मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ श्रमिक दिवस : मजदुरीमै बित्यो जीवन

काठमाडौँ – निधारमा दाम्लोको दाग साक्षी छ, उनी मजदुरी गर्छिन् । दिनभरी पाखुरा खियाएपछि मात्रै उनको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५ औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधैं झैँ कम्मरमा पटुकी बेरेर उनी इँटा, बालुवा र ढुङ्गा बोक्न गइन् । 

विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर उनले आधा जीवन मजदुरीमै बिताइसकेकी छन् । बानेश्वरस्थित एउटा बन्दै गरेको घरमा उनले इँटा र बालुवा ओर्साने काम पाएकी छन् । “शारीरिक रुपले जति कठिन काम छ, उति नै जोखिम पनि छ”, उनी भन्छिन्, “यही काम पाउन पनि ६ महिना कुर्नु पर्‍याे ।” विसीका लागी श्रम गर्न पाउनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा महत्वपूर्ण समयमै भने जति पारिश्रमिक पाउनु हो । धादिङबाट उनी दुई वर्ष अघि काठमाडौं परिवारसहित आएकी हुन् ।

 काठमाडौंमा रोजगारी पाउने आशा बोकेर आएकी विसी दुःख गरे अनुसार पारिश्रमिक नपाएको बताउँछिन् । “दिनभरी काम ग¥यो, साहुले भने जति ज्याला दिँदैन,” उनी भन्छिन्,“काम नगरौँ केटाकेटी भोकै पर्छन् भन्ने चिन्ता हुन्छ ।”

ठेकेदारमार्फत रकम बुझ्ने हुँदा पूरै पारिश्रमिक नपाउने गरेको विसी बताउँछिन् । “रकम थोरै भयो भन्यो भने अरूलाई काममा लैजान प्रतिस्पर्धा चल्छ । त्यसैले जस्तोसुकै अन्याय भए पनि सहनुपर्ने अवस्था छ”, विसीले भनिन्–“ बेरोजगारी धेरै छ, थोरै ज्यालामा पनि काम गरिहाल्छन्, अझै महिलालाई त आधाको पनि आधा पारिश्रमिक दिने चलन छ ।”

यस्तै शङ्खुवासभाकी राममती तामाङ पनि घर बनाउन मजदुरी गर्छिन् । महिना भरि एउटाको घरमा कपडा धुँदा रु १० हजार मात्रै पारिश्रमिक लिने गरेको उनले बताइन् । यतिले खर्च पुग्दैन । त्यसैले उनी एक महिनामा तीनवटा घरमा कपडा धुने गरेको बताउँछिन् । “समयमै तलब दिँदैनन्”, तामाङ  भन्छिन्, “दुःख गरे जति कमाइ हुने भए श्रीमान् विदेश पठाउनुपर्दैन थियो ।” उनका श्रीमान् रोजगारका लागि विदेशमा छन् ।  

पोखराका ज्ञानु गुरुङ काठमाडौँमा पढ्न आइन् । घरको खर्चले महँगी धान्न सकेन । उनले विकल्पमा काम दोहोरी साँझमा गीत गाउने काम रोजिन् । रात भरी गाउनुपर्ने मध्यरातमा कोठामा आउनुपर्ने । त्यसमा पनि समयमै तलब नपाउने उनले भोग्नु परेको पीडा हो । मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई त्यति सम्मानित दृष्टिले हेरिँदैन भन्ने गुरुङले धेरै पटक महसुस गरेकी छन् । 

त्यसैले पेसाको पहिचान लुकाएर श्रम गर्नु अर्को मजदुरको मुख्य चुनौती हो । “दोहोरीमा गाउने भनेर धेरैले कोठै दिन मानेनन्”, उनले भनिन्,“त्यसैले अहिले अस्पतालको कर्मचारी भन्नुपरेको छ ।” ‘मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान भन्ने मूल नारा रहेको विश्व मजदुर दिवस’ले मनोरञ्जन क्षेत्रका मजदुरलाई छोएको छैन ।  

श्रममा समान रोजगार विकास गराउने हेतुले काठमाडौं महानगरपालिकाले श्रम बैंक स्थापना गरेको छ । महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीका अनुसार उक्त बैंकमा निवेदन पेस गरे आफ्नो दक्षता अनुकूलको जुनसुकै रोजगार उपलब्ध हुँदै आएको छ । “हामी कहाँ काम प्रतिको सम्मान नहुँदा श्रम बैंक प्रभावकारिता भने जति हुन नसकेको छैन”, कपालीले भनिन् । व्यक्तिको क्षमता र दक्षता अनुसारको श्रम बैंकले रोजगार दिने उनले बताइन् । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम ऐन कार्यान्वयनको अवस्था भयावह भएको बेला घरेलु मजदुरको स्थिति अझै कहाली लाग्दो रहेको सुनाए। महासङ्घले हालै प्रकाशन गरेको तथ्याङ्क अनुसार २१ दशमलव  सात प्रतिशत उद्योग र प्रतिष्ठानले न्यूनतम् पारिश्रमिक नदिएको अवस्था सार्वजनिक गरेको छ । यो विगतको तुलनामा ६ प्रतिशतले बढी हो । वि.सं २०७९ मा न्यूनतम् पारिश्रमिक नदिनेको सङ्ख्या १५ दशमलव  ३० प्रतिशत थियो । सरकारले रु १७ हजार तीन सय न्यूनतम् पारिश्रमिक तोकेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?