मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पारिजातलाई स्मरण गर्दै काठमाडौँमा महिला लेखकका पुस्तक प्रदर्शनी

काठमाडौँ– नेपाली साहित्यकी विशिष्ट नारी स्रष्टा पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा उनको स्मरण गर्दै उनीसहित तीन सयभन्दा बढी महिला लेखकका पुस्तकहरु प्रदर्शनी शुरु गरिएको छ ।

मङ्गलवार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पारिजात स्मृति केन्द्रले काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, केन्द्रका अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष इन्दिरा दली, कोषाध्यक्ष तथा साहित्यकार विन्दु शर्मा लगायतक साहित्यकर्मी तथा साहित्यप्रेमीहरुको उपस्थितिमा प्रदर्शनीको थालनी गरिएको हो ।

प्रदर्शनीमा पारिजातका कृतिहरु ‘शिरिषको फूल’, ‘बैसको मान्छे’, ‘तोरीबारी बाटा र सपनाहरु’ लगायत अमृता लम्सालको ‘हजुरआमाका कथा’, प्रगति राईको ‘थाङ्ग्रा’, कल्पना चिलवालको चुल्ठो, बङ्गलादेशकी लेखिका तसलीमा नसरीनको ‘आइमाईको कुनै देश छैन’,भारतकी लेखिका अमृता प्रितमको ‘जलते बुझते लोग’ जस्ता चार सय भन्दा बढी पुस्तकहरु प्रदर्शन गरिएका छन् ।

प्रदर्शनी अवलोकन गर्दै उपमेयर डंगोलले महिलाद्वारा लेखिका महिलाकै विषयहरु समावेश पुस्तक प्रदर्शनीलाई अत्यन्तै सकारात्मक कार्यको रुपमा लिइन् । लेखन विषय सजिलो नभएको बताउँदै उनले यसलाई अन्य कला भन्दा उत्कृष्ट भएको धारणा राखिन् ।

‘लेख्न सबैले सक्दैनन् र यो सजियो काम पनि होइन,’ उनले भनिन्, ‘मनमा भएका कुराहरु कसैले संगीत, कसैले नाचेर र कसैले लेखेर व्यक्त गर्छन् । यसमध्येमा पनि लेख्नु भनेको आफ्नो कुरा अर्काइभ गर्नु पनि हो ।’

उनका अनुसार साहित्य समाजको ऐना बन्न सक्छ । महिला पुस्तक प्रदर्शनीले धेरैलाई उत्साह र उत्प्रेरणा दिने उनको ठम्याइ छ । धेरै महिलाहरुका लागि यो महत्वपूर्ण प्लेटफर्म समेत हुने सुनाउँदै उनले अबका महिलाहरुले महिलाकै विषय मात्र नभएर प्रविधि जस्ता छुटेका विषयमा पनि लेख्नुपर्ने भनाइ राखिन् ।

आफ्नो जन्मदिनलाई पारिजातले महिला लेखन र आन्दोलनकै विषय केन्द्रित गरेर मनाउने सम्झँदै अध्यक्ष पोखरेलले प्रदर्शनीले समकालीन समयमा महिला लेखकको उपस्थिति कस्तो भनेर देखाउने विश्वास व्यक्त गरे ।

लेखनमा र पुस्तक प्रकाशनमा समेत महिलाहरुलाई प्रोत्साहित गर्न प्रदर्शनीले सहायता गर्ने कोषाध्यक्ष तथा साहित्यकार शर्माको भनाइ छ । यसले महिला स्रष्टा र तिनका सिर्जना बाहिर आउन र महिला लेखनमा खोज तथा अनुसन्धान गर्नेहरुलाई समेत सजिलो बनाउन प्रदर्शनी गरिएको उनले सुनाइन् ।

प्रदर्शनीमा बालसाहित्यका पुस्तकहरु समेत राखिएका छन् । कार्यक्रममा ‘मैले चिनेको पारिजात’ जस्ता विषयमा पारिजातलाई स्मरण गर्दै साहित्यमा उनले पुर्‍याएकाे योगदानबारे परिचर्चा गरिएको थियो ।

आयोजकका अनुसार प्रदर्शनी वैखाख १५ गतेसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?