मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

महोत्तरी – आफ्नै घर आँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग  भएका हुन् ।

किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो ।

विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए । डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् ।

आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन् । 

“प्रतिकूल मौसममा पनि घाँस काट्नुपथ्र्यो” मटिहानी–२ की पशुपालक किसान विमला खत्वे भन्छिन् “अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” 

खत्वेजस्तै मटिहानी–३ की  ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि  घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताइन । मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन् ।

महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पुर्‍याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् । पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । ।मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउ बिरुवासँगै  प्राविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताए ।

पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन् । “हामी अब आफै केही गर्न सक्ने भयौँ जस्तो लागेको छ” मटिहानी–२ की पशुपालक किसान सुजिता यादव भन्छन्, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदै छ ।’’

यसैगरी सोमबार नै परियोजनाले सात वटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ ।  महिला सहकारीलाई उत्पादित फलफूल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्‍याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?