कैलाली – पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको हो ।
धनगढी उपमहानगरपालिका–२ कृष्णनगरकी माटाका भाँडा व्यवसायी नीलमदेवी कलवाराले पहिलेको तुलनामा अहिले माटोबाट बनेका भाँडा बिक्री हुन छाडेको बताइन् ।
“माटोका भाँडाको व्यापार पहिले राम्रो हुन्थ्यो । अहिले खासै छैन”, उनले भनिन्”, “केही वर्ष पहिले गर्मी सिजनमा दिनको रु पाँच हजारदेखि रु १० हजारसम्म कारोबार हुनेमा अहिले व्यापार ह्वात्तै घटेको छ ।” अहिले दैनिक रु एक हजारदेखि रु तीन हजारसम्म बिक्री हुने गरेको उनले जानकारी दिइन्।
लामो सयदेखि व्यवसाय गर्दै आउनु भकी कलवाराले माटोका भाँडाको व्यवसाय घट्दै गएको भन्दै दुःखेसो पोखिन । उनले भनिन्, “माटोका भाँडाको व्यवसायबाट घर भाडा मात्र तिर्न ठिक्क हुन्छ । पहिले कारोबार राम्रो हुने गरेकाले बचत पनि हुन्थ्यो । जीविकोपार्जनमा केही समस्या थिएन । आजभोलि आम्दानी घटेसँगै खर्च चलाउन समस्या हुन थालेको छ ।”
माटोका भाँडाको व्यवासायबाट खर्च चलाउँन मुस्किल भएपछि अहिले ठेलामा गन्ना जुस र अण्डाको पनि व्यवसाय सुरु गरेको कलवाराले जानकारी दिइन् । पछिल्लो समय माटोका भाँडा बनाउने माटो पाउन मुस्किल हुन थालेपछि भारतको लख्खिमपुरलगायत सहरबाट माटोबाट बनेका भाँडा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ ।
“पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए । अहिले माटो पाउन नै गाह्रो छ, पाए पनि महँगो हुन थालेपछि बाहिरबाट बनेका भाँडा आयात गरी बिक्री गर्ने गरेका छौँ”, कलवाराले भनिन् ।
प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने र जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडा विस्थापित हुने अवस्थामा पुगेको माटोका भाँडा बिक्री गर्दै आएका व्यवसायी अरविनप्रसाद कलवाराले बताए । “पहिले भन्दा अहिले धेरै व्यापार घटेको छ । पेसा नै लोप हुन्छ की भन्ने चिन्ता छ”, उनले भने ।
माटोबाट निर्मित भाँडा टुटफुट पनि बढी हुने भएकाले प्रयोग गर्नेको सङ्ख्या कम भएको अरविनप्रसादको भनाइ छ । घरघरमा सिमेन्टको गमला लगेर बिक्री गर्ने गरिएकाले पनि माटोबाट बनेका गमलाको बिक्री घटेको उहाँले बताउनुभयो ।
ग्राग्री प्रतिवटा रु दुई सयदेखी रु पाँच सय, गमला प्रतिवटा रु एक सयदेखि रु दुई सय, खुत्रुक्के प्रतिवटा रु ३० देखि रु तीन सय, कलश प्रतिवटा रु १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया