कपिलवस्तु– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागको आयोजना र शिक्षा तथा संस्कृति प्रवर्ध्दन केन्द्र कपिलवस्तुको संयोजनमा आइतवारबाट ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ कार्यक्रम शुरु भएको छ ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारी लगायत कलाकारहरुको उपस्थितिमा कार्यक्रम थालनी गरिएको हो ।
नगरप्रमुख पौडेलले लोक परम्परा र कलाका विषयमा कार्यक्रम गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिँदै कलाको महत्वका बारेमा प्रकाश पारे । नगरका विभिन्न स्थानका भित्तामा अवधी चित्र बनाउन आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
प्रतिष्ठानका लोककला विभाग प्रमुख अधिकारीले प्रतिष्ठानको नीति, नियम, कार्यदिशा तथा कार्यक्रमहरूका बारेमा प्रकाश पार्दै अवधि लोककलाको विकास तथा पुस्तान्तरण गर्न यस कार्यक्रमको ठुलो महत्व भएको बताए । समाजका विविध लोकज्ञान पुस्तान्तरण हुनुपर्नेमा समेत उनले जोड दिए ।
समारोहमा लेखक तथा संस्कृतिकर्मी विक्रममणि त्रिपाठीले ‘अवधी लोकचित्रकलामा व्यावसायिकताको आवश्यकता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा उनले अवधी लोकचित्रकलाअन्तर्गतका व्रत तथा पर्वमा बनाइने भित्तिचित्र (गुडिया, रक्षाबन्धन, तिनछठ्ठी, करवा चउथ, दीपावली) संस्कारहरूमा बनाइने भित्तेचित्र (कोहबर, छठ्ठी चित्र, मैहर द्वार, ऐपन, गङ्गा यमुनाको लोकचित्रण, सोनचिरैया) भूमिचित्र (चउक पुरन, ठप्पा चित्र),गोदना, मेहन्दी लगायतको इतिहास, वर्तमान अवस्था र महत्वबारे चर्चा गरे ।
कार्यपत्रमाथि टिप्पणी गर्दै अग्रज कलाकार रामदयाल ठाकुरले इतिहासको अनुहार लोककला भएको बताउँदै औपचारिक शिक्षाले मात्र लोकसंस्कृति वा कला निकाल्न सम्भव नभएको धारणा राखे ।
‘यो हाम्रो समाज र घर घरबाट निस्कने गर्दछ । अहिले पक्की घरहरू बन्न थाले । गोबरमाटाको आकृति बनाउने चलन हरायो । यसकार्यक्रमले अवधी लोककलाको विषयलाई अझै विकासको पाइलामा अगाडि बढाउने विश्वास मैले लिएको छु’, उनले भने ।
कार्यक्रममा सभाध्यक्ष पशुपतिमणि त्रिपाठीले लोककलाको क्षेत्र विशाल भएको तर यसको लिखित दस्ताबेज भने नपाइने बताउँदै हस्तकलाका सामग्रीमा लोककलाको झलक देखिने जिकिर गर्दै पुस्तान्तरणको प्रक्रियाले लोककलाको संरक्षण हुँदै आएको धारणा राखे ।
अग्रज कलाकार ठाकुरको प्रशिक्षण रहेको कार्यक्रममा ४० जनाभन्दा प्रशिक्षार्थी सहभागिता जनाएका छन् । कार्यक्रम मङ्गलवारसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया