मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समाज

मानवीय लापरवाहीले नेपालभर डढेलो र आगलागीका घटना, कारवाहीको व्यवस्था कस्तो छ?

डढेलोका कारण वायुमण्डल प्रदूषित

अर्जुन धामी
247
Shares
आगलागीको फाइल तस्वीर ।

काठमाडौँ– गर्मीयाम शुरु भएसँगै देशभरि नै आगलागी तथा वन डढेलोका घटना बढिरहेका छन् । गर्मी मौसममा आगलागी तथा डढेलोका घटनामा वृद्धि हुने भएकाले मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ ।

वन तथा भ–ूसंरक्षण विभागका अनुसार नेपालमा हरेक वर्ष दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गर्छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययनले पनि सुख्खा मौसममा बढी हुने वन डढेलोमध्ये करीब ८९ प्रतिशत आगलागी मार्च, अप्रिल र मे महिनामा हुने गरेको निष्कर्ष निकालेको छ ।

वन तथा भु–संरक्षण विभागको तथ्याङ्क अनुसार गत वर्ष मात्रै डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने २ हजार ४ सय ४१ र संरक्षित क्षेत्रहरुको क्षेत्राधिकारभित्र पर्ने करीब ९ सय स्थानमा गरी जम्मा ३ हजार ३ सय ४१ स्थानमा डढेलो लागेको थियो ।

यस वर्ष भने अहिलेसम्म, डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने ३ हजार ७ सय ३७ स्थान र संरक्षित क्षेत्रहरुको क्षेत्राधिकारभित्र पर्ने करीब १ हजार १ सय ४८ स्थानमा गरी जम्मा ४ हजार ८ सय ८५ स्थानमा डढेलो लागेको वन अधिकृत गोविन्द कुमार श्रेष्ठले जोय नेपालसँग गरिएको कुराकानीमा बताए ।

यस वर्षको वैशाख १६ सम्मको मात्रै तथ्याङ्क हेर्दा संरक्षित क्षेत्र अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको १४ र बाँके राष्ट्रिय निकुञ्जको ५ गरी १९ र डिभिजनल वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने विभिन्न जिल्लामा करीब १ सय ३१ स्थानमा गरी जम्मा १ सय ५० स्थानमा डढेलो लागेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको हिउँदमा कम पानी परेका कारण सुख्खा बढ्दा फागुन यता आगलागी तथा डढेलोका घटनाहरु बढिरहेको बताएको छ ।

प्राधिकरणको तथ्याङ्कलाई हेर्दा वैशाख १८ गतेसम्म मात्रै देशभरी ५ सय ६० आगलागी तथा ३ सय ३८ वन डढेलोका घटना भएका छन् ।

जसमध्ये आगलागीका घटनामा परी १० जनाको मृत्यु र ४८ जना घाइते भएका छन् भने २ सय १९ आशिंक र ४ सय १२ पूर्ण गरी जम्मा ६ सय ३१ घरमा र २०७ गोठमा क्षति पुग्दा ३ सय १२ चौपायमा क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार वनमा लागेको डढेलो गाउँसम्म पुग्दा देशका विभिन्न स्थानमा गरी २ जनाको मृत्यु र ८ जना घाइते भएका छन् । वन डढेलोका कारण देशभरीका १ सय ५४ गोठमा क्षति पुग्दा २ सय ४१ पशुधनमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणले उपलब्ध गराएको यस वर्षको वैशाख १८ गतेसम्मको तथ्याङ्कमा झण्डै ३१  करोड १७ लाख ६८ हजार ४ सय रुपयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख गरिएको छ ।

यस्तै प्रधिकरणको वन डढेलो तथा आगलागी सम्बन्धी गत वर्षको तथ्याङ्क हेर्ने हो भने ४ हजार ४६ आगलागी र ४ सय ८८ वन डढेलोका घटना भएका छन् । जसका कारण करीब २ अर्ब ५४ करोड बढीको क्षति भएको प्रधिकरणको भनाइ छ ।

गतवर्ष पनि वनमा लागेको डढेलो उत्कर्षमा पुगी देशका केही स्थानमा गाउँ पस्दा ११ जनाको मृत्यु र २७ जना घाइते भएको तथ्याङ्क प्राधिकरणसँग छ । यस्तै करीब ५५ घरगोठ जलेर नष्ट हुँदा ६८ पशुचौपायामा समेत क्षति पुगेको प्राधिकरणले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै आगलागीबाट गतवर्ष १ सय ८ जनाको मृत्यु हुँदा ५ सय ४ जना घाइते भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

यसकारण उत्पन्न हुन्छ वन डढेलोको समस्या

अहिलेसम्म सुनिएका वन डढेलो तथा आगलागीका घटना मानवीय क्रियाकलापकै कारण हुने गरेको विश्लेषकहरु बताउँछन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक तथा प्रवक्ता वेद कुमार ढकालले कसैले घास पलाउने नाममा त कसैले शिकार र मनोरञ्जनका लागि आगो लगाउँदा डढेलोको समस्या उत्पन्न भएको बताए ।

‘हामी सबैले वन डढेलोलाई हलुका रुपमा लियौँ, जति पनि वन डढेलोका घटनाहरु आइरहेका छन्, ती सबै मानवीय क्रियाकलापकै कारण उत्पन्न भएका हुन्’, उनले भने ।

उनका अनुसार जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र तिनमा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो लाग्ने गरेको छ ।

यता इसिमोडको एक प्रतिवेदनले पनि नेपालमा वन विनाशको प्रमुख कारकका रुपमा वन डढेलोलाई देखाएको छ ।

यसले कस्ता समस्या निम्त्याउँछ?

नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताको धनी देशका रुपमा चिनिन्छ । खासगरी वन डढेलोको कारणले पृथ्वीको जैविक विविधतामा पनि असर पुग्ने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

विभागका उपमहानिर्देशक ढकालले पनि यो कुरामा सहमति जनाए ।

‘केही जनावर भागेर बाँच्न सक्ने भए पनि स–साना प्रजातिका जनावर तथा चराका बच्चा र गुँडहरु भने आगलागीको शिकार हुने गर्छन्, जसका कारण नेपालको मात्र नभई विश्वकै जैविक विविधतामै पनि असर परेको छ,’ उनले भने ।

उनका अनुसार ठूला जनावर डढेलोमा नपरे पनि साना तथा घर्सिने प्रजातिका जनावर भने डढेलोको चपेटामा परेका छन् ।

‘हामीले अहिलेसम्म के कति वन्यजन्तुहरु डढेलोको चपेटामा परे भन्ने यकिन तथ्याङ्क संकलन त गर्न सकेका छैनौं’, उनले भने ।

 केही जनावरहरु आगोको संकेत पाउने बित्तिक्कै भाग्ने वा सुरक्षित स्थानतर्फ जाने उनले सुनाए ।

यस्तै, पछिल्लो समय प्रमुख वातावरणीय समस्याको रुपमा नै देखिएको वायु प्रदुषणको समस्या देखिनुमा पनि वन डढेलो तथा आगलागी पनि एक कारण भएको वातावरणविद्हरुको भनाइ छ ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको सम्भावित वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा वातावरण विज्ञ भूषण तुलाधरले वन डढेलोले काठमाडौँ उपत्यकासहित देशभरि वायु प्रदूषण निम्त्याउनमा प्रत्यक्ष भूमिका खेलिरहेको धारणा राखेका थिए ।

केही महिनाअघि समयअघि जोय नेपालसँगको कुराकानीका क्रममा वातावरणविद् डा. भुपेन्द्र दासले पनि देशका धेरै स्थानहरुमा आगलागी तथा वन डढेलोका घटनाहरु बढिरहेकोले वायु प्रदुषण उच्च भएको बताएका थिए ।

उनका अनुसार वनजङ्गलमा लागेको डढेलोले वायु प्रदुषण मात्र नभई वन्यजन्तु तथा नेपालमा पाइने विभिन्न जडिबुटी, तथा प्रकृतिक सुन्दरतामा पनि क्षति पुगिरहेको छ ।

कानुन कार्यान्वयनसँगै वन डढेलो नियन्त्रणमा चुनौती नै चुनौती

डढेलो नियन्त्रण, व्यवस्थापनको लागि वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालयबाट वर्षेनी कार्यक्रमहरू सञ्चालन भएता पनि त्यसबाट खासै ठूलो उपलब्धि भने हात पार्न नसकेको गुनासो सरकार तथा यस क्षेत्रमा काम गर्ने निकायले खेप्ने गरेका छन् ।

पछिल्लो समय वन डढेलो व्यवस्थापनमा आगो निभाउने आधुनिक उपकरण तथा औजार र दक्ष जनशक्ति नहुनु मुख्य चुनौती रहेको वन्यजन्तु विभागका उपमहानिर्देशक ढकालको भनाइ छ ।

‘वन डढेलोलाई सबैले गम्भीर रुपमा लिनुपर्छ र नियन्त्रणका लागि जुट्नुपर्छ, नेपालका निकुञ्ज तथा वन क्षेत्र एकदमै ठूलो छ । यसकारण सरकारले मात्र या १–२ जनाले मात्र केही गर्न सकिँदैन,’ उनले भने ।

भौगोलिक बनोट, नियम कानूनको पालना र कार्यान्वयनमा कमी, यस क्षेत्रमा राज्यको प्रर्याप्त लगानी नहुनु, उपकरण तथा दक्ष जनशक्तिको कमी डढेलो व्यवस्थापनको मुख्य चुनौतीको रुपमा रहेको उनले सुनाए ।

यता अर्का वातावरण विज्ञ तुलाधरले पनि डढेलोका घटना कम गर्नमा सरकारका सबै सरोकारवाला निकाय एवम् आम नागरिकको समेत जिम्मेवारी रहनुपर्ने बताए ।

कानूनमा के छ?

वन तथा भू–संरक्षण विभागका वन अधिकृत श्रेष्ठले यसरी वन डढेलो वा आगलागी कसैले पनि गर्न नहुने र गरेको पाइएमा ‘मुलुकी अपराध संहिता २०७४’, ‘वन ऐन २०७६’ तथा ‘वन नियमावली २०७९’ अनुसार कार्वाही गर्ने सकिने बताए ।

मुलुकी अपराध संहिताको दफा २ सय ८५ मा आपराधिक उपद्रव गर्न नहुने प्रावधान राखिएको छ । जसको उपदफा ३ को (क) मा नेपाल सरकारले संरक्षण गरेको वा कानुन बमोजिम संरक्षित कुनै वन्यजन्तु वा वनस्पतिको प्रजातिको अस्तित्व नै नाश गर्ने उद्देश्यले राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र वा संरक्षित क्षेत्रभित्र, विश्व सम्पदा सूचीमा समावेश भएका क्षेत्र लगायतका स्थानमा आगो लगाएमा वा विष्फोटक पदार्थ प्रयोग गर्ने व्यक्तिलाई जन्मकैदको सजाय वा बिगो बमोजिमको जरिवाना गर्ने प्रावधान राखिएको छ ।

यस्तै ‘वन ऐन २०७६’को परिच्छेद १५ मा गरिएको कसुर र सजाय सम्बन्धी व्यवस्थाको दफा ४९ को (घ) मा पनि राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजायको भागिदार हुनुपर्ने उल्लेख गरिएको छ ।

सोही ऐनको दफा ५० को उपदफा ४ मा यस्तो कसुरबाट भएको क्षतिको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था गरिएको छ ।

‘वन नियमावली २०७९’ मा वन डढेलो नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको छ । जसमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि डिभिजनल वन अधिकृतले विशेष व्यवस्था गर्नसक्ने उल्लेख छ ।

डढेलोका कारण धनजनको क्षति भएमा सरकारले उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ ।  जसले स्थानीय प्रशासन र सुरक्षा निकायसँगै वन उपभोक्ता समूहलाई वनमा डढेलो लाग्न नदिन र नियन्त्रणका लागि जिम्मेवार बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?