मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्लग

आमा नभएको माइतीघरको त्यो पिँढी

काठमाडौँ– बुढानीलकण्ठस्थित मेरो माइतीघरको आँगन माटोबाट सिमेन्टमा बदलिएको छ । त्यो पिँढी मात्र बदलिएको होइन, पिँढीमा बस्नेहरु पनि भिन्न छन् । पिँढीमा बस्ने मेरी आमा अहिले त्यहाँ हुनुहुन्न ।

मात्र त्यहाँ आमाका यादहरु र मेरा बाल्यकालहरु रुमल्लिएका छन् ।

म यस्तै पाँच वर्षकी थिएँ हुँला । आमा बारीको काम सकाएर आँगनको भित्तामा उभिनुभएको थियो । म आमालाई देखेर दौडिएर पिँढीको छेउमा उभिएको आमाको छातिमा टाँसिएर अघाउन्जेल दूध खाएको आजै जस्तो लाग्छ । आमाको जेठी छोरी (देवी) माइली (लिला) र भाइ जनकमध्ये म कान्छी हुँ ।

सेतो कमेरो माटोमा रातै माटोले पोतिएको बार्दली सहितको बुइँगल, चोटा र भुँइतलामा बनेको हाम्रो माटोको घर थियो । त्यही घरमा हामी खुसी थियौं ।

एक दिन कक्षा चार पढ्ने समयमा आमाले पस्किएको खाना म खाना खाँदै थिएँ । दूध र भात थपेपछि मलाई आँगनमा डुल्दै खान मन लाग्यो । म भान्छाबाट बाहिर निस्किएर खाँदै गरेको भात फर्सीको झ्याङतिर फालिदिएँ ।

भैँसीको कुँडो भाँडामा खन्याउँ भने आमाको गाली खान्छु भन्ने मलाई डर थियो । एकैछिनमा आमा भान्छाबाट बाहिर आउने बित्तिकै मेरो बिगो देखिहाल्नुभयो । आमाले गाली गर्दै भन्नुभयो, ‘त्यो भात के भनेर फालिस्? कुँडो भाँडामा हाल्नु पर्दैन थियो ।’

त्यतिबेला आमाले कुचोले दुईपटक पिट्नुभयो । त्यो दिनदेखि आजसम्म मैले कहिल्यै खाने कुरा फ्याँक्ने हिम्मत गरेकी छैन ।

यस्तै बाल्यकालका अरु स्मरणहरु पनि मसँग ताजै छन् । माथि घरको ठूलो बुवाको छोरी दुर्गा सुशीला उनकी आमाको सारी लगाएर बसेका रहिछन् । त्यतिबेला १२ वर्षकी मलाई पनि सारी लगाउन मन लाग्यो ।

म पनि हत्त न पत्त चोटामा आमाको सन्दुकबाट सेतो भुँइमा रातो फूलबुट्टे सारी झिकेर लगाउन थालिहालेँ । मैले जसोतसो कम्मरमा सारी के बेरेकी मात्र थिएँ, आमा टुप्लुक्क चोटामा आइपुग्नुभयो । आमालाई देखेर हत्तपत्त सारी खोल्न खोजेँ तर भ्याइनँ । सारी लगाएको देखेर आमा हाँस्दै तल झर्नुभयो ।

म भने लाजले भुतुक्क भएँ ।

वैशाख महिना पासिकोट फाँटबाट काटेर ल्याएको गहुँ, लिपिकोट गाउँको आँगन र पाखामा सुकाउन भिजाएको हुन्थ्यो । सानो छँदा खेतालाले घरमा ल्याएर थुपारेको गहुँ सुकाउन म पनि आमालाई सघाउथेँ ।

दिउँसो ढुङ्गामा चुट्न सुकाएको गहुँको मुठ्ठा एकै ठाउँ थुपारिसकेपछि म आमालाई चाउचाउ र कोक खान फकाउँथे । आमाले खुसी भएर मलाई खाजा किन्न पैसा दिनुहुन्थ्यो । सानो काममा आमासँगै बिताएको बालापन सम्झँदा आज पनि मन निकै रमाउँछ र आमाको वियोगमा फेरि मन भावुक हुन्छ ।

घरको छेउमा फुलेका भोगटेका सेता फूल, अनारको रातो फूल फर्किने वैशाख महिना हलुवावेद चिल्ला पात टल्किँदा जामुनका कोपिलाहरु फर्कन ठिक्क भएका हुन्थे । आँगन मुनिका साना फोगटा बारीमा फर्सीका मुन्टा पलाएको बेला, खेतमा लसुन र बकुल्लाको बोट सुकेका हरेक पलहरुमा आमा हुनुहुन्छ ।

राता आरुबखडाको बोटमा अलि–अलि काँचो अलि नपाकेको फल देख्दा मलाई अहिले पनि त्यही समयमा छु कि भन्ने लाग्छ । ठूलो बुवाको छोरीहरु अनि हाम्रा घरका दिदिबहिनी हातका कोसेली बोकेर तल र माथि घर हिँड्दा ठूलै चार्डपर्व आएको जस्तो लाग्थ्यो ।

हाम्रो घरमा बुवाले काम सघाएको हामीलाई खासै याद नै छैन ।

मेरी अर्की आमा (शुभद्रा)ले दिदी (गायत्री) बहिनी (उषा) र भाइ माधवलाई जन्म दिनुभयो । हामी सबै दुई वर्षले जेठा/कान्छा छौँ । हाम्रो घरायसी व्यवहारका सबै कामको चाँजोपाँजो मिलाउने नै सानीआमाले गर्नुहुन्थ्यो ।

उहाँको  सबैप्रतिको समान व्यवहारमा हामी पनि सधैं खुसी नै रह्यौं । हामी सात जना छोराछोरीलाई कहिल्यै बुवाले घरको काममा लगाउनुभएन र यसमा कहिल्यै गुनासो पनि भएन ।

हामी छोरीहरु पनि भान्छाको काम बाहेक अरु खासै काम गर्दैन थियौँ । भाइहरुलाई त त्यहि काम पनि खासै गर्नुपरेन ।

दुई आमाहरु हामी छोराछोरीलाई बुवाले जे गरे पनि ठिकै लाग्थ्यो । बुवा पनि घरभन्दा बाहिर बुढानिलकण्ठ हाउजिङ्ग प्लानिङ्गमै व्यस्त हुने गर्नुहुन्थ्यो । घरायसी व्यवहारका सबै कामको चाँजोपाँजो मिलाउने नै जिम्मेवारी सानीआमाको थियो ।

दुई आमालाई हामीले सधैं सिउँदोमा रातो सिन्दुर र रातो रङ्गको कपडाबाहेक अरु कुनै रङ्गमा देखेका थिएनौं । वि.सं २०७५ मा बुवाको ६३ वर्षको उमेरमा कार्तिकमा हृदयघातले निधन भयो ।

त्यसपछि मेरा दुई आमाको त्यो उर्जाशील जाँगर, मिठो हाँसो सँधैका लागि मलिन भयो । २०७७ भदौमा मेरो विवाह भयो । विवाह लगतै छोरी जन्मिइन् । घरायसी काम बच्चा अनि आफ्नै पेशाका कारण म माइती महिनामा एक, दुई पटक मात्र पुग्थेँ ।

गत वर्षको मातातीर्थ औंसीमा सबै दिदीबहिनी मिली आमाहरुसँग खुसी बाँडेका थियौं । आ–आफ्नै व्यस्तताले त्यसपछि हामी घर फर्किएका थियौं । म भने रोकिइराखेको थेसिस लेख्ने तयारीमा थिएँ ।

अघिल्लो वैशाख सात गतेपछि भने थेसिसका लागि आवश्यक पर्ने पुस्तक लिन म फेरि चौध गते माइत पुगेकी थिएँ । मलाई देखेर सँधै हाँस्दै छेउमा आएर बस्ने मेरी आमाको अनुहार मलिन थियो ।

मैले उहाँलाई सन्चै हुनुहुन्छ भनी सोध्दा, ‘अँ साह्रै ढाड दुखेको छ, खै किन हो औषधि खाँदा पनि दुखेको दुखै छ’ आमाले मलिन स्वरमै सुनाउनुभएको थियो ।

आमासँग यति भलाकुसारी सकेपछि म खाना खाएर घर फर्केकी थिएँ ।

‘छोरी मानिसको जिन्दगी पनि कस्तो होला । विवाहपछि आफ्नी आमासँग मन लागेजति बस्न पनि नपाइने’ बाटोभरि मनमा यस्तै अनेक तर्कना आए । म त्यस दिन घरमा नसोधिकन पत्रकारिताको केन्द्रीय विभाग कलेजबाट मात्र आधा घण्टा बसेर फर्केकी थिएँ ।

यता गोकर्ण घरमा सासुआमा माइतमा मामाको नातिको बिहेमा जानुभएको थियो । वैशाख २१ गते बिहीवार माइतबाट सानीआमाले फोनमा आमाको मुखमा घाउ आएको तीन/चार दिन भएको कुरा सुनाउनुभयो ।

त्यहीकारण आमाले खाना खान छोडेपछि आमालाई सम्झाउन मलाई बोलाउनुभएको थियो । भोलिपल्ट वुद्ध जयन्ती पूर्णिमाको दिन घरधन्दा सकाएर दुई दिन छुट्टीमा आमालाई भेट्न जाने सोच्दै भान्छाको काम गर्दै थिएँ ।

बिहान १० बजे माइतीबाट बुहारी सिर्जनाले आमालाई गाह्रो भएकोले तुरुन्त आउने कुरा सुनाइन् । म माइती पुग्दा आमालाई पिँढीमा सुताइसकिएको रहेछ । इष्टमित्र वरिपरि उभिइरहेको देखेँ ।

मेरो खुट्टाले जमिन टेक्न छोड्यो, मस्तिष्कले सोच्न छोड्यो, रुँदै कराउँदै आमाको छातीमा टाँसिएर आमा भन्दै रुन बाहेक केही गर्न सकिँन । मेरो आलाप विलाप नसकिँदै आमालाई घाटमा लैजाने तयारी भयो ।

घरको पिँढीका डिलसँग बालापन सँगालेकी मेरी आमाको अन्तिम भेट पनि पिँढीबाटै टुङ्गियो । आमा नहुँदा संसार मुटुविनाको शरीर बाँचे जस्तै हुने रहेछ । मेरी आमालाई सधैं न्यानो माया र नमन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?