मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता छन् उपत्यकाका विद्यार्थीहरुद्वारा सिर्जित कलाकृतिहरु

काठमाडौँ– उपत्यकामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुद्वारा सिर्जित कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

महानगरपालिका शिक्षा विभागका उपनिर्देशक सरस्वती पोखरेल, महानगरपालिका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले लगायतको उपस्थितिमा प्रदर्शनीको उद्घाटन शुक्रवार प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरेका हुन् ।

महानगरपालिकाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा महानगर अन्तर्गतका ९ विद्यालयका १९ समूहमा सञ्चालन भएको शिक्षामा सीप कार्यक्रम अन्तर्गतको ‘स्केचिङ एन्ड स्कप्चर’ मोड्युलको तालिम कार्यक्रममा विद्यार्थीहरूले कला सिर्जना गरेका थिए ।

कुलपति हार्तम्छालीले शैक्षिक क्षेत्रमा सिर्जनशील कुरा जोडेर लाने प्रयासअनुरूप यो कार्यक्रम गरिएको बताए । शिक्षा र सीप, कला र सिर्जनाबिच अन्योन्याश्रित सम्बन्ध रहेको धारणा राखे ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले महानगरले विद्यार्थीको सिर्जनशील पक्षलाई सीपसँग जोडेर कलाको विषयलाई शुरु गरेको सुनाए । उनका अनुसार यसले सकारात्मक परिणाम दिएको छ ।

महानगरका ९ विद्यालयका १९ समूहमा १५ हप्ता सञ्चालन भएको यो कार्यक्रममार्फत विद्यार्थीहरूले तयार गरेका १२ सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन् । उपनिर्देशक पोखरेलले कार्यक्रम शुरुमा गाह्रो देखिएता पनि त्यसको नतिजा देख्दा खुसी लागेको बताइन् । ‘कार्यक्रम एकदमै राम्रो लाग्यो ।

यसमा प्रत्यक्ष अप्रत्यक्ष जोडिने सबैलाई धन्यवाद’, उनले भनिन् । सहरी योजना आयोगका सदस्य झाले महानगरको नेतृत्वको भिजनलाई आत्मसाथ गरेर काम अघि बढाइ त्यसलाई यथार्थमा बदल्न प्रतिष्ठानसँग सहकार्य गरेको बताए ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले प्रदर्शनीमा विद्यार्थीबाट सिर्जित चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएको सुनाइन् । यसले विद्यार्थीहरुको सिर्जनशील क्षमतासँगै सीपमूलक बनाउन पनि सघाउने उनको विश्वास छ ।

कला प्रशिक्षणमा सहभागी कलाकारहरु सम्झना राजभण्डारी, सोनी राई लगायतकाले विद्यार्थीहरुमा असाध्यै उत्साह र उत्प्रेरणा बढेको सुनाए । कला प्रशिक्षणले विद्यार्थीहरुमा आत्मबल बढाउन र आफ्नो कुरा राख्न सकेत बल पुर्‍याएकाे राजभण्डारीले सुनाइन् ।

कक्षाकोठामा सिकिरहेको कला भन्दा प्रशिक्षण एकदमै रमाइलो भएको गीतामाता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राहरु अञ्जना बुढाथोकी र समीक्षा पन्तले सुनाए ।

कला प्रशिक्षणले एकोहोरो पढाइले बोझ महसूस भएको समयमा दिमागलाई चङ्गा बनाउने काम गरेको रत्नराज्य मा.वि.मा कक्षा १० मै अध्ययनरत छात्रा करिश्मा सिंहले सुनाइन् ।

वैशाख ३० गतेसम्म चल्ने प्रदर्शनीमा गीतामाता, रत्नराज्यसहित विश्व निकेतन मा.वि., ज्ञानोदय मा.वि., तरुण मा.वि., कन्या मन्दिर मा.वि., शहिद शुक्र मा.वि., पद्मकन्या विद्याश्रम मा.वि. र कोटेश्वर सरस्वती मा.वि.का विद्यार्थीहरू कला सिर्जना प्रशिक्षणमा सहभागी भएका थिए ।

कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?