मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध

चितवन – चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो । इच्छाकामनाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गरिन्छ । गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ । 
 
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भनेर यस्तो व्यवस्था गरिएको बताए । उनले भने, “गर्मीमा प्रयोग गरिने ‘कोल्डड्रिङ्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।” 
   
अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए । गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्डड्रिङ्स निषेध गरेको हो । अहिले कार्यक्रम हुँदा गाउँपालिकामा १० लिटरसम्म मोही प्रयोग हुने गरेको अध्यक्ष गुरुङले बताए । 
   
यसैबीच गाउँपालिकाले पशु सुत्केरी सुधार र बीमा कार्यक्रमसमेत सञ्चालन गरेको छ ।  किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए । आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको हो ।

कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाइभैँसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले रु एक हजार पाँच सय उपलब्ध गराउने छ । बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?