मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मारीखोलाको ढुंगो: जनयुद्धको बाछिटाले जन्माएको कमरेड ‘अलपत्र’को कथा

उपन्यासमा माओवादी जनयुद्धको दश वर्षे युद्धको प्रवृत्ति चित्रण

काठमाडौँ– लेखक जेबी दर्लामीले हालै मात्र नेपालय पब्लिकेशन मार्फत आफ्नो पछिल्लो उपन्यास ‘मारीखोलाको ढुंगो’लाई पाठकमाझ पस्किएका छन् ।

आफ्नो कृतिलाई साहित्यप्रेमीमाझ छोडेर उनी आफ्नै थातथलो बुटवलतिर फर्किसकेका छन् । लेखक दर्लामीका अनुसार ‘मारीखोलाको ढुंगो’ युद्धको त्रासदी बोकेको एक योद्धाको आँखाले देखेको समाजको कथा हो ।

जनयुद्धका नाममा अनेक सपना बोकेर युद्धमा होमिएकाको सपना कसरी बिथोलियो? बिथोलिएका सपना बोकेर बाँचेका ती योद्धा र युद्ध हाँकेकाहरुले उनीहरुलाई कुन रुपमा किनारा लगाए भन्ने कथालाई उपन्यासले छिचोल्ने प्रयत्न गरेको छ ।

 ‘मारीखोलाको ढुंगो सिंगो युद्धको प्रवृत्ति होइन, एक जना योद्धाका रुपमा उभिएको पात्रको भोगाइ हो, जहाँ रहरले होइन, बाध्यता र विवशताले युद्धमा होमिएकाहरुको सपना बिथोलिएपछिका कथा क्रमलाई समेटिएको छ,’ दर्लामी भन्छन् ।

उपन्यासमा माओवादी जनयुद्धको दश वर्षे समय क्रमका भोगाइहरु चित्रित छन् ।   

वि.सं. २०५९ साल भदौ २३ गतेको दिन जेबीको स्मरणमा अझै पनि ताजै छ । तत्कालीन माओवादी विद्रोहीले एकाएक आक्रमण गरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कब्जामा लिएको थियो ।

राज्य र विद्रोही पक्षको भीषण युद्धले सदरमुकाम ध्वस्त भयो । त्यो दिन उनी कामकै सिलसिलामा सदरमुकाम (सन्धिखर्क) पुगेका थिए ।

त्यसको करीब चार वर्षपछि वि. सं. २०६३ मंसिर ५ गते माओवादी शान्ति प्रक्रियामा आएर मूलधारको राजनीतिमा प्रवेश गर्‍यो । त्यसपछि २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलका रुपमा उदायो ।

उत्पीडन, दलन र शोषणको विरुद्ध सीमान्तकृत वर्गका लागि भनेर उदाएको दलले आफूले हिँडेको बाटो मोडिदियो । त्यसपछि मुक्तिको बाटोमा हिँडेका हजारौं योद्धाहरुको सपना बिथोलियो र सबै तितरबितर भए ।

त्यसलाई नजिकैबाट नियालिरहेका दर्लामीको जनयुद्ध र जनयोद्धाको अवस्थाले मनमा हिर्काएर विचलित बनायो । जसरी युद्धमा लडेका योद्धाहरु अलपत्र भए, देशको स्थिति पनि त्यसरी नै जान थाल्यो ।

त्यही भीडमा उनले देखे, ‘कमरेड अलपत्र ।’

युद्धको त्रासदीले उथलपुथल पारेको त्यही कमरेडको सपना, जीवन र आकाङ्क्षाहरु लेख्दालेख्दै उपन्यासका रुपमा ‘मारीखोलाको ढुंगो’ जन्मियो । 

उपन्यासकै खाकाका रुपमा भने उनले कोरोना महामारीको पहिलो लकडाउनमै लेख्न शुरु गरेका थिए । आफूले देखे/भोगेका पात्रहरुबारे अक्षरमा उतार्न उनलाई त्यति कठिन भएन । युद्धमा होमिएका नजिकका साथीभाइहरुको दिनचर्यालाई उनले नियालेका थिए ।

राजनीति फाँट र अन्य गतिविधिमा जोडिने सिलसिलामा जनयुद्धलाई समेत उनले देखे/भोगेका थिए । त्यही परिवेशहरुमा केन्द्रित रहेर उनले आफ्नो लेखनलाई निरन्तरता दिए । आफ्नो पछिल्लो कृतिलाई नेपालय पब्लिकेशनको दैलोबाट पर्दार्पण गर्छु भन्ने उनको अर्को मनोकाङ्क्षा थियो ।

जनयुद्धकालीन त्यो परिवेशलाई २२ हजार शब्दमा उनेर ‘नेपालय’ (प्रकाशक) पुगेका उनको मनोकाङ्क्षालाई पब्लिकेशनले सहर्ष स्वीकार गर्‍यो ।

त्यसपश्चात् नै थप परिमार्जनसहित ३२ हजार शब्दमा उनका शब्दहरुले ‘मारीखोलाको ढुंगो’को रुप लियो ।

उपन्यासबारे समीक्षात्मक हिसाबमा टिकाटिप्पणी होला या नहोला त्यो भोलिको समयले बताउला । तथापि दर्लामी भने नेपालयबाट आफ्नो पछिल्लो कृति सार्वजनिक हुँदा खुसी छन् ।

यसअघि उनका दुई उपन्यासहरु यात्री (२०७४) र नुरी (२०७५) मा क्रमशः लिपि बुक्स र सांग्रिला पब्लिकेशनबाट प्रकाशित भएका हुन् । उनको ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक समेत प्रकाशित छ । तीन वटा पुस्तक प्रकाशित भए पनि राजधानीमा आफू नयाँ लेखककै स्तरमा रहेको उनलाई लाग्छ ।

आम पाठकमाझ नचिनिएका लेखकलाई राजधानीमा आएर पुस्तक सार्वजनिक गर्न पाउनु नै ठूलो कुरा रहेको उनले सुनाए ।

नयाँ लेखकलाई कृति तयार पार्नभन्दा पाठकमाझ पुर्‍याउन बेहोर्नुपर्ने कठिनताको अनुभव उनले लिएका छन् । पहिलो उपन्यास ‘यात्री’ लागि एउटा पब्लिकेशनले उनको २५ हजार रुपैयाँ लिएर पुस्तक नै प्रकाशन गरिदिएन । जुन समूहले आजसम्म पनि दुःख दिइरहेको उनले गुनासो गरे ।

नेतृत्वलाई जवाफदेही बनाउन युद्धका विषयमा साहित्य सिर्जना अझै हुनुपर्छ भन्ने उनलाई लाग्छ । उनले टिपेका कमरेड अलपत्र जस्ता हजारौं कमरेडहरुको कथा लेखिन बाँकी रहेको उनी सुनाउँछन् ।

‘मैले त एकजनाको कथा प्रतिनिधिका रुपमा लेखेको मात्र हो, युद्धमा वीरगति पाएका, बेपत्ता र घाइते भएर बाँचिरहेका हजारौँ योद्धाहरु छन्, ती प्रत्येकबाट एउटा कथा आउँछन्,’ उनी भन्छन् ।

उनका अनुसार युद्ध साहित्य भनेको केवल साहित्यमा आएका फगत सिर्जना मात्र होइनन् । देशको इतिहास बताउने दस्तावेज पनि हो । त्यसकारण यसलाई अभिलेखीकरण गर्न भए पनि धेरै भन्दा धेरै युद्धका कुरा लेखनमा आउनुपर्ने उनको बुझाइ छ ।

युद्धमा लडेकाहरु अहिले अर्को सपना बोकेर कोही परदेश त कोही अर्कै विचारधारा लिएर राजनीतितिरै रुमलिरहेको उनी देख्छन् । उनीहरुको वर्तमानकालीन अवस्थाले जेबीको मन घरिघरि पिरोलिन्छ । साहित्यमार्फत नै ती योद्धाहरुको भावलाई पोखेर सम्मान प्रकट गरेकोमा उनलाई केही सन्तोष मिलेको छ ।

यसरी नै छुटेकाहरुको कथा लेखेर नै गन्तव्यसम्म पुग्छु भन्ने उनको मनले भन्छ । प्रत्येक लेखकसँग आ–आफ्नै विचार धारा र शैली हुन्छन् भन्ने कुरामा उनी दृढ छन् । त्यसैले पनि त्यस्ता कथा आफ्नै शैलीमा भन्न पनि उनलाई लेखिरहन्छु भन्ने लाग्छ ।

आफ्नो कुरा अरुले लेखिदिएमा केही छुट्ला कि भन्ने उनलाई त्रास छ । जसरी पूर्वका किराँती समुदायदेखि तामाङ समुदायका कुराहरु आख्यान, नाटक जस्ता विधामा आइरहेका छन्, त्यसरी नै मगरात क्षेत्रलाई लेखनमा ल्याउने उनको सपना छ ।

उनी थप्छन्, ‘साहित्य लेखनमा मगरात क्षेत्र छुटेका छन्, यहाँको कुरा मैले नै लेख्नुपर्छ र भन्नुपर्छ भन्ने मलाई लाग्छ ।’

यसरी आउने लेखनमा मनोविज्ञान र साहित्यको दृष्टिकोण नै अलग हुने उनको भनाइ छ । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल आदिवासी जनजाति चलचित्र महासंघका समेत उनी प्रदेश महासचिव हुन् ।

महेन्द्र राजमार्गबाट थोरै दुरी टाढा भएर पनि न्यूनतम पूर्वाधारबाट समेत हालसम्म वञ्चित भएको उनको जन्मभूमि अर्घाखाँचीको सिद्धाराका अभावलाई साहित्यमा मात्र नभएर फिल्ममा ल्याउने समेत उनको सपना छ ।

यी सबै कुरालाई हिसाबकिताब गर्दा फेरि उही जीविकोपार्जनका कुरा उनको अगाडि आइदिन्छ । जसोतसो जेनतेन गरेरै भए पनि पूर्णकालीन लेखक हुन्छु नै भन्ने उनको हृदयले भन्छ ।       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?