मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक समीक्षा

बाखाम्मा: मुन्दुममा पहिलो मान्छेको कथा

आफ्नै स्वतन्त्र लय र संस्कारमा बाँचेको सांस्कृतिक भूगोलको चित्रण

काठमाडौँ– साहित्य सिर्जनासँगै आदिवासी सौन्दर्यको चेत प्रखर रुपमा मिसाएर पस्किनु स्रष्टा राजन मुकारुङको ब्राण्ड हो । जुन ब्राण्ड आम साहित्यप्रेमीमाझ स्थापित छ । चाहे त्यो कविता होस् या आख्यान वा गीतसंगीतमा उनी आफ्नो भूगोल र समाजको सौन्दर्य चेतनालाई सँगसँगै डोर्‍याएर ल्याउँछन् ।

अझ पछिल्लो समय त त्यही चेनतालाई फराकिलो बाटो दिन उनले रङ्गमञ्चको बाटो समाएका छन् ।

‘घुङ्ग्रिएको कपाल’, ‘हेत्छाकुप्पा’, ‘जोखाना’, ‘खुवालुङ’, ‘दमिनी भिर’ देखि नाटक ‘बाखाम्मा’ सम्म आइपुग्दा उनले किराँती संस्कृति, सभ्यता, जनजीवन र मिथकिय पाटोलाई नाटककीय स्वरुपमा बलियोसँग बुनेका छन् ।

रङ्गमञ्चको बाटोमा पछिल्लो समय उनी सँगसँगै छन्, रङ्गकर्मी किरण चाम्लिङ । नाट्य विधामा यी दुईको केमिस्ट्रिलाई आम नाट्यप्रेमीले खुब रुचाएका छन् । चाम्लिङ र मुकारुङको केमिस्ट्रिले जन्माएको ‘जोखना’ र ‘खुवालुङ’ले आदिवासी लगायत इतरका समुदायमा समेत एक किसिमको तरङ्ग ल्याउने काम गर्‍यो ।

‘जोखना’मा पूर्वको सांस्कृतिक झलकहरुमा द्वन्द्वको कथा मिश्रण गरिएको थियो । ‘खुवालुङ’मा भने यी दुईले किराँती सभ्यताको कथालाई रङ्गमञ्चमा पस्किने काम गरे । किराँती सभ्यताको इतिहास र ऐतिहासिक विम्ब ‘खुवालुङ’बारे नाटकका माध्यममा नियाल्न पाउँदा समुदायका मानिस भावविभोर बने ।

किराँती मात्र होइन । अन्य समुदाय समेत नाटक हेर्न ओइरो लागे । अन्य समुदायका मानिसले समेत किराँती सभ्यतालाई नजिकबाट नियाल्ने मौका पाएपछि यी दुईले खुब प्रशंसा बटुले ।

उही किराँती संस्कृति र जनजीवनको स्वादसहित मुन्दुममा मान्छेको सृृष्टिको कथा लिएर अहिले भने चाम्लिङ र मुकारुङ नाटक ‘बाखाम्माः मुन्दुममा मान्छे’ लिएर फेरि उपस्थित भएका छन् । मुकारुङको लेखन र चाम्लिङको निर्देशन रहेको नाटक ‘बाखाम्मा’ वैशाख १४ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

पूर्वको किराँती सभ्यता, जनजीवन र सांस्कृतिक लयमा बाँचेको मान्छेको उत्पत्ति चाहिँ कसरी भयो त भन्ने मुन्दुमको पहिलो सृष्टि मानिएको मानव कथालाई ‘बाखाम्मा’ले केलाउने जमर्को गरेको छ । त्यसैमा जोडिएको पूर्वको सांस्कृतिक रङ्गहरुको मिठास यसमा थपिएको छ ।

नाटकका लेखक मुकारुङकै भनाइलाई आधार मान्दा किराँती सृष्टिको सभ्यता र मुन्दुम अनुसार पहिलो मान्छे नै ‘बाखाम्मा’ हो । मुन्दुमको सृष्टिकथामा खरानी र माटो मुछेर रुमुहाङले बनाएको पहिलो आकार भएको मान्छे नै ‘बाखाम्मा’ हो भन्ने किराँती मिथकीय कथाहरुले वर्णन गर्छन् ।

किराँतीहरुको सभ्यतामा एउटा साझा सृष्टिकर्ता र साझा विम्बका रुपमा सुम्निमा, पारुहाङलाई स्वीकारिन्छ । किराँती सभ्यता र संस्कृतिमा जन्मेदेखि मृत्युसम्मका कर्ममा यही सुम्निमा, पारुहाङको मुन्दुमी कथा आउँछ । जुन सभ्यता ‘बाखाम्मा’भन्दा अघि निराकार थियो । यही आकार भएको मान्छे कसरी उत्पत्ति भयो भने मिथकीय सौन्दर्य मञ्चमा नाटकका रुपमा प्रस्तुत भएको छ ।

किराँती मिथकीय र समकालीन सांस्कृतिक सभ्यताको दुई फरक कालखण्डलाई सरल रुपमा प्रेम अनि सृष्टिको नियममा बाँधेर ‘बाखाम्मा’को कथा अगाडि बढेको छ । वर्तमानकालीन साया(एलिसा राई) र सिखुम(अनिल सुब्बा)को जोडीलाई सारुम्मा– सावाहाङसँग तुलना गर्दै सृष्टि कथाक्रमलाई देखाइएको छ ।

सारुम्मा– सावाहाङलाई किराँती सभ्यताको सुम्निमा–पारुहाङकै स्वरुपमा नाटकमा मानिएको छ । जसरी सारुम्मा र सावाहाङ प्रेम, विछोड र मिलनका कथाहरु नाटकमा बुनिएका छन्, त्यसरी नै यो सृष्टि साया र सिखुमहरु जस्तै जोडीका रुपमा आदिम कालदेखि निरन्तर अगाडि बढिरहेको छ भन्ने निचोडमा नाटकले बिट मारेको छ ।

साल्पा–सिलिचुङसम्मको सांस्कृतिक यात्राबाट नाटकको प्रारम्भ भएको छ । यही यात्रामा निस्कँदा देखिएको किराँती सांस्कृतिक लय, भाकाहरु अनि मुन्दुमी परम्परा बेजोडले झल्किएका छन् । त्यही यात्रामा संकट आइपरेपछि भैरुङपाती, सुनापाती टिप्न निस्केका साया र सिखुमको माया बस्छ ।

उनीहरुले त्यतैबाट भागी विवाह गर्छन् । भागी विवाहको रित बुझाउन सायाको माइतीघरमा आउँदा सिखुमको रित बुझाउन आउने लमीले सुम्निमा–पारुहाङको प्रेमकथालाई सुनाउँछ । यसैमा साल्पा–सिलिचुङमा नै सृष्टि भएको ‘बाखाम्मा’ पहिलो मान्छेको कथालाई बेलिविस्तार लगाउँदै गएपछि नाटक फ्ल्यासब्याकतिर मोडिन्छ ।

किराँती सभ्यताले मान्ने रुमुहाङ अर्थात् सुम्निमा–पारुहाङले खरानी र माटोको मानव शरीरको आकार दिएपछि त्यो आकारले कसरी प्रकृतिको धुन, लय र संसर्गमा आफूलाई समाहित गर्‍यो भन्ने मिथकलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । प्रकृतिमा बहेको वायुकै संसर्गबाटै उत्पत्ति भएको सारुम्मा र त्यसपछि आएको साहावाङको प्रेमले निकै रोमाञ्चक बनाउँछ ।

सारुम्मा र सावाहाङसँगै देखिएका प्रकृतिका जीवजन्तुको मानवअस्तित्वको सम्बन्धको निकटतालाई निकै गहन रुपमा नाटकमा देख्न सकिन्छ । सारुम्मा र सावाहाङको विछोडमा प्रकृतिका जीवजन्तुको साथले आदिवासी सभ्यता प्राकृतिक रुपमा सिङ्गो प्रकृतिसँग कसरी घनिष्ट छन् भन्ने प्रस्ट्याउँछ ।

नाटकमा प्रयुक्त प्रकाश र ध्वनि मार्फत प्रकृतिको सृष्टिको कथालाई बलियोसँग देखाइएको छ । सारुम्माको उत्पत्ति होस् या सावाहाङको उपस्थितिमा प्रस्तुत भएको ध्वनि र सेतो कपडाको छालमा देखाइएको प्रकृतिको बिम्ब निकै सशक्त छन् । मञ्चको केन्द्रिय भागमा बनाइको खाडलले उत्पत्तिको केन्द्रसँगै जलस्रोतको बिम्बलाई दर्शाउँछ । प्रकृतिको सौन्दर्यमा सृष्टिकथालाई जोड दिन उभ्याइएका जलचर तथा थलचर प्राणीहरु पात्रहरु उत्तिकै बलियो रुपमा प्रस्तुत भएका छन् ।

बाखाम्मा, सारुम्मा–सावाहाङ होस् या सायाको बाबुआमाको प्रेमकथा र भागी विवाहलाई जोडेर साल्पा–सिलिचुङ क्षेत्र प्रेम होस् या सृष्टिको सभ्यताको कथासँग जोडिएको छ भनेर यो समयमा साया र सिखुम पुस्तालाई सुनाउनु नै नाटकको ध्येय हो ।

साया र सिखुम पुस्ताले जब आफ्नै सृष्टि कथालाई बुझ्छन्, तब न किराँती मौलिक सभ्यता युग–युगसम्म रहन्छ ।

‘बाखाम्मा’ एउटा नाटकको दृश्यहरु मात्र होइनन्, आफ्नै मूल जराबाट टाढा भइरहेका प्रत्येक पुस्ताहरुका लागि मौलिकता उत्खनन् गर्ने आधार हो । यसले पश्चिमा संस्कृतिको लयमा भुलिरहेका आजका पुस्तालाई आफ्नोपनाप्रति प्रेमभाव जगाउन ज्ञानको झिल्को बाल्न सक्छ ।

समग्रमा ‘बाखाम्मा’ सृष्टिसँगै आफ्नै स्वतन्त्र लय र संस्कारमा बाँचेको एउटा सांस्कृतिक भूगोलको कथा हो । 

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको नाटकमा प्रकाश परिकल्पना र ग्राफिक डिजाइन इँगिहोपो कोइँच सुनुवारले गरेका छन् भने प्रकाश परिचालनमा सन्जिव योगी छन् । मञ्च परिकल्पना सुब्बा र निर्देशक चाम्लिङले नै गरेका छन् ।

संगीतमा अनुराग थापा, एलिन राई र संजिव राई छन् । गीतको सिर्जना मुकारुङले गरेका छन् भने संगीत तथा लयको सिर्जनामा उनलाई चाम्लिङले साथ दिएका छन् । कोरियोग्राफीमा भने चाम्लिङसँगै जेडी तमू छन् ।

मञ्चमा:

एलिशा र सुब्बासहित वेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, रमिला मोक्तान, रविन दोङ, प्रशान्त वाइबा, रमिता राई, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, याङ्साङ् मुकारुङ, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, सिशम बान्तवा, शुभम चाम्लिङ, रोशन लोहोरुङ, सबनम राई, सृजना राई, मानबहादुर राई । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?