मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्पतालमा बिरामी भेट्दा ख्याल गर्नुपर्ने यी ७ कुरा 

कोही आफन्त, नातेदार, चिने जानेका, साथीभाइ बिरामी भएर अस्पताल भर्ना हुँदा हामी उनीहरूलाई अस्पताल पुग्ने गर्छौँ । जब हामी बिरामीकहाँ पुग्छौँ, हामीले अस्पतालको सामान्य मर्यादा पनि भुलिरहेका हुन्छौँ ।

त्यो उपचार गर्ने ठाउँ हो, अरू पनि बिरामी हुन्छन् भन्ने कुराको हेक्का राख्दैनौँ । त्यसैले होहल्ला गर्न थाल्छौँ । त्यति मात्र होइन, अस्पतालमा बिरामी भेट्न जाँदा हामी धेरै त्रुटि पनि गरिरहेका हुन्छौँ ।

यसै सन्दर्भमा आज हामी  बिरामी भेट्न जाँदा  विचार गर्नुपर्ने केही कुराहरू बारे जानकारी  दिँदै छौँ ।

बिरामीसँग धेरै प्रश्नोत्तर नगर्ने

जब बिरामीलाई भेट्छौँ, अहिले कस्तो छ,के भनेर सोध्छौँ । बिरामीलाई साह्रो–गाह्रो पो छ कि भनेर चासो राख्नु अस्वाभाविक पनि होइन । यद्यपि, कतिपयले भने बिरामीलाई भेट्नासाथ अन्तर्वार्ता लिन सुरु गर्छन् । के भयो, कसरी भयो, कहाँ भयो ? इत्यादि । यसरी बिरामीलाई अनावश्यक केरकार गर्नु अशोभनीय मात्र होइन, बरु थप पीडा दिन्छ । त्यसैले बिरामीलाई भेट्दा अनावश्यक रूपमा सोधिखोजी नगरौँ । यदि बिरामीको बारेमा जान्नुपर्ने भए चिकित्सक, कुरुवासँग अलग्गै कुराकानी गर्न सकिन्छ ।

तडकभडक नगरौँ

कुनै नेता –कार्यकर्ता, सानोतिनो चर्चा कमाएका, हुनेखाने कोही बिरामी परेर अस्पताल भर्ना भएका छन् भने मान्छेहरू सानोतिनो जुलुस लिएरै भेट्न त्यहाँ पुग्ने गर्छन् । अस्पतालमा उनीहरू तडकभडक देखाउन थाल्छन् । चिकित्सकलाई दबाब दिने, कर्मचारीलाई हप्काउने गर्छन् । अस्पताल जस्तो संवेदनशील ठाउँमा यसरी तडकभडक गर्दा अरू बिरामी वा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई असर पुग्छ ।

होहल्ला र भिडभाड नगरौँ

कतिपय बिरामी भेट्न मान्छेहरूको भीड लाग्छ । उनीहरू होहल्ला गर्छन् । चर्को स्वरले गफ गर्छन् । पारिवारिक वा राजनीतिक कुरा समेत गरिरहेका हुन्छन् । अस्पतालमा बिरामी भेट्न जाँदा अलि संयमित हुनुपर्छ, शान्त हुनुपर्छ ।

आफ्नो स्वच्छतामा ध्यान दिने

बिरामी भेट्न जाँदै हुनुहुन्छ भने आफ्नो शारीरिक स्वच्छतामा पनि ध्यान दिनुपर्छ । किनभने बिरामीको भर्खर शल्यक्रिया गरिएको हुनसक्छ वा कुनै सङ्क्रमणले थलिएको हुनसक्छ । यस्तो अवस्थामा हामीले थोरै लापरबाही गरिदिँदा थप सङ्क्रमण फैलिन सक्छ । त्यसैले आफ्नो स्वच्छतामा ध्यान दिने गरौँ ।

अरू बिरामीको बेडमा नबसौँ

अस्पतालमा बिरामी भेट्न जानेहरू अरू खाली बेड देख्नासाथ त्यहाँ बस्ने, सुत्ने गर्छन् । यसरी अरू बिरामीका लागि तयार गरिदिएको बेडमा नबसौँ, चाहे त्यो खाली नै भए पनि । यस्तो कुरामा आफैँलाई अनुशासित राख्नुपर्छ ।

के खानेकुरा लैजाने ?

हामीकहाँ बिरामी भेट्न जाँदा खाली हात जानु हुन्न भन्ने धारणा छ । त्यही कारण कतिपयले फलफूल बोक्छन् भने कतिपयले अरू स्वास्थ्यवद्र्धक खानेकुरा । यदि बिरामीको आर्थिक अवस्था कमजोर छ भने उनीहरूको आवश्यकताअनुसार खानेकुरा लगिदिनु राम्रो हो । तर औपचारिकता मात्र पूरा गर्नका लागि बिरामीलाई भएभरको खानेकुरा लगिदिनु त्यति बुद्धिमानी हुँदैन । यसो गर्दा अरू गरिब, विपन्न बिरामी वा उनीहरूका आफन्तलाई असहज हुन्छ । त्यसैले आवश्यक भएमा मात्र खानेकुरा लैजाने गरौँ, देखाउनका लागि होइन ।

जथाभाबी फोहोर नगरौँ

अस्पताल परिसरमा फोहोर मैला नगरौँ । आफूले खाएको खानेकुराको बोक्रा, खोललाई सही ठाउँमा विसर्जन गरौँ । बाध्यात्मक अवस्थाबाहेक अस्पतालमा बसेर बाहिर रेस्टुरेन्टबाट खानेकुरा मगाउने, खाने नगरौँ । अस्पताललाई स्वच्छ, सफा राख्नु तपाईँ हाम्रो दायित्व पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?