मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

म्याग्दीको अन्नपूर्णमा उच्च गतिको विद्युत् प्रवाह, ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । 

विद्युतको मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । ‘वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण सङ्कलन गरेको छ,’ उनले भने । 

पाँच कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँचजना करेन्ट लागेर सामान्य घाइते भएका छन् । एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताए । 

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ । केन्द्रका प्रमुख प्रताप बरालले लाइन बन्द गरिएको र मर्मतका लागि सोमबार बिहानै प्राविधिक टोली पठाउने बताए । 

घार, शिख र घोडेपानी क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठगराज बरुवालले विद्युत् प्राधिकरणले समयमै प्रसारण र वितरण लाइन मर्मत नगर्दा क्षति बेहोर्नुका साथै विद्युतीय दुर्घटनाको जोखिम बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?