सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।
गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक–एक वटा घर जलेर नष्ट भएको हो ।
आगलागीबाट रु ५३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । धनेश्वर राई र निजका छोरा शक्ति राईको छुट्टाछुट्टै घर जल्दा उनीहरूको तीन तोला सुन, १५ तोला चाँदी नष्ट हुँदा रु २३ लाख, केशव राई र मकरबहादुर राईको नगद रु एक लाख ८० हजार नगदसहित अन्य सामग्री जल्दा रु २० लाख र कविर राईको घर र त्यहाँ रहेको सबै सामान जल्दा रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
स्थानीयको खरबारीमा सल्किएको आगो वन क्षेत्रमा फैलिएको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणको प्रयास हुँदाहुँदै हावाको वेगका कारण एक्कासी बस्तीमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
घरमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सोलु दुधकुण्ड नगरपालिकाको दमकल र नगर प्रहरीलगायत निकायको प्रयासमा आगो निभाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया