मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्व

दश हजार शहरमध्ये यी हुन् विश्वका उत्कृष्ट सात ‘स्मार्ट सिटी’

काठमाडौँ– विश्वमा शहरहरुको सङ्ख्या तीव्र रुपले बढिरहेको छ । जति जति शहरहरु बढ्दैछन्, मानिसहरुमा उति नै तनाव, डिप्रेसनजस्ता समस्या पनि थपिइरहेका छन् ।

यस्तो अवस्थामा विश्वका कैयन् देशले ‘स्मार्ट सिटी’ को अवधारणा अपनाउन खोजिरहेका छन् । विभिन्न रिपोर्टहरूका अनुसार विश्वभरमा १० हजारभन्दा बढी शहरहरु छन् ।

कुनै पनि शहरलाई स्मार्ट बन्नका लागि भौतिक संरचना, डिजिटल कनेक्सन, पर्यावरण र विकासको सन्तुलन, शिक्षा–चिकित्सा र हरित ऊर्जा स्रोतहरुको पर्याप्ततासँगै आधुनिक यातायात इन्टरनेटको संवेदनशीलता, हरेक समस्याको मोवाइल समाधान, आर्टिफिसियल इन्टिलजेन्स(एआई) जस्ता कुराहरुको प्रर्याप्तता हुनुपर्छ ।

अमेरिकी पत्रिका फोर्ब्सका अनुसार  विश्वको करीब ५५ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रको पहुँचमा छ । यस्तै सन् २०५० सम्म करीब ६८ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रको पहुँचमा पुग्ने फोर्ब्सले उल्लेख गरेको छ ।

फोर्ब्सको प्रक्षेपणका अनुसार सन् २०३० सम्ममा मात्रै विश्वका करीब दश अर्बभन्दा बढी जनसङ्ख्या ‘मेगासिटी’ मा रहन पाउनेछन् । फोर्ब्सले सन् २०२५ मै जलवायु परिवर्तन लगायतका अन्य समस्याहरुका कारण विकासशील दुनियाँका कैयौँ शहरमा उर्जाको कमी हुन सक्ने पनि बताएको छ ।

केही देशहरु स्मार्ट प्रविधि अवलम्बन गर्दै तीव्र रुपमा आफ्ना सहरहरुलाई स्मार्ट सहरमा बदलिरहेका छन् । नेपालमा पनि बेला बखतमा राजधानी लगायतका विभिन्न शहरलाई स्मार्ट सिटी बनाउनेबारे बहस हुने गरेको छ ।

सिंगापुर युनभर्सिटी फर टेक्नोलोजी एण्ड डिजाइन (एसयुटीडी)ले ‘इन्स्टिच्युड फर म्यानेजमेन्ट डेभलपमेण्ट’को सहयोगमा स्मार्ट सिटी इन्डेक्स २०२० को प्रतिवेदन सार्वजनिक गरेको थियो । 

आज हामी स्मार्ट परियोजनाका कारण विश्वका प्रमुख स्मार्ट शहरमा सूचीकृत सात शहरहरुबारे चर्चा गर्दैछौँ ।

सिंगापुर

सिंगापुरले आफ्नो शहरहरुलाई स्मार्ट बनाउनका लागि सन् २०१४ मा बृहत योजना लागू गरेको थियो । यसका लागि सार्वजनिक तथा निजी क्षेत्रमा प्रविधिलाई अवलम्बन गर्ने कुरामा जोड दिइयो ।

शहरमा हरेक ठाउँमा कन्ट्याक्टलेस भुक्तानी प्रणाली अपनाइयो । वृद्धावस्थामा प्रवेश गरिरहेको जनसंख्याको जीवन सजिलो बनाउनका लागि डिजिटल स्वास्थ्य प्रणाली, बिरामीहरुको स्वास्थ्यको निगरानीका लागि उपकरण तथा इन्टरनेटको सुविधा दिइएको छ ।

त्यहाँ पैदल यात्री तथा साइकलको प्रयोग गर्नेहरुका लागि विशेष रुपमा सुविधाहरुको विकास गरिएको छ ।

हेलन्सिकी, फिनल्याण्ड

विश्व खुसी सूचाकाङ्कमा विश्वमै शीर्ष स्थानमा पर्न सफल भएको फिनल्याण्डको राजधानी हेलसिंकी शहरले स्मार्ट सिटी बन्नका लागि सन् २०३५ सम्ममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्ने योजना बनाएको छ ।

यहाँसम्म कि, आगामी १२ वर्षभित्रमा ट्राफिकबाट हुने उत्सर्जनलाई ६९ प्रतिशतले घटाउने लक्ष्यमा यो शहरले काम गरिरहेको छ ।

शहरका सबै बस प्रणालीलाई विद्युतीय बसमा परिणत गरिएको छ । हरेक ठाउँमा विद्युतीय कार चार्जिङ स्टेशन निर्माण गरिएको छ भने मेट्रो प्रणाली विकास गरी तीव्र रुपमा शहरको परिवहन प्रणालीलाई बदलिएको छ ।

आवासीय भवनहरुमा ऊर्जाका हरित स्रोतहरुको प्रयोग बढाउनु तथा भवनहरुको निर्माण गर्दा नयाँ प्रविधिको प्रयोगमा जोड दिइएको छ ।

ज्येष्ठ नागरिकहरुको पेन्सन, घरमै आएर स्वास्थ्य जाँच तथा आधुनिक स्वास्थ्य निगरानी प्रणालीका माध्यमबाट नागरिकहरुको जीवनलाई सहज बनाउने काम भएको छ ।

जुरिच, स्वीटजरल्याण्ड

स्वीट्जरल्याण्डको जुरिच शहर स्मार्ट सुविधाहरुका लागि एक उदाहरण नै हो । जीवनको गुणवत्ताको मामिलामा यो शहर विश्वमा चौथो स्थानमा आउँछ ।

फोहोरको पुनःचक्रण, हरित ऊर्जा, डिजिटल सुरक्षा, उत्कृष्ट स्वास्थ्य सुविधा, आधुनिक शिक्षा सुविधाहरुको माध्यमबाट आम शहरबासीहरुको जीवन सहज गर्ने र डिजिटल डिभाइडलाई कम गर्नमा केन्द्रित हुँदै जुरिचले आफ्नो प्रणालीलाई विश्वका अन्य शहरभन्दा फरक ढंगले विकास गरेको छ ।

ओस्लो, नर्वे

करीब ६ लाख ७० हजार जनसंख्या भएको नर्वेको राजधानी शहर ओस्लो शहरका सडकदेखि लिएर हरेक क्षेत्रमा स्मार्ट सुविधाहरुको झलक देख्न सकिन्छ ।

शहरका अधिकांश सवारी साधनहरू विद्युतीय छन् । आगामी २ वर्षभित्रमा शहरका सबै गाडीलाई विद्युतीय गाडीले विस्थापित गर्ने लक्ष्य नर्वेले लिएको छ ।

निःशुल्क पार्किङ, ठाउँठाउँमा चार्जिङ स्टेशन, बस लेन प्रयोगको अधिकार, सडक तथा करमा न्यूनीकरण जस्ता छुटहरु यो शहरमा दिइन्छ ।

एम्सटर्डम, नेदरल्याण्ड

सन् २००९ मा स्मार्ट सिटी परियोजना शुरु भएको नेदरल्याण्डको एम्सटर्डम शहरमा मानिसहरुको जीवन सहज बनाउनका लागि हरेक सुविधासम्म सजिलै पहुँच पुगाउने व्यवस्था गरिएको छ ।

नव प्रवतनलाई मुख्य एजेण्डा बनाएको एम्सटर्डम शहरमा नवीकरणीय तथा सौर्य उर्जाबाट चल्ने बस तथा बसपार्कहरुको समेत व्यवस्था छ ।

न्युयोर्क, संयुक्त राज्य अमेरिका

सन् २०२० मा न्युयोर्कमा सिटी पाइलट कार्यक्रमको रुपमा सयौँ स्मार्ट सेन्सरहरू र प्रविधिहरू परीक्षण गरी राखियो । जसले प्रविधिको प्रयोगको मद्दतले फोहोर व्यवस्थापन र सङ्कलन जस्ता सेवाहरूलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍यायो ।

योसँगै फोन बुथको सट्टामा कन्ट्याक्टलेस टेक्नोलोजी, वाइफाइ क्षमताहरू, साथै अनलाइन चार्जिङ स्टेशनहरू राखिए ।

अमेरिकाको न्युयोर्क शहर संसारको सबैभन्दा धनी शहर मात्र नभई सबैभन्दा आधुनिक शहरको रुपमा समेत परिचित भयो । न्युयोर्कमा स्मार्ट सिटी परियोजनाका काम शुरु भएसँगै शहरका तमाम सडकहरुमा सयौं सेन्सरयुक्त सुविधाहरुको व्यवस्था गरिएको छ ।

सिओल, कोरिया

दक्षिण कोरियाको राजधानी सिओल प्रविधि अवलम्बन गर्ने मामिलामा विश्वमै सबैभन्दा अगाडि रहेको शहर हो । शहरलाई स्मार्ट बनाउनका लागि सिओलले डिजिटल तथ्यांकको सबैभन्दा उत्कृष्ट तरिकाले प्रयोग गरेको छ ।

ट्राफिक फ्लो तथा गाडीहरुको गतिको तथ्यांक संकलन गरी सीसीटीभीसहित स्वचालित नियन्त्रण संकेतहरु हरेक इलाकामा राखिएको छ ।

वायुको गुणस्तर मापनका लागि सेन्सरको प्रयोग गरिएको छ । यस्ता वायु मापन उपकरणहरुको सूचना सहजै आम मानिसहरुसम्म पुग्दछ । जसका कारण नागरिकहरु सचेत हुन्छन् ।

सिओल प्रहरीले अपराध नियन्त्रणका लागि समेत आर्टिफिसियल इन्टेलिजेन्समा आधारित प्रविधिको साहरा लिने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?