मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पब्जीदेखि लुडोसम्म: यी हुन् नेपालमा खेलिने चर्चित अनलाइन गेम

काठमाडौँ– अभिभावकको व्यस्त जीवनशैलीका कारण एक्लिएका बालबालिकाहरुको साथी अहिले अनलाइन गेमहरु भएका छन् ।

केही वर्षयता विश्वभरि नै मोबाइल गेम अर्थात् अनलाइन गेमको लोकप्रियता बढिरहेको छ । नेपालमा पनि उच्च गुणस्तरको इन्टरनेट सेवा प्रवाह हुन थालेपछि यस्ता अनलाइन तथा मोवाइल गेमहरुले राम्रै साथ पाइरहेका आइटी विज्ञहरु बताउँछन् ।

पछिल्लो समय नेपालमा समेत युवापुस्तामा अनलाइन गेम लोकप्रिय हुँदै गइरहेको पाइन्छ । खासगरी शहरी क्षेत्रका युवापुस्तामाझ अनलाइन गेमको लोकप्रियता बढी छ ।

विश्वव्यापी रुपमै अनलाइन गेमले निकै लोकप्रियता हासिल गर्न थालेपछि  मेटा स्वामित्वको सामाजिक सञ्जाल एप फेसबुकले समेत एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ गेमिङ एप नै लन्च गरेको छ । यस्तै ई–कमर्स कम्पनी दराजले पनि ‘दराज फस्ट गेम्स (डीएफजी)’ शुरु गरेको छ ।

गेमिङ प्लेटफर्म दराज फस्ट गेम एपमा प्रयोगकर्ताहरूले निःशुल्क अनलाइन गेमहरू खेल्न पाइन्छ । यसले भने युवा तथा बालबालिकाहरुमा नकारात्मक प्रभाव पारिहरेकाले सचेत रहन विज्ञहरु सुझाउँछन् ।

आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता भएका कारण पछिल्लो समयका युवापुस्ता अनलाइन गेमतर्फ आकर्षित भइरहेको पाटन अस्पतालमा कार्यरत मनोचिकित्सक डा.विज्ञा शाह बताउँछिन् ।

उनका अनुसार अनलाइन गेममा राखिने रिवार्ड सुविधा, छिटोछिटो नयाँ चीजहरू र लेभलहरू आइराख्ने लगायतका फिचर्सहरूका कारणले पनि यस्ता गेमहरु खेलिरहुँ जस्तो लाग्ने हुन्छ ।

समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले त्यति हानी नगर्ने भएपनि यस्ता गेमहरुले युवामा मानसिक असर पुग्न सक्ने बहस बेलाबेलामा हुने गरेको उनले बताइन् । यस्ता गेमहरुको लत बसेमा मानिसमा एकोहोरो बन्ने, पढाइमा ध्यान नदिने वा डिप्रेसनमै पनि पुग्न सक्ने चेतावनी डा. शाहले दिइन् ।

यसका साथै शारीरिक तथा मानसिक समस्यासँगै बच्चाहरुको सामाजिक तथा बौद्धिक विकासमा समेत असर पुग्न सक्ने उनको भनाइ छ ।

नेपालमा पछिल्लो समय धेरै अनलाइन गेमहरू चर्चित छन् । तीमध्ये केहीको बारेमा यहाँ उल्लेख गरेका छौँ ।

फ्री फायर

‘फ्री फायर’ युवापुस्तामा सबैभन्दा बढी लोकप्रिय बनेको अनलाइन मोबाइल गेमको सूचीमा ‘फ्री फायर’ पर्छ । ‘प्ले’ स्टोरबाट अहिलेसम्म करिब एक सय करोड भन्दा बढी मानिसले डाउनलोड गरिसकेको यो गेम नेपालमा पनि अत्याधिक लोकप्रिय अनलाइन गेम हो ।

सानो चार जनाको टिम बनाएर खेल्न सकिने गेममा मैदानमा गएर अन्य खेलाडीलाई मार्नुपर्छ । अन्त्यमा जुन टिम सुरक्षित रहन्छ उसले नै जित्छ ।

पब्जी मोबाइल

इन्टरनेटका माध्यमबाट विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये प्लेयर्स अननोन ब्याटल ग्राउन्ड (पब्जी) मोबाइल पनि एक हो ।

पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिन्छ । सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन् । यो गेम विश्वमा अत्यधिक खेलिने मोबाइल गेममध्येमा पर्छ । पब्जी पनि ‘फ्री फायर’ जस्तै मोबाइल गेम हो यसमा भने विभिन्न म्याप र टेड्रिङ ग्राउन्डहरू रहेको छ ।

पब्जी मोबाइलमा एक पटकमा १ सय जना सम्म खेलाडीहरुले खेल्न पाउँछन् । यो गेममा कुनै एक म्यापमा गएर एक देखि चार जनाको टिम बनाएर अन्य सहभागीलाई मारेपछि विजेताले भर्चुअल चिकेन डिनर पाउँछन् ।

केही समयअघि मात्रै नेपालको संसदमै पब्जीमाथि प्रश्न उठेपछि सरकारले यो खेलमा प्रतिबन्ध लगाएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशले उक्त प्रतिबन्ध खारेज गरियो ।

कल अफ ड्युटी

मोबाइल अनलाइन गेमको लागि अर्को लोकप्रिय नाम ‘कल अफ ड्युटी’ हो । शुरुमा कम्प्युटरमा मात्र खेल्न पाइने यो गेम मोबाइलमा समेत खेल्न मिल्ने भएपछि  निकै  लोकप्रिय बनेको छ । अनलाइन गेमको रुपमा नेपालमा पनि यो गेम अत्यधिक चर्चित रहेको छ । एन्ड्रोइड तथा आइओएस दुवैमा उपलब्ध यो मोबाइल गेम युवा पुस्तामाझ निकै नै लोकप्रिय छ । टेनसेन्टको टिभी स्टुडियोले निर्माण गरेको यो गेम सन् २०१९ मा सार्वजनिक गरिएको हो ।

क्ल्यास अफ क्लान्स

यो पनि पछिल्लो समय निकै रुचाइएको धेरै साथीहरुसँग मिलेर खेल्न सकिने अनलाइन गेम हो । फिनल्यान्डको भिडियो गेम कम्पनी सुपरसेलले यसको विकास गरेको हो । यो गेम सन् २०१२ मा आइओएस र ३० सेप्टेम्बर २०१३ मा एन्ड्रोइडको लागि उपलब्ध भएको थियो ।

लुडो

गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने यो रमाइलो खेल प्रविधिको विकाससँगै अनलाइनमा उपलब्ध भएपछि सबैका लागि लोकप्रिय नै भएको छ । नेपाल र भारतसहित दक्षिण एसियाली देशहरुमा लुडो लोकप्रिय छ । यसका अलावा अमेरिकादेखि ब्राजिल र सुडानसम्म लुडो खेलिन्छ ।

अहिलेसम्म प्ले स्टोरबाट यो एप १० करोड बढी प्रयोगकर्ताले डाउनलोड गरिसकेका छन् । चिया पसलमा चिया खाँदा होस या बसपार्कमा कसैलाई कुर्दा या साथीहरुसँग पार्क बसेर समय बिताउन नै किन नहोस सजिलै खेल्न सकिने गेम भनेको लुडो हो ।

मोबाइलमा एप डाउनलोड गरेर हिँड्ने र चिया पसलमा साथीभाई भेट हुँदा चारतिर बसेर लुडोमा खेल्नेहरुको संख्या निकै ठूलो भइसकेको छ । लुडोका थुप्रै एपहरु गुगल प्ले स्टोरमा भेटिन्छन् ।

सर्प र भ‍र्‍याङवाला लुडो र चारकुने गरी लुडोका दुई प्रकार हुन्छन् । सर्प भर्‍याङवाला लुडो भने त्यति खेलिएको पाइँदैन । अनलाइनमै खेलिने लुडोका एपहरु थुप्रै छन् । यीमध्ये धेरै एप भारतीयहरु डेभलपरले बनाएका छन्। भारतीयले बनाएको ‘लुडो किङ’ अहिलेसम्म ३५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । नेपाली डेभलपरले पनि त्यस्ता एपहरू निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?