कैलाली – मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकै खेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकै खेतीको विस्तार भइरहेको छ ।
कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते मकै खेतीका लागि सरकारले बीउमा अनुदान, सिँचाइ र अन्य प्राविधिक सहयोग गरेको छ । वसन्ते मकै खेती विस्तारलाई विशेष कार्यक्रममा समावेश गरिएको कैलाली कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
मुख्यमन्त्री बृहत् तथा विशेष कार्यक्रममा समेटिएको वसन्ते मकै खेती पहिलो वर्ष कैलालीको गौरीगङ्गा, घोडाघोडी, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाँडी, बेलौरीलगायत क्षेत्रमा गरिएको छ ।
कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको खेती आगामी तीन वर्षभित्रमा थप क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य छ । प्रदेश सरकारले वसन्ते मकै खेतीबाहेक चिप्स बनाउन प्रयोग हुने आलुखेती र मसिनो धानखेतीलाई पनि विशेष कार्यक्रममा समावेश गरेको छ ।
“दाना उद्योगलाई चाहिने कच्चा पदार्थ स्थानीय क्षेत्रबाट नै प्राप्त होस् भन्ने उद्देश्यले मकै खेती विस्तार गर्न लागिएको हो”, ज्ञान केन्द्रका प्रमुख शर्माले भने, “यसबाट किसानको आयआर्जन वृद्धि हुने र विदेशबाट आयात गरिने दानाको परिमाण घट्दै जानेछ ।”
कैलाली, कञ्चनपुरमा सञ्चालनमा रहेका दाना उद्योगका लागि आवश्यक पर्ने मकैलगायतका कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षको नौ महिनामा भारतबाट गड्डाचौकी नाका हुँदै रु १७ करोड बराबरको ४५ लाख ८३ हजार किलो मकै भित्रिएको छ ।
प्रदेशका सबै जिल्लामा झण्डै ४५ हजार एक सय ९५ हेक्टर जग्गामा बर्खे मकै र वसन्ते मकै खेती गरिएको भए पनि क्वारेन्टीइन कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले स्थानीय क्षेत्रमा दाना उद्योगका लागि चाहिने मकै पर्याप्त उत्पादन नहुँदा भारतबाट आयात भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया