हामी सबैले आवश्यकता अनुसार दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन मात्र खानुपर्दछ । दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुन दैनिक सेवन गर्दा बालबालिकाको आई क्यु लेबल समेत बढ्छ ।
मानव जातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रूपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न किसिमका पोषणयुक्त तत्त्वहरूको अति आवश्यक पर्दछ । यी आवश्यक तत्त्वहरूमध्ये आयोडिन पनि एक महत्त्वपूर्ण खनिज तत्त्व हो ।
जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरूलाई दैनिक रूपमा आवश्यक पर्दछ । गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भैसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा समेतमा अवरोध आउँछ ।
नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले हामी नेपालीहरूले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्रा सरल उपाय हो ।
ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएता पनि यसलाई भण्डारण गर्दा र बजारमा खुल्ला रूपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ ।
प्रायजसो ढिके नुन फोहोर देखिने र धोएर खानामा राख्ने चलन भएकाले पनि यसमा भएको आयोडिन पखालिएर आफैँ नास हुन्छ ।
त्यसैले पनि दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ । यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनी प्रमाणित गरेको छ ।
साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण व्यक्तिको दिमागको विकास तीव्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्त्वको समेत पूर्ति हुने भएकाले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ ।
दैनिक खानामा साधारण स्वस्थ व्यक्तिको लागि १५० माइक्रो ग्राम र गर्भवतीको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्त्वको मात्राको आवश्यकता पर्दछ।
सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिह्न भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौँ । ढिके तथा खुला बेचिने नुनबाट पर्याप्त मात्रमा आयोडिन पाउन नसकिने भएकाले त्यस्ता नुनको प्रयोग नगरौँ ।
आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरीकाले राख्ने गरौँ । आयोडिन नुन लाई नपखाली खाऔँ । आयोडिन युक्त नुनलाई दाल तरकारी पाकेपछि मात्र राख्ने गरौँ ।
आयोडिनका फाइदाहरू
गर्भावस्थामा:
गर्भवती महिलाले दैनिक रूपमा आयोडिन तत्त्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्त्वपूर्ण फाइदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तै गर्भको बच्चा तुहिने मरेको बच्चा जन्मने जस्ता समस्याहरू बाट सजिलै बच्न सकिन्छ ।
बाल्यावस्था:
बाल्यावस्थामा पनि आयोडिन तत्त्वको सही मात्राको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरू फुर्तिला र तन्दुरुस्त हुनुको साथै दिमागीय रूपमा अब्बल देखिन्छन् ।
किशोरावस्थामा:
किशोरावस्थामा पनि आयोडिन तत्त्वको सही र आवश्यक मात्राको प्रयोगले किशोर–किशोरीहरूको मानसिक तथा शारीरिक क्षमतामा वृद्धि हुन्छ । जसले गर्दा पढाई–लेखाइका साथ साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । किशोर किशोरीहरूको आइक्यु लेबल बढाउनको लागि दैनिक खानामा आयोडिन तत्त्वको मात्राको आवश्यकता देखिन्छ ।
आयोडिन तत्त्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसहरूको मानसिक तथा शारीरिक विकासमा आवश्यक विकास हुन्छ। जसले गर्दा गलगाँड र हाइपोथाइरोडिजम जस्ता घातक रोगहरू हुनबाट बच्न सकिन्छ। त्यसै कारणले पनि आयोडिन तत्त्वको आवश्यक र सही मात्रामा प्रयोग गर्नु आवश्यक छ ।
जान्नै पर्ने केही महत्त्वपूर्ण कुरा
–ढिके तथा खुल्ला नुनमा मानिसहरूको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्ण रूपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले हामीहरूले खानको लागी उपयुक्त हुँदैन । त्यसैले यो कुरा जान्न आवश्यक छ ।
–बालबालिकाको चिह्न भएको प्याकेटको नुन शुद्ध र सफा हुनुको साथै यसमा सहि मात्रामा आयोडिन तत्त्व मिसाइएको हुन्छ । त्यसैले दैनिक प्रयोगमा दुई बालबालिकाको चिह्न नै भएको आयोडिन युक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
–दुई बालबालिकाको चिह्न नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्त्व भएको नुनलाई दिने प्रमाणित चिह्न हो । त्यस कारणले पनि दुई बालबालिकाको चिह्न भएको नुन दैनिक प्रयोगमा कुनै सङ्कोच लिनु पर्दैन ।
–प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौँ।
–तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौँ ।
–नुन राखी सकेपछि तरकारी छोपेर मात्र राख्ने गरौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया