मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के हाइड्रा फेसियल गरेपछि अनुहारमा चमक आउँछ ?

अनुहारलाई चम्किलो र सुन्दर बनाउने हाइड्रा फेसियल आजभोलि धेरै महिलाको रोजाइमा परेको छ । महिला मात्रै नभएर पुरुषहरु पनि यस्तो फेसियल गराउन सक्रिय छन् ।

हाइड्रा फेसियलले अनुहारको चाया, पोतो, डन्डिफोर लगायत अन्य दाग धब्बा सबै हटाउने दाबी गरिएको छ । हाइड्रा फेसियल कस्तो प्रविधि हो ? के यसले वास्तवमै अनुहारको चाया, पोतो, दाग सबै हटाउँछ या हल्ला मात्रै हो भन्ने प्रश्नहरुमा केन्द्रित भएर रेडियन्ट स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छालारोग विशेषज्ञ डा. कमलराज धितालसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

खासमा हाइड्रा फेसियल के हो ? किन यसको माग बढिरहेको छ ?

फेसियल प्रायः हातकै कसरतले गरिन्छ । तर हाइड्रा फेसियलमा भने हातको नभइ प्रविधिको बढी प्रयोग हुन्छ । नयाँ प्रविधिको माध्यमबाट अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउने भएकाले यो अन्य फेसियल विधिभन्दा फरक छ ।

हाइड्रा फेसियल मल्टिस्टेप फेसियल विधि हो । यो एकपटक मात्रै गरेर छाड्नुभयो भने तपाईले परिवर्तन महसूस गर्नुहुन्न । कम्तिमा ४ हप्तादेखी ६ हप्ताको अन्तरालमा यो विधि दोहोर्‍याउनुपर्दछ । यसले छालामा ताजगी र फ्रेसनेश ल्याउँछ ।

हाइड्रा फेसियल गरेपछि अनुहारमा भएको सबै प्रकारको दाग जान्छ भन्ने आम बुझाइ छ, यसमा कतिको सत्यता छ ?

यो हाइड्रा फेसियलका सन्दर्भमा एकदमै ठूलो भ्रम हो । यसले अनुहारमा आएको चाया पोतो, पिम्पलका दागहरु हटाउँदैन । न त यसले अनुहारलाई नै गोरो बनाउने हो । यसले त केवल अनुहारको छालालाई सफा गर्ने, ताजगी दिने र केही हदसम्म स–साना दागहरु भने हटाउँछ । तर बाहिर बजारमा विज्ञापन भए जसरी सबै हटाएर अनुहार दागरहित बनाउने भने होइन । मान्छेहरुलाई खासमा पार्लरहरुले भ्रममा पारी पैसा असुली गरिरहेका छन् ।

हाइड्रा फेसियल कसरी गरिन्छ ?

यसमा मूलतः तीन काम गरिन्छ । डिप क्लिन्जिङ, एक्सफोलिएट र हाइड्रेसन । सबैभन्दा पहिले क्रिम, पाउडर वा फाउन्डेसन हटाएर सजिलै फेसियल गर्न सकिने गरी अनुहार सफा गरिन्छ । त्यसपछि अनुहारमा स्क्रब गरेपछि भिटामिन सी, एन्टिअक्सिडेन्ट सेरमयुक्त क्रिमले मसाज गर्ने र केही समय अनुहारलाई ठण्डा पार्न छोडिन्छ । यसले अनुहारलाई भित्रैदेखि सफा बनाउँछ । मेसिनले अनुहार सफा गरेपछि हाइड्रा मास्क लगाइन्छ । २० मिनेट छोडेर अनुहारमा अन्तिममा सिरम लगाइन्छ । भित्र पुगेर सिरमले छालालाई मुलायम बनाइराख्छ । यो विधि पूरा गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा लाग्छ ।

यसले धुलोधुँवा र प्रदूषणले छालालाई धेरै असर गर्छ । ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्नु राम्रो हुन्छ । त्यस्तै यसले छालाको भित्री तहसम्म राम्ररी सफा हुन्छ भने अनुहारलाई मुलायम र हाइड्रेट राख्छ । साथै यसले छालालाई चम्किलो बनाउनुका साथै अनुहारमा देखिने छिद्रहरूलाई बन्द गर्छ । त्यस्तै कसिलो बनाउन समेत काम गर्छ ।

तर, यसका केही असरहरु छन् । फेसियल गर्दा राम्रो मेसिनले गरिएन भने त्यसले साइड इफेक्टहरू पनि छन् । कतिपय अवस्थामा त झनै दाग आउने सम्भावना पनि हुन्छ । कतिलाई एलर्जी पनि हुन सक्छ ।

यसमा कुनै उमेर समूह र समयावधि हुन्छ ?

यसमा त्यस्तो विशेष उमेर समूह तोकिएको हुँदैन । तर अनुहारको चमक र स्वस्थ कायम गर्न भने पटक–पटक गराउनुपर्छ ।

यो कत्तिको खर्चिलो छ ?

सामान्यतया हाइड्रा फेसियलको शुल्क २५ सय देखि ८ हजार सम्म पर्न सक्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार ठाउँ हेरेर सेवा शुल्कमा फरकपन आउन सक्छ । यसको ओरिजिनल मेसिनलाई नै झण्डै आठ लाख पर्न जान्छ । चीनमा निर्माण भएको मेसिन भने ८/९ हजारमा नै आउँछ । यसकारण कस्तो स्थानमा हाइड्रा फेसियल गराउँदै हुनुहुन्छ भन्ने कुराले पनि म्याटर गर्छ ।

हाइड्रा फेसियल कुन अवस्थामा गर्नुहुँदैन ?

सबै प्रकारका छालाका लागि उपयुक्त भए पनि स्किन एलर्जी भएकाले गर्न नमिल्ने पनि हुनसक्छ । यस्तो अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ । अनुहारको समस्या हाइड्रा फेसियलले मात्र समाधान गर्न सक्दैन । पर्याप्त पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने, कम्तीमा आठ घण्टा सुत्ने र शारीरिक व्यायामलाई जोड दिएमा अनुहार चम्किलो, स्वस्थ र उज्यालो देखिन्छ । हाइड्रा फेसियल गरिसकेपछि पनि छालाअनुसार हेरचाहमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?