मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीजिविषा

दिलबहादुरको सारङ्गीले रेट्दैन कर्खाको धुन

काठमाडौँ– ‘आकाशका हेरुँ भने बादलुको घेरो

सुन फोटो, सुन ऋतु कर्म खोटो मेरो ।

यो कर्मले नदिए पछि त 

झर्दो रहेछ निधारको अक्षता ।’

लोकभाकामा सारङ्गीको धुन रेट्दै गाउँदेख शहरका घर घरमा पुग्नु दिलबहादुर (रामबहादुर) गन्धर्वको दैनिकी हो । कर्खामा बच्ने वीर गाथा र वीर चरित्रका ध्वनिभन्दा पनि उनको सारङ्गीमा आफ्नै पीर व्यथाहरु गुञ्जिन्छन् ।

निधारमा मुजा परेका रेखाहरुले उनको उमेरका गोरेटाहरु कति पुराना हुन् भन्ने छर्लङ्ग पार्छन् । सेता फुलेका कपाललाई अलिकति ढाकाटोपीले ढाकेर उस्तै जोश र जाँगरका साथ दिलबहादुर कैयौं वर्षदेखि यसरी नै निरन्तर हिँडिरहेका छन् ।

जसरी उनको सारङ्गीको धुनमा दुःखका धुन सुनिन्छ, त्यसरी नै उनको जीवनको लयमा पनि दुःखैदुःख छन् । त्यही दुःखका भारी बोक्दै उनी अहिले ८० औं वसन्तमा दौडिरहेका छन् । 

पूख्र्यौली घर गोरखा भए पनि दिलबहादुरको बाजे बराजुले तनहुँतिर बसाइँ सरे । उनी त्यतैतिर जन्मिए । गोरखाबाट तनहुँमा कहिले बसाइँसराई भयो, उनलाई ठ्याक्कै मिति थाहा छैन ।

तनहुँमा गुरुङ र खस नेपाली भाषी समुदायमा हुर्केकाले उनले बाल्यकालबाट नै सारङ्गीको धुन रेट्ने मौका पाएनन् । आफ्नै गन्धर्व समुदायकाहरुले बचाएको सारङ्गीको धुनले मोहित बनाएपछि उनले २१/२२ वर्षको उमेरमा बल्ल सारङ्गी बजाउन शुरु गरे ।

‘सारङ्गी त गन्धर्व जातिको परम्परागत बाजा र संस्कृति हो,’ उनले भने, ‘बुवा चार वर्ष हुँदै बितेको रे । सिकाउन घरमा कोही भएन । पछि साथीभाइले बजाएको हेरेरै सिकियो ।’

सारङ्गी बजाउन मात्र नभएर उनले सारङ्गीले गाउने कर्खामा नेपालको वीर गाथा, नेपाल एकिकरणको घटनाक्रम, वीरताको चरित्र, त्यसैमा वीरगति पाएका वीर तथा वीरांगानाको सङ्घर्षलाई नजिकबाट बुझ्ने मौका पाए । र पनि उनले कर्खाभन्दा लोक लय र समकालीन समयको बोधलाई सारङ्गीमा सुनाउने काम गरिरहेका छन् ।

गन्धर्व जातिले प्राचीन कालदेखि नै गायन–वादनका माध्यमले लोकपरिवेशमा सुनाउँदै आएको ‘कर्खा’ लाई नेपालको मौलिक र मौखिक लोककाव्य गायनमा आधारित नेपाली संस्कृति मानिन्छ ।

यसमा वीर वीरांगाना, ऐतिहासिक पात्र, चरित्र, घटना, महिमा, उत्साह, शूरताको गाथा गाइन्छ । यो विशेषत घटना, चरित्र, प्रेम, भक्ति, पौराणिक, ऐतिहासिक, सामाजिक, प्राकृतिक जस्ता राम्रा कार्यहरुको वर्णन गरिन्छ ।

सञ्चार माध्यमको विकासपूर्व गन्धर्व जातिले नै मुख्य सञ्चारमाध्यमको काम गर्दथे । गाउँ–गाउँ, बस्ती–बस्तीमा गएर उनीहरुले युद्ध तथा योद्धाका योगदान र वीरताका कथा सुनाएको ऐतिहासिक दस्तावेजहरुले बताउँछन् । यसैलाई गन्धर्वै जातिले आफ्नो जीविकोपार्जन गर्ने आधार समेत बनाएका छन् ।

पछिल्लो समयमा सञ्चार माध्यमको विकासले गन्धर्व जातिको सारङ्गी बजाउने पेशा नै लोपोन्मुख हुँदै गएकोमा दिलबहादुरलाई चिन्ता छ ।

सारङ्गीको धुनमा वीर गाथा, राम तथा कृष्ण चरित्रका गाथा सुन्न नयाँ पुस्तामा चासो नभएको उनले सुनाए ।

‘म २०३५ सालमा काठमाडौं आएर सारङ्गी बजाउँदा मान्छेहरु जम्मै एकै ठाउँमा भेला हुन्थे । कस्तो चाख मानेर सुन्थे र आफूलाई पनि बजाउन मन लाग्थ्यो । अहिले त त्यतिविधि चासो राख्दैनन्’, उनले भने ।

उनका अनुसार सारङ्गीले धुनले बताउने सबै गाथा र कथाहरु आम सञ्चार माध्यमले भनेपछि गाइनेहरुप्रति मानिसहरुको चासो घटेको छ । त्यसैले उनले अहिलेका मानिसहरुले जस्तो गीत सुन्न मन पराउँछन्, त्यस्तै शैलीमा गाएर सुनाउँछन् ।

सारङ्गी बजाउने कामलाई नै उनले पेशा बनाएका छन् । काठमाडौं आउनुपूर्व उनी रोजगारीका लागि ३२ वर्षको उमेरमा भारत पसेका थिए । त्यता तीन वर्षको बसाइँपछि आफ्नै देशमा फर्केर काठमाडौंतिर आइपुगे ।

काठमाडौंमा सारङ्गी बजाउने र जेनतेन गरी उनले आठ जना सन्तान हुर्काए । पाँच जनाको विवाह भइसकेको छ भने एक छोरी र दुई छोरा उनीसँग छन् । सारङ्गी बजाएरै उनी देशका विभिन्न जिल्लाहरुका पुगेका छन् । सारङ्गी बजाउँदै जाँदा सिन्धुपाल्चोक पुगेका उनले त्यतै कमला तामाङलाई भेटे ।

दुवैको मन मिलेपछि विवाह गरी उनले तनहुँमै कमलालाई लिएर गए । हाल भने उनी श्रीमती र परिवारका साथ दक्षिणकालीमा बस्दै आएका छन् ।

उनी दक्षिणकालीदेखि नै उपत्यकाका शहरमा सारङ्गी बजाउँदै पुग्छन् । उनका लागि सारङ्गी बजाउनु पेशा मात्र होइन आफ्नो गन्धर्व जातिप्रतिकै प्रेम र सम्मान पनि हो ।

उनले भने, ‘मेरो हातमा सारङ्गी देखेर नै मलाई मान्छेले चिन्छन् । यो त मेरो प्रमाणपत्र हो । अनि यसको माया पनि लागिहाल्छ नि ।’

दिलबहादुरका अनुसार उनले बोक्दै आएको सारङ्गी दीपप्रसाद पुनले उपहारस्वरुप दिएका हुन् । उनले शताब्दी पुरानो पूख्र्यौली सारङ्गी भने गाउँमै थन्काएका छन् ।

उनी पछिका पुस्ताले सारङ्गी बजाउने छाँट उनले देखेका छैनन् । उनका दुई भाइ छोराहरुको सारङ्गी बजाउनेतिर सौख छैन । उनी पनि बजाउनैपर्छ भनेर कर लगाउँदैनन् ।

पूर्खाको संस्कृति र परम्परा नयाँ पिँढीले जोगाएको राम्रै हो भन्ने उनलाई ज्ञान छ, तर जीविकोपार्जनमै धौधौ पर्छ भने सन्तानलाई किन कर गर्ने भन्ने पक्षमा उनी छन् । उनको मात्र नभएर गन्धर्व जातिका अधिकांश नयाँ पुस्ताकाले सारङ्गी बजाउन छोडेको उनले सुनाए ।

एक त प्रविधिको विकास, अर्कातिर संगीतमा आएको आधुनिकीकरणले सारङ्गीको धुन नै ओझेल परेपछि परम्परागत रुपमा बाजा बजाउनेहरुले नै पेशा परिवर्तन गर्दै छन् । गन्धर्व जातिको मात्र नभएर सारङ्गी नेपालकै लोक संस्कृति भएकोले यसको संरक्षणमा राज्यबाट नै पहल हुनुपर्ने उनको बुझाइ छ ।

राज्यबाट संरक्षण हुने कुरामा उनी आशावादी छैनन् । त्यसैले उनले आफ्नो ज्यानले सकुन्जेल शहरबासीलाई सारङ्गी सुनाएरै हिँड्ने सोचेका छन् । शहरबासीले दिएको दान दक्षिणा बटुलेर उनी साँझ डेरामा पुग्छन् । दक्षिणालाई उनी गन्धर्व जातिप्रति प्रदान गरेको सम्मानकै रुपमा लिन्छन् ।

घरमा छोराछोरीले सारङ्गी बोकेर गर्दै आएको काम छोड्न भनिरहन्छन् । र पनि उनले छोडेका छैनन् । त्यही सारङ्गीको रेटेर नै उनको घरको चुलो कैयन् दिन बलेका छन् र छोराछोरीले हातमुख जोडेका छन् ।

त्यसैले सारङ्गी उनको पूर्खाको सम्पत्तिसँगै उनको दुःखको सारथि पनि हो । यहीसँग उनले बाँचुन्जेल सहकार्य गर्ने निधो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?