मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

मोटोपनका कारण हुने हर्नियाबाट कसरी जोगिने ?

काठमाडौँ– धेरैलाई हर्नियाका बारेमा त्यति धेरै जानकारी छैन । तर यसका बिरामीहरूको सङ्ख्या पछिल्लो समय बढिरहेको पाइन्छ ।

चिकित्सकहरूका अनुसार पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ । हर्निया शरीरको विभिन्न भागमा धेरै किसिमको देखिन सक्छ । हेर्दा सामान्य गाँठो हर्नियाको उपचारमा ढिलाइ गर्दा बिस्तारै आन्द्रा नै कुहिने समेतको जोखिम हुन सक्छ ।

यसकारण यो रोग लागेको कसरी थाहा पाउने? यसको उपचार पद्घति कस्तो छ? यसका कारण के–कस्ता जटिलताहरु हुन्छन् भन्ने विषयमा केन्द्रित भएर ग्यास्ट्रोलोजिष्ट सर्जन डा. धुव्र कँडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

हर्निया कस्तो रोग हो ?

हर्निया भनेको कुनै पनि शरीरको भाग क्याभिटीमा वरिपरि एउटा भित्ताले घेरेको हुन्छ । त्यो क्याभिटीमा डिफेक्ट आयो । प्वाल पर्‍यो भने मासु बाहिर निस्कन्छ । त्यसलाई नै हर्निया भनिन्छ ।

सामान्य भाषामा भन्नुपर्दा पेटभित्रका अंग फुलेर बाहिर गाँठोजस्तो देखिएमा त्यसलाई हर्निया भएको भनिन्छ । पेटभित्र झिल्ली, छाला, बोसो र मांसपेशी हुन्छन् । तीमध्ये मांसपेशी कमजोर हुँदै गएर प्वाल परेपछि हर्निया हुन्छ । त्यो प्वालबाट पेटभित्रको बोसो आन्द्रा बाहिर सुन्निएर आउँछ, जुन हेर्दा गाँठो जस्तो देखिन्छ । यही प्रक्रिया नै हर्निया भएको हो ।

यो रोग लाग्ने मुख्य कारणहरु के–कस्ता रहेका छन् ?

हर्निया हुने मुख्य कारणमा सबैभन्दा पहिलो मोटोपन हो । अर्को भनेको जो व्यक्तिहरु लामो समयसम्म धुम्रपान गर्ने, धेरै भारी कामहरु गर्ने, गह्रौँ कुराहरु उचाल्ने गर्छन् भने उनीहरुलाई यो समस्या बढी मात्रामा देखिन्छ ।

मोटोपन, अत्यधिक भारी तौल उठाउँदा मांसपेशी तन्किएर कमजोर हुन्छ । जसकारण हर्निया हुने सम्भावना अधिक हुन्छ । धुम्रपान गर्नेहरुको मांसपेशी कमजोर हुँदै जाने, शल्यक्रियापछि टाँका लगाएको ठाउँमा मांसपेशी काटियो भने टुक्रा भएर बस्दा पनि हर्निया हुन सक्छ ।

वृद्धवृद्धाहरुमा प्रोस्टेटको समस्याका कारण पिसाब गर्दा बल गर्नुपर्छ । बल गर्दा पेटभित्रको प्रेसर बढेर आउँदा हर्निया हुने सम्भावना हुन्छ । कब्जियत भइराख्ने बिरामीमा पनि हर्निया हुन्छ । किनभने दिसा गर्न बलको प्रयोग गर्नुपर्छ । जसकारण मांसपेशी कमजोर हुन्छ । दमको बिरामी जसलाई अत्यधिक खोकी आउँछ उनीहरुमा पनि हर्निया हुने सम्भावना हुन्छ ।

यो रोग लागेका बिरामीहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

हर्निया हुनुमा खानपानको मुख्य भूमिका हुन्छ । बाहिरको खानेकुरा धेरै खाने, फाइबर कम भएको खानेकुरा खाने र धेरै मात्रामा खाने व्यक्ति मोटोपनको सिकार हुने गर्छन् । मोटोपन हर्निया हुनुको एक कारण हो । यसकारण स्वस्थ र आफू स्वस्थ रहन स्वस्थकर खानेकुराहरुको सेवन गर्नुपर्दछ ।

यो रोग लागेको कसरी थाहा पाउने, यसका लक्षणहरु के–कस्ता देखा पर्छन् ?

हर्नियाको लक्षण यसको प्रकार र स्थानमा निर्भर हुन्छ  अर्थात् शरीरको कुन भागमा हर्निया छ भन्ने कुरा मुख्य हो । धेरैजसो भनेको तिघ्रा र पेटको जोर्नी अर्थात् जाङमा हुने हर्निया कमन हुन्छ । गरुङ्गो काम गर्दा वा बसेर उठ्दा प्रभावित भएको ठाउँमा गाँठोको अनुभव हुन्छ ।

हर्निया भएमा उभिदा वा भारी वस्तु उठाउँदा दुखाइ बढ्छ । सुत्दा गाँठो हराउने तर अरुबेला छाम्दा गाँठो देखिन्छ । उभिँदा, केही काम गर्दा, झुक्दा वा खोक्दा दुखाइ महसूस हुन सक्छ । कहिलेकाही हर्नियाका लक्षण केही पनि देखिँदैनन् । जटिल हर्निया छ भने आन्द्रा बेरिएर गाँठो पर्न सक्छ ।

जस कारण सुन्निएको ठाउँमा दुख्ने, वाकवाकी लाग्ने, पेट फुलेर आउने सम्भावना हुन्छ । हर्नियाको शुरुवाती चरणमा गाँठो नदेखिने तर दुख्ने पनि हुन सक्छ, जुन पहिचान गर्न कठिन हुन सक्छ । बिरामीलाई सुन्निएको ठाउँमा दुख्छ, भारी काम गर्दा नाइटो फुल्ने र सुन्निने हुन्छ, तब तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

कुन उमेर समूहका र कस्ता व्यक्तिहरुलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ?

हर्निया जुनसुकै उमेरमा हुन सक्छ । यद्यपि उमेर बढ्दै जाँदा मांसपेशी कमजोर हुँदै जाने भएकाले सबैभन्दा बढी जोखिम वृद्धहरुलाई हुन सक्छ । पुरुष र महिलाको तुलनामा भने यो रोग पुरुषहरुमा बढी देखिन्छ । अर्को भनेको भर्खर जन्मिएका बच्चाहरुमा पनि उनीहरुले जन्मजात नै हुने हर्निया हुन्छ । तर यो वंशाणुगत होइन ।

यसको उपचार पद्घति कस्तो छ ? र, यो कति खर्चिलो छ ?

यसको उपचार भनेको औषधी खाएर निको हुँदैन । यसको उपचार भनेकै शल्यक्रिया नै हो । पहिला–पहिला चिरेर नै यसको उपचार गनुपर्ने बाध्यता थियो । तर अहिले भने दुर्बिनबाट प्वाल बनाएर पनि उपचार गरिन्छ । चिरेर गर्ने उपचार सामान्यतया १५/२० हजार जति खर्चमा गरिन्छ भने दुर्बिनबाट थप १०/१५ हजार बढी लाग्ने हुन्छ ।

हर्निया हुन नदिन हामी कसरी सजक बन्न सकिन्छ ?

मुख्यकुरा भनेको तौललाई नियन्त्रणमा राख्नुहोस् । पौष्टिक खाना खानुपर्छ र मांशपेसी बलियो बनाउन प्रोटिन डाइट लिनुपर्छ । साथै धुम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ । पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् । धैरै भारी तौल उचाल्नुहुँदैन । एकै पटक अत्यधिक र चाँडै–चाँडै सिँढी चढ्ने र पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहुँदैन ।

शरीरका कुन–कुन भागमा हर्निया हुन्छ ?

हर्निया शरीरको कुनै पनि भागमा हुनसक्छ तर पनि यी भागहरुमा हुने हर्निया भने कमन हुन् । पेटमुनीको भागमा अर्थात् जाङमा, पेटमा, नाइटो र करङ बिचको भागमा, तिघ्रामा हुने हर्निया साझा हो ।

यो रोगको बेलैमा पहिचान र उपचार हुन सकेन भने कस्तो जटिलता निम्तिन सक्छ ?

यो रोगले मानिसलाई धेरै असर गर्दैन । धेरै लक्षणहरु देखा नपर्ने कारण धेरै मानिसहरु सामान्य मानेर बसिरहन्छन् । तर हर्नियाको उपचार जति ढिला गर्‍यो उति शल्यक्रिया जटिल हुन्छ । यसले आन्द्रा कुहिएर फुट्ने र बोसो कुहिने सम्भावना बढ्छ । जसकारण आन्द्रा काटेर फाल्ने र पुनः रुपमा जोड्ने जस्ता समस्या देखिन्छ । उपचारमा ढिलाइ गर्दा आन्द्रा फुटेर दिसा पेटभित्र पुगेर ज्यानै समेत जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?