मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पाटे बाघको सङ्ख्या

कञ्चनपुर– महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ । 

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । 

गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको  निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।

“यहाँ बाघका लागि खाना र वासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “यहाँ चोरी सिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसे मैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता ताल तलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्न सक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटे बाघका लागि प्रख्यात  छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उनले भने ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?