कञ्चनपुर – कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झनका कारण प्रभावित बनेको छ ।
विमानस्थल पुनः सञ्चालन गर्न पुनर्निर्माण गर्न लागिएको हो । जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि काम हुन सकेको छैन ।
यहाँस्थित महेन्द्रनगर विमानस्थल कार्यालयका प्रमुख मीनराज ओझाले ईआइए गर्न सहमति पत्रका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागमा पत्राचार गरेको दश महिना बितिसकेको बताए।
“विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रायसहित प्रतिवेदन पढाउन भनेको र सोही अनुसार राय पठाएको पनि चार महिना भइसक्यो ।” उनले भने–“तर विभागबाट ईआइएका लागि सहमतिपत्र नआउँदा निर्माण प्रभावित बन्यो ।”
विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू–भाग विमानस्थल स्तरोन्नतिमा मासिन जान्छ । सोही जग्गा प्राप्तिका लागि विमानस्थल प्रयासरत भए पनि इआईए लगायतका प्रक्रियागत ढिलाइले पुनः निर्माणमा ढिलाइ भइरहेको छ ।
पहिलो चरणको निर्माण अन्तर्गत रत्न वाटिकासम्म धावन मार्ग लगायतका संरचना बनाउन विमानस्थल कार्यालय सक्रिय छ ।
“धावन मार्ग रत्न वाटिकासम्म काम गर्न पाए एक हजार पाँच सय २५ मिटर लम्बाइको बन्छ ।” कार्यालय प्रमुख ओझाले भने– “सेनाको समेत जग्गा प्राप्ति भए धावन मार्गको लम्बाइ एक हजार आठ सय मिटर पुग्छ ।”
उनले एक हजार आठ सय मिटर धावन मार्गसहितको विमानस्थल पुनःनिर्माण दोस्रो चरणमा पूरा हुने बताए। पहिलो चरणको निर्माणका लागि रु ४५ करोडको ठेक्का दिइएको र हाल ३६ प्रतिशत काम सकिसकेको छ ।
“रत्न वाटिका क्षेत्रसम्म काम गर्न पाए ९० निर्माण सकिन्थ्यो ।” उनले भने –“माथिल्लो निकायमा पहल गरिदिने मान्छे भइदिए हुन्थ्यो ।”
उता विमानस्थलको क्षेत्र पढाउँदा आफ्नो जमिन परे पनि सेनाले सहजीकरण गरिरहेको छ । सेनाको निकुञ्ज सुरक्षार्थ खटिएको युनिटको खेल मैदानलगायत केही संरचना पर्ने देखिन्छ ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम –केएस–उमा एण्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा सम्झौता भएको छ ।
निर्माणको समयावधि आगामी पुस महिनासम्म छ । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायत काम हुनेछ ।
दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँच मार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया