मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संगीत

‘च्याङ्बा हो… म त तामाङको छोरो’

काठमाडौँ– ‘च्याङ्बा हो म त तामाङको छोरो लेकाली भोटे नभन

डम्फू र सेलो च्याङ्बाको मायामा परेपछि सक्दैन उम्कन ।’

स्टेजमा चढेर जब यही सेलो गीत दिल खोलेर गाउँछन्, सेलो गायक तथा गीतकार फूलकुमार बम्जनको छाती गर्वले फुलिन्छ ।

जति आम दर्शकको क्रेज बढ्छ, त्यति नै उनी आफ्नो स्वरलाई उँचो बनाउँदै यही लयलाई दोर्‍याउँछन् । उनलाई लाग्छ– यी शब्दहरु उनका लागि केवल गीत होइन, उनलाई आफू हुनु र आफ्नो सिङ्गो पहिचानको प्रतीक हो ।

त्यसैले त उनी सेलो गीतै मार्फत आफू र आफ्नो समुदायको पीडालाई पोख्ने गर्छन् ।

भन्छन्, ‘मैले मेरो समाजको कथा बोक्दा मलाई यही समाजले नै बोकेको छ, मैले म तामाङ हुँ भनेर गीतैबाट भन्न सकेँ, यसैमा गर्व लागेको छ ।’

पछिल्लो समय उनी सेलो संगीत सिर्जना क्षेत्रका निकै सक्रिय सर्जक हुन् । देश तथा विदेशमा हुने विभिन्न महोत्सव तथा कार्यक्रमहरुमा उनको व्यस्तता बढिरहेको छ ।

उनी जहाँ पुग्छन्, आम मान्छे र सीमान्तकृत समुदायको उत्पीडनका कथाहरुलाई डम्फूको धुनसँगै मिलाएर सुनाउँछन् । यही समानान्तर रेखामा उनी दुई दशकभन्दा लामो समयदेखि एकोहोरो हिँडिरहेका छन् ।

वि.सं. २०३७ सालमा सिन्धुली, कमलामाईस्थित खोल्मा डाँडामा जन्मिएका बम्जनले देशको सेवा र सिर्जनालाई सँगसँगै अगाडि बढाए । देशमा माओवादी जनयुद्धकै चरम समय २०५८ सालमा उनी नेपाली सेना सेवामा प्रवेश गरेका थिए ।

उनका अनुसार सेवामा प्रवेश गरेको केही समयमा नै उनको सिर्जना औपचारिक रुपमा सार्वजनिक भएको थियो ।

उनले भने, ‘ठ्याक्कै मिति याद गरिएन । सेनामा जागिरे भएपछि २०५९/०६० तिर मेघ दोङ जीको एल्बम आस्याङला जामेमा मैले लेखेको दुई वटा गीत थियो । त्यसमा संगीत चाहिँ प्रेम मोक्तान जीको थियो ।’

उनका अनुसार ६० को दशकबाट नै उनको औपचारिक संगीत यात्राले लय समात्यो ।

‘हेर्दा चेप्टो यो डम्फू तामाङ ताम्बाले बजाउने

डम्फू र तामाङ सेलोले दुनिया सबलाई नचाउने’

दोङको आवाजमा रेकर्ड भएको ‘आस्याङला जामे’मा समावेश यही गीत स्रोतामाझ लोकप्रिय बनेपछि उनी गीतकारका रुपमा चिनिए ।

यही गीत तीनताका भृकुटी मण्डपस्थित ल्होछार कार्यक्रममा गाउँदै गर्दा गायक दोङले रचनाकारका रुपमा उनको नाम लिँदा उनी स्टेज पछाडितिर लुकेको स्मरण गर्छन् ।

त्यतिबेला उनलाई एक त आफू सर्जकका रुपमा उभिन असहज लाग्यो भने अर्कातिर सेनामा जागीरको डर थियो । विना अनुमति नै उनी जागिर सँगसँगै गीतसंगीतमा पनि उत्तिकै दौडिरहेका थिए । जागीरकै सिलसिलामा उनको नाम सेनाभित्रै संगीत विभाग हेर्ने रानीशाखामा दर्ता भएको थियो ।

त्यो समयमा उनले वरिष्ठ संगीतकार शुभबहादुर सुनामको समूहमा जी (ज्ञानेन्द्र) शाहको गीतमा बासुरी बजाउने अवसर पाए । त्यसले उनको संगीत यात्रामा अझै सहज बनाइदियो ।

खासमा गाउँमा बाल्यकालदेखि नै उनी बासुरी बजाउँथे । हजुरआमा र आमाहरुले गाउने फापरे सेलो गीतको लय उनले बाल्यकालमै सिके । कहिले बासुरी कहिले डम्फूको लयमा उनका गीत,  कविताहरु सिर्जना भए ।

‘आमाको काखमा फापरे सेलो सुनेर हुर्किएको मान्छु हुँ म, गाउँघरको जात्रामा त्यही गीत सुनेर हुर्कियो, सेलो संगीत त मेरो रगतमै छ,’ उनी गर्वका साथ सुनाउँछन् ।  

औपचारिक रुपमा गीत रेकर्ड भएपछि उनले सेलो संगीतमा पछाडि हेर्नुपरेन । गायक दोङ लगत्तै वरिष्ट गायिका इन्दिरा गोलेले आफ्नो एल्बम ‘सगुनपोङ’का लागि उनलाई गीत लेखिदिन आग्रह गरिन् । एल्बमका लागि उनले लेखेको गीत ‘बिँडीमा थान्बा काम्सारी’ लाई समेत स्रोताले निकै मन पराए ।

गायिका गोलेको स्वर रहेको उक्त गीतमा वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङको संगीत रहेको छ । उक्त गीतका लागि उनलाई गोलेले ३५ सय रुपैयाँ पारिश्रमिक दिएकी थिइन् ।

संगीतमा उनको त्यो पहिलो कमाइ थियो । जुनबेला सेनामा उनको मासिक तलब २८ सय रुपैयाँ थियो । त्यसपछि भने उनले आफ्नो सिर्जनालाई अझै सक्रिय बनाएर अगाडि बढाए । २०६५ सालपछि भने उनी लोकप्रिय सेलो संगीतका सर्जकका रुपमा चर्चामा आए ।

२०६५ मा चन्द्रकुमार दोङको ‘शिखर सेलो’ नामक एल्बमको ‘ए’ साइडतर्फ उनको सिर्जनामा परदेशीको विरह भाव बोलेको सेलो भाका समावेश थियो ।

‘म छोरो परदेश गइबस्दा, गाउँघर शुन्य भइबस्दा

आपाले बाटो हेर्छन् रे, आमाले आँशु झार्छिन् रे’

वरिष्ठ गायक तथा संगीतकार दोङ र वरिष्ठ गायिका गोलेको स्वरमा बजारमा आएको गीतले उनलाई लेखनमा निकै बलियोसँग स्थापित गर्ने काम गर्‍यो । चरम द्वन्द्वकालमा सेनाको जागीर जीवनमै उनले यो गीत सिर्जना गरेका थिए ।

इराकमा १२ जना नेपालीहरु मारिएको घटना र आफ्नै नजिकका साथीभाइहरु परदेशिएको पीडालाई समेटेर उनले उक्त गीत लेखेका थिए । यही यथार्थ पीडा समेटिएको गीतले आम जनसमुदायमा प्रभाव पारेको थियो । अडियो लोकप्रिय भएपछि यसको भिडियोमा बम्जनले नै अभिनय गरे ।

शान्तिसेना मिसन अन्तर्गत लेबनानमा जानुपूर्व सार्वजनिक नगर्ने शर्तमा उनी नेपाली सेनाकै पोसाकमा भिडियोमा अभिनय गरेका थिए ।

‘शान्ति सेनाका लागि उड्ने दिन नजिकै आएको थियो, यही भिडियोले उता मिसनमा जान गाह्रो हुन्छ भनेर म उडेपछि मात्र भिडियो बाहिर आयो, छ महिनापछि आउँदा त म र मेरो गीत त पूरै हिट भइसकेछ,’ उनले स्मरण गरे ।

सेनाका साथीहरु लगायत सबैले एयरपोर्टमै उनको सिर्जनाको तारिफ गरे । ब्यारेकभित्र थोरैले थाहा पाएको उनको सिर्जना सबैले थाहा पाए । त्यतिबेला भने उनी केही सजक बनेका थिए । किनकी सेनाको नियम र अनुशासनको दायरालाई छेडेर उनी सिर्जनाकर्ममा लागेका थिए ।

बेला–बेलामा समूहकै सदस्यमार्फत उनको सिर्जनाबारे माथिल्लो तहसम्म कुरा पुग्थ्यो । यद्यपि सेलो संगीत सिर्जनाको हुटहुटीले उनलाई अडिग बनाइ राख्यो । सेनामा आफ्नो कार्यतालिका सकिने बित्तिकै जुनसुकै अवस्थामा पनि सिर्जनामा लागि हाल्थे ।

जागीर जीवनसँगै नीति, नियम र अनुशासन जस्ता सिमानाहरुले उनको सिर्जना कर्म झन बलियो र अर्थपूर्ण बनायो । 

छहरा सांस्कृतिक टोली’ ले बदलिएको बम्जनको बाटो

२०५० सालतिर जतिबेला बोम्जन भर्खर बाहिरी कुरा बुझ्ने हुन थालेका थिए, त्यतिबेला उनको गाउँमा माक्र्सवादी विचार धारा बोकेका समूहको प्रवेश भयो ।

त्यही टोलीले ‘छहरा सांस्कृतिक टोली’ गठन गरेको थियो । यसले गीतसंगीत र छलफल मार्फत नै वर्गीय चेतनाका विचारधाराहरु प्रभाव गर्ने काम गर्थ्यो । त्यसबाट नै उनले तामाङ लगायत सीमान्तकृत समुदायबारे अझै गहन रुपमा बुझ्ने मौका पाए ।

त्यही टोलीमा उनी बासुरी बजाउनेदेखि नाटक देखाउने गतिविधिहरुमा सामेल भए । तामाङ समुदायको इतिहास र संस्कृति केलाउने ‘जिक्तेन तामछ्योइ,’ ‘ताम्बा काइतेन,’ जस्ता पुस्तकहरु उनले यस अघि नै अध्ययन गरिसकेका थिए ।

टोलीले उनलाई झनै वर्गीय क्रान्ति र पहिचानको कुरामा होमिने बाटो देखाउने काम गर्‍यो । उनले आफूलाई चिनियाँ क्रान्तिका नायक माओत्से तुङकै रुपमा देख्न थाले ।

यही कुराले गाउँमा बस्न जोखिम भएपछि उनी गाउँमा कुरिलो बेचेर जम्मा भएको ७ सय ४० रुपैयाँ जति पैसा बोकेर २०५६ सालमा काठमाडौं पसेका थिए ।

त्यतिबेला साँढे दुई वर्ष उनी पाटन औद्योगिक क्षेत्रमा पश्मिना कपडामा रङ भर्ने काम गरे । त्यहाँ पनि कामदारका रुपमा आफूजस्तै जाति र वर्गहरु मात्र देखे । त्यसले उनको हृदयमा झनै झट्का पर्‍याे । यता काठमाडौंको बसाइँ उता घरमा रहेकी आमाको मायाले उनको छाती पोल्थ्यो ।

सानैमा बुवालाई गुमाएका उनी आमाकै ममताको छहारीमा हुर्किए । आमालाई छोराले संस्कार र परम्परा भुलेर गलत बाटो समात्ला भन्ने पीर थियो ।

‘वनको काँडालाई तिखो पार्नु पर्दैन, आफैं तिखो हुन्छ’ भन्ने आमाले बाल्यकालदेखि यौवनकालसम्म सुनाएको भनाइले उनी केही बलियो हुन्थे ।

त्यही भोगाइहरु उनी घरि कविता त घरि गीत र साथीभाइलाई पठाउने चिठीपत्रमा उतार्थे । त्यही सिलसिलामा नै उनी नेपाली सेना भए । सेनाका कार्यरत रहँदा समेत उनले विभेदका खाडलहरु थुप्रै देखे । खाना बनाउने र अन्य सामान्य काम गर्नेहरु ‘पिपा’ पदमा उनले अधिकांश तामाङहरु नै देखे ।

राज्यले ज्यान मास्न पाउने गरी ‘मासिन्या’ दर्जामा राखेको तामाङ जाति र उसैको लागि सेनामा राखिएको ‘पिपा’ पदबारे उनले गहिरिएर सोचे ।

उनी यही कुराले छटपट्टिन्थे र त्यसलाई शब्दमा उतारिदिन्थे । उनका यही शब्दहरु नै लाखौं तामाङ समुदाय र उत्पीडन वर्गको बुलन्द आवाज बन्यो ।

‘तामा ङ्यान्गो’, ‘लादाम मोने म्ला फुल्सी’, ‘जोबन छार्जिम’, ‘मायाको दुरबिन’, ‘ताक धुम धुम’ लगायत उनको पछिल्लो सिर्जना ‘मायामा नेल’ सम्ममा उनले मायाप्रेम, जातिय पहिचान, संस्कृति, विभेद र उत्पीडनका विषयमा बोलेका छन् ।

सेनामा रहँदा उनले सिंहदरवार भित्र र बाहिरको पर्खाललाई पीडितको आँखाबाट नियाल्ने मौका पाए । उनको सिर्जनालाई जागिरे जीवनका अनुभवहरुले झनै मलजल गरेको उनको भनाइ छ ।  

उनका एक भन्दा बढी गीतहरुमा त्यसको झण्डै आधा रचनामा उनले स्वर समेत भरेका छन् । पछिल्लो समय गायनमा पहिचान बनाए पनि उनी आफूलाई गीतकार भन्न रुचाउँछन् ।

किनकि उनको स्वरले भन्न नसकेका कैयौं शब्दहरु उनी गीति सिर्जनामा पोख्छन् ।

उनी भन्छन्, ‘मैले देखेको र भोगाइका पीडाहरुले मेरो सिर्जना धारियो बनेको छ, म अरु दाजुभाइहरु जसरी खाडीमा जानुपरेन, मलाई आफ्नै जाति र पिछडिएको वर्गको कलाकार हुनु थियो ।’

नयाँ पुस्तामा सेलो संगीतमा आउने संख्या देखिएपनि समुदायको इतिहास र संस्कृतिको पाटो ओझेल परेको उनले महसूस गरेका छन् । तामाङ सेलो गीत भन्ने बित्तिकै नाक खुम्चाउने त्यो बेलाको उनले भोगेको जस्तो समय अहिले छैन ।

त्यही भोगाइले उनलाई सेलो संगीतमा स्थापित गरायो । आजको पुस्ताले उत्पीडन, विभेद र अभावहरु अनुभूति गर्न नपाएकै कारण सिर्जनामा मौलिकता नदेखिएको उनलाई लाग्छ । अरुले बनाएको बाटो हिँडेर कतै नपुग्ने कुरा उनी नयाँ पुस्तालाई सुनाउँछन् ।

सेनाबाट अहिले उनले अवकास लिएर अहिले सिर्जनाकर्मसँगै तामाङ भाषा र संस्कृति संरक्षणकै अभियानमा छन् । विश्वको एक मात्र तामाङ भाषाको मासिक पत्रिका ‘तामाङ डाजाङ’का समेत उनी अध्यक्ष समेत हुन् । उनी आफूलाई जातीय संस्कृति, भाषा र पहिचानलाई बोकेर हिँड्ने सिपाहीका रुपमा चिनाउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?