गर्मी मौसममा आँखा पाक्ने समस्याले धेरैलाई सताउने गर्छ । आँखा मानव शरीरको निकै संवेदनशील अंग हो ।
आँखामा विभिन्न समस्या देखा पर्न सक्छन्, जसमध्ये आँखा पाक्ने समस्या पनि एक हो ।
गर्मीयाममा धुलो–धुवाँ बढी उड्छ । यही भएर यो समस्या गर्मी मौसम (चैत, वैशाख र जेठ) मा बढी देखिन्छ । गर्मी महिना शुरु भएसँगै यस्तो समस्या धेरैलाई हुने भएका कारण संयमता अपनाउन जरुरी छ ।
आँखा पाक्ने समस्या के हो ? कसरी हुन्छ ? उपचार विधि कस्तो छ भन्ने सन्दर्भमा आँखा स्वास्थ्य विज्ञ कल्याण ढुङ्गानासँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:
गर्मी महिनामा आँखा पाक्ने समस्या धेरै नै हुन्छ, यसको कारण के होला?
गर्मी र वर्षातको मौसममा धुवाँ, धुलो र प्रदुषण धेरै हुन्छ । यसकारण बाहिरी वातावरणमा भएका किटाणुको कारणले आँखामा इन्फेक्सन हुन्छ । कोही मान्छे बाहिर हिँडिरहेको बेलामा फोहोर हातले सिधै आँखा छुन्छ भने उसको हातमा भएका कीटाणु आँखामा जान्छ । जसकारण आँखामा इन्फेक्सन हुन्छ । एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने रोग छिटो सर्छ । भाइरसले आँखाको नानीमा पनि सङ्क्रमण गरेमा उज्यालोमा हेर्न गाह्रो हुन्छ ।
जाडो महिनाको तुलनामा गर्मी महिनामा आँखा पाक्ने समस्या बढी मात्रामा देखिने हो ?
जाडो महिनाको तुलनामा गर्मी महिनामा धुवाँ, धुलो बढी मात्रामा हुने, वायु प्रदुषण बढ्ने र घाम पनि चर्को मात्रामा लाग्ने हुँदा आँखा पाक्ने समस्या गर्मी मौसममा बढी फैलन्छ ।
आँखा पाक्दा कस्ता लक्षणहरु देखा पर्दछन् ?
आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, आँखा चिलाउने, आँखाबाट आशु आउने, आँखा फुल्ने जस्ता लक्षणहरु देखा पर्दछन् ।
यो रोग एकबाट अर्को व्यक्तिमा सर्छ कि सर्दैन ?
आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा किटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा यो रोग सर्छ । आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, लुगाकपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ ।
यो रोग लाग्नबाट बच्ने उपाय के–के हुन् ?
यस्तो समस्याबाट बच्नको लागि हरेक दिन सुत्नुभन्दा अगाडी चिसो पानीले मुख धुने, आँखाको सरसफाईमा ध्यान दिने, कृत्रिम आँसुहरुको प्रयोग गर्ने, बाहिर घाममा निस्कदा प्रोटेक्टिभ सनग्लासहरु लगाउने, कतै घाममा बाहिर गएर आएपछि पनि चिसो पानीले आँखा धुने गर्नुपर्दछ ।
कालो चश्मा लगायो भने यो रोग सर्दैन भन्ने आम बुझाइ छ, यो सत्य हो कि भ्रम ?
अस्पताल आउने अधिकांश सेवाग्राही कालो चश्मा लगाएर आउनुहुन्छ । यद्यपि कालो चश्माले सङ्क्रमण हुनबाट जोगाउँछ भन्ने होइन । यसका दुई फरक महत्व छन् । पहिलो आँखा धेरै रातो भएकाहरूले थप बाह्य सङ्क्रमण वा सम्पर्कबाट जोगाउनु र दोस्रो नानीमा असर परेकाहरूलाई नाङ्गो आँखाले उज्यालोमा हेर्दा अप्ठेरो हुने भएकाले त्यसबाट जोगिन सहायता गर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनुपर्छ । तर चश्मा लगाएर यो रोग नसर्ने भन्ने होइन ।
यसका जटिलताहरु के–कस्ता रहेका छन् ?
सामान्य कारणहरुले अर्थात् एलर्जी अरु कारणले आँखा रातो भएको छ भने यो सामान्य अवस्था हो तर आँखा रातो भएको छ र दृष्टि धमिलो देखिएको छ भने जलविन्दुको जोखिम हुनसक्छ यसकारण यस्तो अवस्था आएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
आँखाको हेरचाह कसरी गर्ने र आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ ?
आँखा पाक्ने रोगबाट बच्न धुलो–धुवाँबाट बच्ने, केमिकलको काम गर्दा चश्मा लगाउने, घरबाहिर जाँदा सनग्लासको प्रयोग गर्ने गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउँदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । स्विमिङ गर्दा पनि चश्मा लगाउनुपर्छ ।
कामबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ । आँखा पाक्ने रोग लागिसकेको खण्डमा आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आफूले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिने, घरबाहिर कम हिँड्ने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया