मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ वर्षको आरम्भसँगै रङ्गमञ्चमा छुट्टै रौनक, धमाधम तयारीमा जुट्दै रङ्गकर्मी

काठमाडौँ– नयाँ वर्षको आरम्भसँगै थिएटरहरुमा एकपछि अर्को नाटकहरु मञ्चनका लागि तयारी अवस्थामा छन् भने कतिपय मञ्चन भइरहेका छन् । राजधानी भित्र र बाहिरका नाटकघरहरुमा नयाँ वर्षको शुभारम्भसँगै नाटकहरुको लहर देखिन्छ । नाटक र रङ्गकर्मीहरुको जोस र जाँगर हेर्दा यो वर्ष पनि नाट्य क्षेत्र उत्तिकै उत्साहजनक रुपमा अगाडि जाने संकेत देखिन्छ ।

स्मृति विक्री केन्द्र

पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा हाल नाटक ‘स्मृति विक्री केन्द्र’ मञ्चन भइरहेको छ । साहित्यकार बुद्धिसागरको कथामा आधारित रहेर तयार गरिएको नाटकको निर्देशन ध्रुव पौडेल  र रङ्गकर्मी ऋतेशले यसलाई नाट्य रुपान्तरण गरेका छन् ।

नाटक मञ्चन वैशाख १ देखि १५ गतेसम्म हुने जनाइएको छ । नाटकले स्मृतिको चित्रण मार्फत सामाजिक तथा मनोवैज्ञानिक रुपमा यथार्थताको चित्रण गरेको नाट्य समूहको भनाइ छ ।

एक जना मान्छे स्मृतिभित्र बाँचेर हेर्दा उनले देख्ने संसार नै नाटकको सार हो । नाटकमा प्रमिला तुलाचन, राजेन्द्र अधिकारी, विभु भुषाल, प्रसुना भण्डारी, लक्ष्मण डुम्रे, उमा पुन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आरनको गीत

झापाको दमकस्थित कदम थिएटरमा नाटक ‘आरनको गीत’ वैशाख ७ गतेदेखि मञ्चनमा आएको छ । सिजन दाहाल र सुमन लिङ्देनको नाटकलाई मनिक शंकरले निर्देशन गरेका हुन् । नाटकमा शंकरकै एकल प्रस्तुति रहेको छ । नाटकले सामाजिक तथा वर्गीय समाजमा भोगाइको अनुभूतिहरुलाई चित्रण गरेको छ ।

वैशाख १५ गतेसम्म मञ्चन हुने नाटकमा प्रकाशमा जीवन बराल र नवीन रिजालले समायोजन गरेका छन् । म्युजिकमा पुष्पा राई, पारुबा राई, प्रबिन भण्डारी, रीतु दाहाल दिपेश मगरको रहेका छन् ।

ए आई

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख १३ गतेदेखि २२ गतेसम्म नाटक ‘ए आई’ मञ्चन हुने भएको छ । नाटकलाई वैशाख ३ गते एक शो मात्र मञ्चन गरिएको थियो । पवित्रा खड्काको निर्देशनमा तयार भएको नाटकले विशेषत शारीरिक हाउभाउ मार्फत नै कथा भन्ने प्रयास गरेको छ ।

निर्देशक खड्काका अनुसार एक्रोब्याटिक थिएटरमा कलाकारहरुले संवादविहीन शरीरको भाषाबाट नै आम मानिसका थुप्रै मनका कुरा र भोगाइहरु पोख्नेछन् ।

टिकट टु हलिउड

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख ८ गतेदेखि नाटक ‘टिकट टु हलिउड’ मञ्चन भइरहेको छ । नाटकको लेखन, निर्देशन तथा परिकल्पना सागर खाती कामीले गरेका छन् । नाट्य समूहका अनुसार नाटकमा विदेशिने युवाहरुको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । वैशाख २३ गतेसम्म मञ्चन हुने नाटकमा कलाकारहरु मिलन कार्की र सुदीप खतिवडाको अभिनय देख्न सकिन्छ ।

बाखाम्मा: मुन्दुममा मान्छे

साहित्यकार राजन मुकारुङको नाटक ‘बाखाम्मा: मुन्दुममा मान्छे’ मण्डला थिएटरमा वैशाख १४ गतेदेखि मञ्चन हुने भएको छ । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा मञ्चन हुन लागेको नाटकको निर्देशक किरण चाम्लिङले गरेका छन् । नाटकले किराँत सभ्यता, संस्कृति र इतिहासको पाटोलाई समेटिएको जनाएको छ ।

नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको छ । हालै सार्वजनिक भएको नाटकको पोस्टरमा कलाकारहरु वेदना राई र एलिसा राईलाई देख्न सकिन्छ ।

वर्षको शुभारम्भ महिनामै झण्डै आधा दर्जन नाटक देखिनु नेपाली नाट्य क्षेत्रले यसलाई शुभ संकेतका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?