काठमाडौँ– यात्रासम्बन्धी जानकारी दिने साइट ट्रिप एडभाइजरले नेपालको काठमाडौँलाई विश्वकै उत्कृष्ट घुम्नलायक प्राकृतिक गन्तव्यको सूचीमा शीर्ष स्थानमा राखेको छ । ट्रिप एडभाइजरले सन् २०२४ का लागि यो सूची केही महिनाअघि सार्वजनिक गरेको हो ।
उक्त साइटले पर्यटकले रोजेका विश्वका ८० लाख स्थानमध्येबाट सबैभन्दा मन पराइएका स्थानको सूची सार्वजनिक गरेको हो । च्वाइस अवार्ड अन्तर्गत एक वर्षको अन्तरालमा ट्रिप एडभाइजर कम्युनिटीका सदस्यले काठमाडौँलाई पहिलो स्थानमा छानेको ट्रिप एडभाइजरले जनाएको छ ।
यो सूची ८० लाख गन्तव्यमध्ये नेचर डेस्टिनेसनका लागि विश्वकै पहिलो नम्बरमा सिफारिस भएको हो ।
नेपालको राजधानी काठमाडौँलाई ऐतिहासिक साथै प्राचीन मन्दिरहरुको शहरका रुपमा सूचीकृत गरिएको छ भने यहाँका रमणीय स्थलका बारेमा पनि चर्चा गरिएको छ ।
विभिन्न देशबाट काठमाडौँ घुम्न आएका पर्यटकले ठमेलका होटल, त्यहाँको सुविधाको पनि तारिफ गरेका छन् भने विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आउने पर्यटकले पनि काठमाडौँका घुम्नलायक स्थानहरुको चर्चा गरेका छन् ।
काठमाडौँपछि विश्वभरकै दोस्रो स्थानमा भियतनामको हालोङ बे लाई सूचीकृत गरिएको छ । पर्यटकहरु यहाँको आश्चर्यचकित आइसल्याण्ड, चट्टान र गुफाको भ्रमण गरेर रमाउने गरेको ट्रिप एडभाइजरले जनाएको छ ।
यस्तै उक्त सूचीको तेस्रो नम्बरमा इजिप्टको हुर्गाडा शहरलाई सूचीकृत गरिएको छ भने चौथो नम्बरमा अफ्रिकी देश मौरिसस परेको छ । त्यस्तै बालीको लोम्बोक नम्बर पाँचमा परेको छ । यो स्थानलाई ट्रिप एडभाइजरले हाइकिङ, क्लाइबिङ र फोटोग्राफीका लागि समेत स्तरीय ठाउँ भएको बताएको छ ।
यी हुन् उत्कृष्ट दश गन्तव्य
१ काठमाडौँ, नेपाल
२ हालोङ बे, भियतनाम
३ हुर्गाडा, इजिप्ट
४ मौरिसस
५ लोम्बोक, इन्डिनेसिया
६ कुवाइ, अमेरिका
७ जन्जिबार आइसल्याण्ड
८ ग्राण्ड केमन
९ ग्वाडुलुप
१० क्रुगेर नेसनल पार्क, दक्षिण अफ्रिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया