मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेल्थ डेस्कका स्वास्थ्यकर्मी १० महिनादेखिको तलबविहिन

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन् ।

गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले साउनयता तलब नपाउँदा घर खर्च चलाउनै मुस्किल परिरहेको गुनासो गरिन् । “साउनदेखि तलब पाएका छैनौँ, अब त खर्च चलाउनसमेत गाह्रो भइसक्यो”, धामीले भने, “तबलको कुरा गर्दा बजेट पास भएको छैन, काम गर्दै गर्नुस् भनेको १० महिना भइसक्यो ।” गड्डाचौकी हेल्थ डेस्कमा ११ स्वास्थ्यकर्मी कार्यरत छन् ।

लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी आइतबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् । “हामीले पटकपटक माथिल्लो निकायमा जाहेर गर्दा पनि हाम्रो समस्या समाधान हुन नसकेपछि बाध्य भएर हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छौँ”, उनले भने, “अब पनि हाम्रो पारिश्रमिक आएन भने आउँदो जेठ १ गतेदेखि सेवा नै बन्द गर्छौं ।” उहाँले स्वास्थ्य कार्यालय र जिल्ल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।

हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले पारिश्रमिक मात्रै होइन करार पनि थप नभएको बताए । “काम गर्दै गर्नुस् करार थपिन्छ भन्छन्, न करार थपिन्छ, न पारिश्रमिक आउँछ”, भट्टले भने, “महिनौँदेखि तलब नपाउँदा दैनिकी चलाउन समस्या भइसक्यो ।”

गड्डाचौकीस्थित हेल्थ डेस्कका इञ्चार्ज प्रेमसिंह भण्डारीले बजेट अभाव देखाएर स्वास्थ्यकर्मीको तलब नआएको बताए । “माथिल्लो निकायमा जाहेर गर्दा बजेट निकासा भएको छैन भन्ने जवाफ आउँछ”, भण्डारीले भने, “स्वास्थ्यकर्मीले तलब नपाएपछि सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।” उनले स्वास्थ्यकर्मीले एक साता हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकीसँगै बैतडीको झुलाघाट र दार्चुलामा गरी चार स्थानामा हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्क स्थानीय तहहरुले स्थापना गरे पनि कर्मचारीको व्यवस्थापन स्वास्थ्य सेवा विभागले गर्दै आएको छ ।

विभागबाटै बजेट निकासा नभएका कारण सुदूरपश्चिमका चार वटै हेल्थ डेस्कमा करारमा कार्यरत स्वास्थ्यकर्मी २७ जना छन् । स्वास्थ्यकर्मीले साउनयता तलब नपाएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड स्थानीय स्रोत व्यक्ति हेमराज जोशीले बताए । “सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा साउनयता तलब दिन सकिएको छैन”, जोशीले भने, “बजेट निकासाका लागि अर्थ मन्त्रालयमा फाइल अगाडि बढाएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?