मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के सबै बिरामीलाई दिइने सलाइन पानी एउटै हो ?

उपचारका क्रममा अस्पताल भर्ना हुँदा बिरामीको अवस्था कमजोर भए सलाइन पानी दिइने गरिन्छ । यसले बिरामीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार ल्याउँछ ।

सिकिस्त बिरामीलाई औषधिका रुपमा सलाइन पानी नै दिने गरेको पाइन्छ । कतिपय घाइते भएर औषधि सेवन गर्न नसक्ने बिरामीलाई पनि सलाइन पानी चढाउने गरिन्छ । चिकित्सकहरू भने सलाइन पानी बिरामीको अवस्था हेरेर त्यही अनुसार दिने गरिएको बताउँछन् ।

आखिर बिरामीलाई दिइने सलाइन पानी कस्तो औषधि हो ? यसले बिरामीको शरीरमा कस्तो प्रभाव देखाउँछ ? लगायतका विषयमा कन्सल्टेन्ट फिजिसियन डा. प्रतीक पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

कस्तो औषधि हो सलाइन पानी ?

सलाइन पानी भनेको सम्पूर्ण बिरामीहरुलाई उपचारको सुरुवाती चरणमा दिइने औषधि हो । कुनै पनि अवस्थामा शरीरमा पानी या नुनको मात्रामा कमी आउँदा बिरामी कमजोर हुने हुन्छ । त्यस्तो अवस्थामा सलाइन पानी दिने गरिन्छ । यदि कसैको दुर्घटनामा परेर अत्यधिक रक्तश्राव भएर शरीरमा रगतको कमी भयो भने पनि यो औषधि दिइन्छ ।

प्राय: बिरामी अस्पताल भर्ना हुँदा सलाइन पानी दिने गरिन्छ । सबै प्रकृतिका बिरामीलाई सलाइन पानी नै दिइने कारण के होला?

त्यस्तो हुँदैन । सामान्यतया पाँच प्रकारका सलाइन पानी बिरामीको अवस्था हेरेर दिइने गरिन्छ । यदि कसैको शरीरमा नुनको मात्रा बढी छ भने त्यस्तो अवस्थामा सलाइन पानी दिन मिल्दैन । यस्ता बिरामीलाई चिनी मात्र भएको ग्लुकोज दिने गरिन्छ ।

त्यस्तै कोही बिरामीको शरीरमा चिनीको मात्रा कम छ भने २५ प्रतिशत मात्रै सुगर भएको सलाइन पानी दिइन्छ । र, अपरेशन गर्ने बिरामीको हकमा दिइने सलाइन पानी पनि फरक हुन्छ ।

के यसले शरीरमा कुनै नकारात्मक असर (साइड इफेक्ट) पनि हुन्छ ?

औषधि र स्वास्थ्यबारे अनभिज्ञ व्यक्तिसँग सलाइन लगाउँदा त्यसको असर झनै उल्टो हुनसक्छ । जस्तो कि, यदि शरीरमा नुनको मात्रा धेरै छ भने त्यसको कारण बिरामीको शरीरमा धेरै रोग हुन सक्छ । नशासम्बन्धी रोग छ भने त्यो बेलामा फरक सलाइन पानी दिइयो भने पनि झनै अर्को असर हुन्छ ।

दिमाखमा सोइलिङ हुने, होस गुम्ने, जस्तो सम्भावना बढी हुन्छ । यसकारण सम्बन्धित व्यक्तिसँग परामर्श लिएर मात्रै सलाइन पानी लगाउनुपर्छ । अर्को सामान्य साइड इफेक्ट भनेको सलाइन नशाबाट दिइने हुँदा नशा सुन्निने र एलर्जी हुने सम्भावना पनि हुन्छ ।

त्यसो भए कुन कुन अवस्थामा सलाइन पानी दिइन्छ ?

जब कुनै बिरामीले मुखबाट खानेकुरा, पानी वा आवश्यक कुरा खान सक्दैन, उनीहरुलाई रक्तनली मार्फत सलाइन पानी दिइने गरिन्छ । बेहोस भएका, निरन्तर वान्ता गरिरहने, खाना पेटमा नअडिने, औषधि खाँदा पनि बान्ता हुने भएमा सलाइन पानी दिनु जरुरी हुन्छ ।

शरीरमा पानीको अभाव भएका, अत्यधिक रक्तश्राव भएका, इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई तुरुन्तै सलाइन पानी दिइने गरिन्छ । त्यस्तै झाडापखालाले असहज बनाएका, शल्यक्रियाको तयारी गरिरहेका र पेट खाली राख्नुपर्ने अवस्थाका बिरामीलाई पनि सलाइन पानी दिइन्छ ।

उपचारका क्रममा रगत खेर जाने जोखिम भएका बिरामीलाई सलाइन दिइन्छ । लगातार नसाबाट औषधि दिनुपर्ने भएकालाई पनि सलाइन दिइन्छ ।

यसको कुनै नकारात्मक असर हुनसक्छ ?

सलाइन पानी सिधै रक्तनसामा इन्जेक्सनको माध्यमबाट दिइने हुनाले साइट इफेक्ट सुई लगाएको ठाउँमा दुख्ने, घाउ हुने, सुन्निने, रातो हुने, चिसो लाग्ने, ज्वरो आउने, रक्तचाप कमी हुने हुन्छ । त्यस्तै घाउमा संक्रमण भएर रगतको माध्यमबाट संक्रमण छिर्न सक्छ । विभिन्न जटिल रोग लाग्न सक्छ ।

यसले शरीरमा कस्तो प्रभाव पार्छ ?

शरीरमा पानीको अभावबाट हुन सक्ने समस्याबाट बचाउन सलाइन पानी आवश्यक पर्छ । जसले शरीरमा रक्तसञ्चार कायम राखी महत्वपूर्ण अंगलाई हुने हानीबाट जोगाउन मद्दत गर्छ । यसले शरीरमा पानीको मात्रा परिपूर्ति गरिदिन्छ ।

अन्त्यमा, आम पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

झाडापखाला, वान्ताको समस्या भएका बिरामी एकदमै सिथिल अवस्थामा, खानै नसक्ने, डिहाइड्रसेन धेरै भएको, पानीको मात्रा कम भएका मानिसहरुलाई विशेष गरी सलाइन दिनुपर्ने हो । तर घरै बस्नसक्ने, एक–दुई पटक मात्रै झाडापखला भएको मान्छेलाई यो आवश्यक पर्दैन ।

वास्तवमा सलाइनु पानी पनि जीवनजल जस्तै नै हो । केही मात्रामा मात्रै सलाइन अलिक प्रभावकारी हुन्छ । कतिपय अवस्थामा सामान्य बान्ता, पखाला लागेको व्यक्ति पनि सलाइनु पानी मात्रै लगाएर घर फर्किन्छु भनेर अस्पताल जानुहुन्छ यस्तो कदापि नगर्नुहोला ।

यसको सेवन जीवनजल जसरी आफैले पिएर पनि गर्न सकिन्छ तर चिकित्सकको सल्लाह बिना गर्नु हुँदैन । सलाइन पानी भनेको कुनै रोगको उपचार होइन । यो सहयोगी औषधि मात्र हो । नभई नहुने भए पनि खासै केही नहुने औषधि मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?