काठमाडौँ– २७ वर्षिया इरा चाम्लिङ राई आफूलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको एक सदस्यका रुपमा चिनाउँछिन् । आफू यो समुदायको मान्छे हुँ भनेर परिवार र समाजलाई चिनाउन उनलाई जीवनको झण्डै २५ वर्ष कुर्नुपर्यो ।
खासमा कक्षा ६ मा पढ्ने उमरमै उनलाई आफू अरु केटी साथीभन्दा फरक छु भन्ने महसूस भएको थियो । यो कुरा उनले कसैलाई भन्न सकिनन् ।
कोरोना महामारीको समयमा आफूलाई भित्रभित्रै थुनिएर राख्दा उनी झनै एक्लो भइन् । त्यही बेला उनको जीवनमा प्रेमको सवालमा समेत उत्तारचढाव आयो । त्यसपछि भने उनले आफ्नो बारेमा आमालाई सुनाइन् ।
आफ्नो लैङ्गिक पहिचान आमालाई सुनाएको दिन उनको आत्माका भावहरु नै विष्फोट भएको झैँ उनलाई भयो । परिवारमा आमा लगायत भाइहरुले समेत उनलाई स्वीकार गरे ।
आफूले आफ्नो पहिचान खुलाएपनि समाजले स्वीकार्न भने कठिन थियो । आफू, परिवार र समाजबिचमा उनको पहिचानको अस्तित्व घुमिरहेको थियो । यही समयमा ‘कथा इन्द्रधनुष’ कार्यक्रमले उनको जीवन र सोचमा ठूलो परिर्वतन ल्याइदिएको छ ।
अमेरिकी राजदूतावासकको फण्डिङमा ‘एलमनाई: इङ्गेजमेन्ट इनोभेसज फण्ड’ प्रोजेक्ट अन्तर्गत केही समयअघि मात्र ‘कथा इन्द्रधनुष’ कार्यक्रम नेपालगञ्ज र जनकपुरमा गरिएको थियो ।
रङ्गकर्मी सन्दिप श्रेष्ठको प्रबन्धमा तयार गरिएको कार्यक्रममा रविना लुइँटेल, सुजन खतिवडा, रोजिना लामा, पूजा लामा लगायतले कार्यक्रम परियोजनालाई अगाडि बढाएका थिए । कार्यक्रममा प्ले ब्याक थिएटर अर्थात् चौतारी नाटक कार्यशाला मार्फत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सहभागितामा जोड दिइएको थियो ।
दुई हप्ते रेजिडेन्सी कार्यक्रममा दुवै ठाउँमा १५/१५ जना सहभागीहरु उपस्थित थिए । जहाँ प्ले ब्याक थिएटर फर्ममा नै सहभागीहरुलाई खुलेर प्रस्तुत हुने परिवेश तयार गर्ने प्रयास गरिएको रङ्गकमी श्रेष्ठले बताए ।
उनका अनुसार कार्यशालामा आफ्नो पहिचान आत्मबोध भएपनि समुदायमा खुल्न नसकेकाहरुको उपस्थिति थियो । उनीहरुलाई अभिनयसँगै सङ्गीत, कविता, आपसी कुराकानी, छलफलका माध्यमबाट सहज वातावरण उपलब्ध गराइएको थियो ।
‘वर्कशपमा आफूलाई र आफ्ना कुरा अभिव्यक्त गर्न नसक्नेहरुले पनि सशक्त रुपमा सहभागी हुनुभएको थियो,’ उनले भने, ‘पछि उहाँहरुले कुराहरु राख्ने र अभिनयमा समेत राम्रो गर्नुभयो ।’ उनका अनुसार कार्यशालामा समुदायका व्यक्त्तिहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।
इन्द्र धनुष कार्यशालामा निकै सहजताका साथ आफ्नो कुरा राख्ने वातावरण मात्र नभएर आफ्नो समुदायबारे खुलेर बोल्ने साहस आएको सहभागी राईले सुनाइन् ।
‘मलाई सधैं केटा जस्तै भएर हिँड्ने मन लाग्थ्यो, कतै पार्टीमा जाँदा सधैं लगाउने लुगाकै टेन्सन हुन्थ्यो । त्यो कुरा कसैलाई भन्न सकिँन, अब भन्न सबैलाई भन्न सक्छु, म जस्तै अरुलाई बाहिर आउन प्रोत्साहन गर्छु’, उनले भनिन् ।
इन्द्रधनुष अन्तर्गत नै जनकपुर कार्यशालामा सहभागी भएका आरोन तन्दुकारले पनि कार्यक्रमबाट धेरै कुरा सिकेको सुनाए । शुरुमा उनलाई नाटक भनेपछि अभिनय नै होला भन्ने लागेको थियो । उनले आफ्नो पहिचान नखुलाएपनि यसबाट आत्मविश्वास भने बढाएको बताए ।
आम समुदायको अगाडि अझै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय खुलेर आउन सक्ने अवस्था भइ नसकेको श्रेष्ठ सुनाउँछन् । केही व्यक्तिहरु आफ्नो पहिचान खुलाएर समाजमा आएपनि उनीहरुले आम मानिस सरह जीवनयापन गर्न नसकिरहेको अवस्था छ ।
त्यही कुरा आफूले समेत सामान्य जीवनदेखि रङ्गकर्मसम्म भोगेको उनको अनुभव छ । उनी आफूलाई यही समुदायको व्यक्तिका रुपमा लिन्छन् । आफ्नो कथा आफैँ भन्नुपर्छ भन्ने उद्देश्यले रङ्गमञ्चकै माध्यममा इन्द्रधनुष अवधारणालाई अगाडि बढाएको उनले सुनाए ।
उनका अनुसार समाजमा महिला र पुरुष दुई लिङ्गका मानिसहरु मात्र हुन्छन् भन्ने परम्परागत सोच अझै छ । सामाजिक तथा भौतिक संरचनाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जीवनयापन कठिन बनेको श्रेष्ठ र राई दुवैको एक मत छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायप्रति समाजले राखेको विभेदकै कारण उनले विद्यालयदेखि नै शिक्षण संस्थामा थुप्रै कठिनाइहरु भोगेको बताइन् । मानसिक विचलनकै कारण अध्ययन छुट्टाएकी उनले अहिले निरन्तरता दिएकी छिन् ।
‘नेपालमा हस्पिटलदेखि पब्लिक ठाउँमा ट्वाइलेट जान अहिले निकै गाह्रो छ, यसले गर्दा प्रत्येक ठाउँमा हामीलाई मनैबाट पीडा हुन्छ’, उनले दुःखेसो गरिन् ।
‘इन्द्र धनुष’ जस्ता कार्यक्रमहरु अझै भएमा आम मानिसमा सचेतना आउने उनको बुझाइ छ ।
संस्थागत रुपमा ‘इन्द्र धनुष’ जस्ता अवधारणाहरुलाई अगाडि बढाउने योजना रहेको श्रेष्ठले सुनाए । सबै मिलेर स–साना पाइला मार्फत नै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समाज र संसार सिर्जना गरौं भन्ने उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया