काठमाडौँ– ‘अनायासै आज तिमीसँग भेट्दा
आँधि चल्यो मनभित्र तिमीले हेर्दा…’
७५ वर्षको उमेरमा यी प्रेमिल शब्दहरुमा सुमधुर स्वर भरेर आख्यानकार पद्मावती सिंहले गीत संगीतमा २५ वर्षपछि पुनरागमन गरेकी छिन् । उनकै शब्द र संगीतकार राजु सिंहको संगीतमा यो गीत हालै मात्र सार्वजनिक गरिएको हो ।
आख्यानकार सिंहको शब्द सिर्जना र सुमधुर स्वरको सबैले खुलेर प्रशंसा गरेका छन् ।
उपन्यास तथा कथा सिर्जनाका माध्यममा आख्यानकारका रुपमा आफूलाई स्थापित गरेकी सिंहको पछिल्लो गीति सिर्जनाले धेरैलाई आश्चर्यमा पारेको छ ।
त्यसो त नेपाली साहित्यमा पद्मावतीको विशिष्ट स्थान छ । उनले रचना गरेका कथा र उपन्यासको साहित्य क्षेत्रमा अतुलनीय योगदान छ । उनले एक दर्जनभन्दा बढी कृति रचना गरेकी छिन् ।
दुई हप्ताअघि पद्मावतीले आधुनिक गीत ‘अनायासै आज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो उनको सांगीतिक फाँटमा कमब्याक पनि हो ।
एक त बुढ्यौली उमेरमा पनि कोकिल स्वर । अर्कातिर लेखनमा समेत जमेकी पद्मावतीको संगीत सिर्जना, क्षमता र रुचिबारे धेरैलाई थाहै थिएन । समकालीन स्रष्टा उनका गीति रचना र गायकी क्षमताबारे जानकार भए पनि त्यसपछिका पुस्ताहरुमा उनी कथाकार र उपन्यासकारकै रुपमा साहित्य क्षेत्रमा परिचित थिइन् ।
संगीतकार राजु सिंह समेत उनको स्वर सुनेर एकछिन चकित भएका थिए । राजुले पनि उनलाई साहित्यकारका रुपमा मात्र नजिकबाट नियालेका थिए । शुरुमा गीत रेकर्डमा उनलाई गाह्रो होला कि भन्ने राजुलाई लागेको थियो ।
गीत रेकर्डिङको कुरा चलेपछि मात्र उनले स्वर रेकर्ड गरेर पठाएकी थिइन् । सिंहले त्यसमा धुन भर्ने काम गरे । केहीदिनपछि नै सहजै रुपमा गीत रेकर्ड भयो ।
‘यो उमेरमा पनि उहाँको स्वर सुनेर म त चकित भएँ,’ उनले भने, ‘साहित्यमा उहाँजस्तो प्रसिद्ध मान्छे संगीतमा फेरि आउनुभएको छ, यो संगीत क्षेत्र र अहिलेको जेनेरेसनको लागि ऊर्जा पनि हो ।’
आफ्नो गीत रेकर्ड भएर बाहिर आएपछि आख्यानकार सिंहलाई आनन्दसँगै संगीत क्षेत्रमा आएको ठूलो परिर्वतनले झन चकित पारेको छ । संगीतमा प्रयोग हुने उच्चतम प्रविधिले गीत सिर्जनालाई निकै सहज बनाएको रहेछ भन्ने उनले पत्तो पाइन् ।
चाहिएको ठाउँमा रोकेर पुनः गाउन मिल्ने, नमिलेमा काँटछाँट गरेर थपथाप गर्न मिल्ने र स्वरलाई समेत मिलाउने प्रविधिको विकासले उनलाई आश्चर्यचकित बनायो ।
‘मैले त रिहर्सल नै नगरिकन सिधै गएर गाएँ, खासै गाह्रो भएन, अहिले त बिग्रे पनि पछि मिलाउन मिल्ने रहेछ, आधा गाएर अल्छि लागे भोलि गएर रेकर्ड गर्न पनि मिल्ने, अहिले त पहिलेभन्दा धेरै सजिलो भएछ’, उनले गीत रेकर्डिङको अनुभव सुनाइन् ।
यसअघि वि.सं. २०३३ सालमा रेडियो नेपालमा स्वर परीक्षणको त्यो समय अझै उनको स्मरणमा ताजै छ ।
वाद्यवादनसँगै गाउनुपर्ने, एक ठाउँमा बिग्रेमा पुन: दोहोर्याएर शुरुदेखि गाउनुपर्ने र एउटा गीतलाई लामो समयसम्म ‘रिहर्सल’ गर्नुपर्ने ती दिनहरुलाई उनले सम्झिइन् ।
शिवशंकर, नातीकाजी जस्ता संगीतका हस्तिहरुका अगाडि बाजाको तालमा पहिलोपटक गाउँदा केही हडबडाए पनि उनी स्वर परीक्षामा उत्तीर्ण भएकी थिइन् । त्यसपछि लगत्तै उनकै शब्दमा ज्ञानबहादुर श्रेष्ठको संगीतमा ‘थाहा नभएको होइन मलाई’ बोलको गीत रेडियो नेपालबाटै रेकर्ड भयो ।
रेडियो नेपालको सञ्चार विभाग अधिकृतमा जागीरे जीवनकै समयमा तत्कालीन कार्यक्रम सञ्चालक दामोदर अधिकारीले नै उनलाई स्वर परीक्षाको चाँजोपाँजो मिलाइदिएका थिए ।
त्यतिबेला उनी साहित्यमा जमिसकेकी थिइन् । खासमा बाल्यकालदेखि नै नृत्य र संगीतमा उनको विशेष रुचि थियो । नृत्यको सौखलाई छोडे पनि संगीतलाई भने उनले छोड्न सकिनन् ।
वि.सं. २०३३ सालदेखि संगीतमा गायिकाको पहिचान बनाएकी पद्मावती संगीतमा भन्दा साहित्य सिर्जनातिर बढी लागिन् । साहित्यतिर नै उनको बलियो पहिचान स्थापित भयो । २०३३ सालदेखि २०५५ सालसम्ममा उनले दुईवटा गीति एल्बम ‘जीन्दगीका गीतहरु’ र ‘धेरै दिनपछि’ सार्वजनिक गरिन् ।
यी दुई एल्बममा उनका झण्डै २५ गीत समावेश थिए । आधुनिक र भजन गीत गरी झण्डै ४० को हारहारीमा गीतहरु गाएको उनी सुनाउँछिन् । ‘धेरै दिनपछि’ एल्बममा समावेश ‘धेरै दिनपछि तिमी याद आयौ’ बोलको गीत गोठालो फिल्ममा दीपा झा र बाबुल सुप्रियोले स्वर दिएका छन् ।
यसले पनि उनलाई संगीतमा चिनाउने काम गर्यो । उनको ‘साउन आयो रिमझिम गरी परदेशी आएन’ बोलको गीतले पनि निकै चर्चा पाएको उनी स्मरण गर्छिन् । गीतमा कवि दैवज्ञराज न्यौपानेको शब्द र राम थापाको संगीत समावेश थियो ।
वि.सं. २०५५ सालपछि भने लेखनमा अझै उनी अभ्यस्त भइन् । विभिन्न परियोजनामा जागीरे जीवन र साहित्य सिर्जनाले उनको सांगीतिक पाटो ओझेल पर्यो । ६० को दशकपछि संगीत क्षेत्रमा प्रविधिले फड्कोले संगीत सिर्जना खर्चिलो विधामा परिणत भयो ।
यसले गर्दा पनि उनको सांगीतिक सिर्जना धीमा गतिमा अगाडि बढ्दै ठ्याक्कै रोकियो ।
रेडियो नेपालमा गीत रेकर्डिङ गर्दा गाउनेको खर्च हुँदैन थियो । गाए बापत केही रुपैयाँ रकम समेत गायकगायिकाले पाउँथे । अहिले एउटा गीत सामान्य रुपमा बाहिर ल्याउन पनि कम्तिमा एक लाख रुपैयाँ लाग्ने उनको भनाइ छ ।
भिडियोसहित ल्याउनैपर्ने संगीत बजारको बाध्यताले रहर हुँदाहुँदै पनि गीत सार्वजनिक गर्न नसकिरहेको उनले बताइन् ।
‘म संगीतबाट कहिल्यै टाढा भएको छैन । लेखन र काममा बढी व्यस्त भएँ । सिर्जनामा नदेखिएपनि मेरो मनबाट संगीत हटेको थिएन,’ उनले सुनाइन् ।
अहिले प्रत्येक दिनजसो सिंह हिन्दी तथा नेपाली गीतहरु गुनगुनाउँदै सामाजिक सञ्जालमा शेयर गर्छिन् । खासमा सामाजिक सञ्जालमा उनको स्वर सुन्नेहरुले नै उनलाई पछिल्लो गीत रेकर्ड गर्न हौसाएका थिए ।
करेसाबारी र फूलबारीमा गुनगुनाउँदै अहिले उनको समय बितिरहेको छ । उनी अधिकांश सर्जकका गीतहरु सुन्छिन् । राम्रो लाग्ने बित्तिकै सामाजिक सञ्जालमार्फत अरुलाई पनि सुनाउँछिन् ।
प्रविधिले जति सजिलो बनाएको छ, त्यति नै संगीतमा साधनाको कमी हुन सक्ने उनको ठहर छ । संगीत होस् या हरेक क्षेत्रमा साधना अनिवार्य हुने उनको मत छ ।
अब एकल सांगीतिक साँझ गर्ने उनको रहर छ ।
‘मेरो स्वर अझै बिग्रिएको छैन । एकल सांगीतिक साँझ गर्ने रहर छ तर खर्च धेरै लाग्ने रहेछ । थुप्रो रहर मात्र बोकेर के गर्ने ? कोहीसँग मिलेर गर्न पाए सजिलै हुन्थ्यो होला,’ उनले आफ्नो रहर सपनाको पोको खोलिन् ।
उनकै गीत सुनेर अन्य अग्रज साहित्यकार समेत गीत संगीततर्फ आउन हौसिएको संगीतकार सिंहले सुनाए । आख्यानकार सिंहको रहर र सपनाले यो समयको सांगीतिक क्षेत्रमा समेत साधनामा ठूलो उत्प्रेरणा मिलेको उनको मत छ ।
लेखनमा अझै सक्रिय
वि.सं. २०२२ सालमा आरती साप्ताहिकमा ‘पत्थरको हृदय’ कथा प्रकाशित भएपछि उनी नेपाली साहित्यमा सक्रिय भइन् । लेखनमा मात्र नभएर ‘गुञ्जन’ जस्ता थुप्रै साहित्यिक संस्थाहरुमा समेत उनी अझै आवद्ध छिन् । वि.सं. २०५४ सालमा स्थापना भएको ‘गुञ्जन’ साहित्यिक संस्थाकी उनी संस्थापक अध्यक्ष समेत हुन् ।
‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावतीका कथाहरु’, मौन स्वीकृति, ‘समय–दंश’, ‘एक झुल्को घाम’ र ‘पद्मावती सिंहका प्रतिनिधि कथाहरु’ गरी आठ वटा कथासंग्रहहरु प्रकाशित छन् ।
उनका प्रकाशित उपन्यासहरुमा ‘मौन अक्षर’, ‘समानान्तर आकाश’ र ‘निःशब्द यात्रा’ छन् । अहिले उनी चेपाङ समुदायको यथार्थ कथालाई आफ्नो उपन्यासमा ल्याउने जोशमा छिन् । समुदायमा पुगेर अध्ययन र अनुसन्धान गरिसकेकी उनी लेखनलाई शुभारम्भ गर्ने तयारीमा जुटेकी छिन् ।
काठमाडौंको ओम बहालमा जन्मिएकी उनले ग्रामिण परिवेश र दुःखलाई नजिकैबाट देख्न र भोगिनन् । उनको हजुरबुवा र बुवा समेत दरवारसँग नजिक थिए । बुवा दरवारको बडा सुब्बादेखि मन्त्रि समेत भए ।
यद्यपि ‘समानान्तर आकाश’ जस्तो चर्चित कृतिमा उनले ग्रामिण समाजको दुःख र महिलाको अवस्थालाई उतारेकी छिन् । अहिले चेपाङ बस्तीको दुःखलाई उतार्ने सुरमा छिन् । उनलाई लाग्छ, नेपाल भनेको काठमाडौं मात्र होइन ।
जागीरकै सिलसिलामा उनी परिवार नियोजन संघमा एक दशकभन्दा लामो समय ‘नियोजन’ पत्रिकामा सम्पादकको भूमिमा रहिन् । यसबाट उनले धेरेथोर समाज बुझिन् ।
‘सेभ द चिल्ड्रेन’मा प्रोजेक्ट म्यानेजर भएर काम गर्दा उनी थुप्रै गाउँ–गाउँमा पुगिन् । त्यहाँ उनले यथार्थ नेपाल देखिन् । महिलाको दुःख, पीडालाई उनले कामसँगै आफ्नो साहित्य सिर्जनामा समेत उतारिन् ।
उनका अनुसार प्रोजेक्ट कार्यको क्रममा गोरखा पुग्दा देखेको दृश्यहरुले उनको उपन्यास ‘समानान्तर आकाश’ जन्मिएको हो । त्यसमा ग्रामिण भेगका महिलाको अवस्था र उपन्यासको मुख्य पात्र यथार्थ भएको उनले सुनाइन् ।
‘मेरो लेखनमा हाम्रै समाजमा भएको यथार्थ कथाहरु नै छन्, हाम्रै समाज र मानिसहरुको कथा नै मैले लेखेकी छु’, उनले भनिन् ।
‘आइमाई पनि मान्छे हो र’ भन्ने शब्द उनले ग्रामीण भेगमा सुनिन् । त्यही शब्द र दृश्यलाई उनले उपन्यासमा उतारेकी छिन् । तामाङ, चेपाङ, गुरुङ, मगर, राई, ब्राह्मण, क्षेत्री प्रत्येक समुदायमा भएका फरक संस्कृति र परम्पराहरु लेखनमा आउनुपर्ने उनको भनाइ छ ।
साहित्य सिर्जना नै भएपनि कल्पनामा नभएर सत्यतथ्यमा आधारित भएर लेख्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय लेखक भन्दा पाठक विज्ञ भएको सुनाउँदै उनले लेख्ने सर्जकहरुलाई शोध र अध्ययनका आधारमा लेख्न सुझाइन् ।
समाजको यथार्थतालाई समाएर लेखेमात्र पाठकले आफ्नै कथाका रुपमा स्वीकार गर्छन् भन्ने उनलाई लाग्छ ।
त्यसैले त उनी बुढ्यौली उमेरमा पनि चेपाङ बस्तीको कथालाई अध्ययन अनुसन्धान गरेर जोश र जाँगरका साथ लेख्ने तयारी अवस्थामा छिन् । सकेसम्म यो वर्षभरिमा नै उपन्यास सकाउने उनको लक्ष्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया