी लगाउने, बेहुली बन्ने, आमाकै जस्तो व्यवहार गर्न नक्कल गर्थे ।
त्यतिबेला उनलाई आमाले पुरुषले महिलाको कपडा लगाएमा आयु घट्छ भनेर सतर्क गराउँथिन् । स्कूलमा पनि उनको स्वभाव अन्य केटा साथीहरुको जस्तो थिएन । मिल्ने साथीहरुले पनि उनी अरुभन्दा अलग भएको कुरा सुनाउँथे ।
त्यतिबेला उनको अबोध मस्तिष्कले आफैलाई प्रश्न गर्थ्यो, ‘म को जस्तो छु ? म किन अरुभन्दा फरक छु ? मलाई किन केटा जस्तै बन्न मन लाग्दैन ?’
त्यतिबेला उनको प्रश्नको जवाफ फर्काउने कोही थिएनन् । यतिकैका उनको बाल्यकाल बितेर उनी यौवनकालमा प्रवेश गरे ।
यतिबेलासम्ममा उनको व्यवहारमा अझै भिन्नता आइसकेको थियो । स्कूले जीवन सकेर कलेज पढ्ने बेलासम्म पनि उनी आफैले ‘आफू को हुँ’ भनेर खुट्याउन सकेनन् ।
उनी हरेक पल अरु दाजुभाइ र केटा साथीहरु जस्तै बन्ने कोसिसमा रहे । यद्यपि आफू अरुभन्दा विलकुल फरक छु भन्ने भित्री मनको भावनालाई भने मेटाउन सकेनन् ।
गाउँघर र स्कूलका सहपाटीबिच प्रिय भएकाले उनले विभेदको अनुभव भने गरेनन् । आफ्नो पहिचान नै थाहा नभएकोले उनी एकान्तमा हुँदा आफै दुःखी हुन्थे ।
एक त विकट भूगोल अर्कातिर आफूजस्तै मान्छेहरु गाउँमा नदेख्दा उनको बाल्यकाल निकै कठिन रुपमा बित्यो । अध्ययनका लागि धनगढी आएपछि भने उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका केही मानिसहरुलाई देखे ।
आफूजस्तै अरु मान्छेहरु पनि हुने रहेछ भन्ने महसूस भएपछि बल्ल उनी निद्राबाट ब्युँझिए जस्तो भए । त्यस पश्चात् उनले बिस्तारै आफूलाई स्वीकारे । ‘समाजले मानेको महिला र पुरुष लिङ्गको दायराभन्दा म साँच्चै फरक नै छु ।
मेरो आफ्नै पहिचान छ’ भन्ने कुरामा बल्ल उनी ढुक्क भए । आफैमा ढुक्क त भए तर परिवार र दुनियाँभरलाई कसरी भन्ने उनलाई अर्को तनाव थियो । आफैले आफैलाई स्वीकार्न जति कठिन छ, त्यो भन्दा गाह्रो परिस्थिति आफ्नोबारे परिवार र समाजलाई बुझाउन उनलाई ठूलो चुनौती थियो ।
यही उनको चुनौतीको हल गर्ने बाटो नै ‘मिस्टर गे नेपाल’ प्लेटफर्म बन्यो । मायाको पहिचान नेपाल संस्थाले प्रतियोगिताबारे सामाजिक सञ्जालमा जारी गरेको सूचनाकै आधारमा उनी सहभागी भएका थिए ।
उपाधि जितेको दिन नै दाजुभाइ र साथीहरुले उनलाई बधाई र अझै अगाडि बढ्न हौसला दिए तर आमासँग भने उनी बोल्न डराए । भोलिपल्ट भने आमासँग फोन संवाद गरे ।
‘शुरुमा त आमाले पनि खुसी भएर बधाइ नै दिनुभयो, दुई/चार दिनपछि भने चिन्ता लिनुभयो । समाजमा तेरो छोरा यस्तो, उस्तो भन्लान्, मैले घर छोडेर हिँड्ला भन्ने पीर परेछ । मैले मेरो पहिचान, हक, अधिकारका लागि काम गर्छु भने सम्झाएपछि आमा ढुक्क हुनुभयो,’ उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए ।
यतिबेलासम्ममा उनको जीवनमा थुप्रै उतारचढावहरु आइसकेका थिए । कुनै बेला उनले कसैलाई प्रेम गर्थे । सामान्य महिला र पुरुषको जसरी समान्य प्रेमीप्रेमिको सम्बन्ध हुन्छ । त्यसरी नै उनी अगाडि बढ्नै सकेनन् । आफैले आफ्नै प्रेमलाई त्यागिदिए ।
धनगढीमै बसेर अहिले उनी स्नातक चौथो वर्षमा अध्ययनरत छन् । आफ्नो पहिचानसहित स्थापित भएर बाँच्ने उनको अबको अठोट छ ।
भन्छन्, ‘मिस्टर गे नेपाल’ प्लेटफर्म मेरो लागि टर्निङ पोइन्ट हो । अब त मैले म यो हुँ भनेर कसैलाई भनिरहनु नै परेन । यसका लागि मायाको पहिचान नेपाल, माया गुरुङ म्याहरुप्रति सधैं आभारित हुनेछु ।’
आफूजस्तै अरु पनि आफ्नो पहिचानसहित खुलेर आउनका लागि यस्ता कार्यक्रमहरु भइरहनुपर्छ भन्ने उनको बुझाइ छ । उनका अनुसार यसले नयाँ आउनेहरुलाई उत्साह र उत्प्रेरणा मिल्न सक्छ ।
बेलायतमा अगस्ट महिनामा हुन गइरहेको ‘मिस्टर गे वर्ल्ड’मा सहभागिता जनाउनका निम्ति अहिले उनी तयारीका क्रममा छन् । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय निकै पिछडिएको वर्गका रुपमा रहेको उनी सुनाउँछन् । यो समुदाय पनि राज्यको अन्य नागरिक सरह हक तथा अधिकारसहित बाँच्न पाउनुपर्छ भन्ने उनको माग छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरुको हक र अधिकार लागि लामो समयदेखि लडिरहेका अग्रजहरुलाई व्यक्तिगत स्वार्थभन्दा समग्र समुदायका लागि अगाडि बढ्न उनको आग्रह छ । यसै समुदायको हकका लागि लडिरहने उनको पनि प्रण छ । इन्द्रेणी पर्यटन प्रवर्धन गर्ने दूतका रुपमा पर्यटन क्षेत्रमा समलिङ्गीहरूको सहभागिता र प्रतिनिधित्वका लागि समेत काम गर्ने उनको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया