काठमाडौँ– गायक तथा रचनाकार फूलकुमार बोम्जनको शब्दमा ‘मायामा नेल’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
सन्जोक योञ्जनको प्रस्तुतिमा फापरे लयमा आधारित गीतलाई यसै साता सार्वजनिक गरिएको हो । गीतमा योञ्जनलाई स्वरमा साथ गायिका सुमिना लोले दिएकी छिन् । गीतमा संगीत वरिष्ठ सेलो गायक तथा संगीतकार चन्द्रकुमार दोङको रहेको छ ।
दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन बाबुराजा केसी(उज्ज्वल)ले गरेका छन् । गीतमा तामाङ समुदायको परम्परात तथा ऐतिहासिक पक्षलाई उठान गर्दै पछिल्लो समय मायाप्रेममा जात र वर्गीय व्यवस्थाले पारेको प्रभावबारे उठान गरिएको छ ।
समाजमा कामकै आधारमा गरिएको जातीय वर्गीकरणकै कारण विभेदमा पारिएको दलित समुदायको पीडालाई समेत चित्रण समेत गीतमा छ । राज्यकै कारण दलीय र सीमान्तकृत वर्ग हालसम्म उत्पीडनमा परेको कुरा गीतमा सुन्न सकिन्छ ।
प्रेमले सबै दलित लगायत सीमान्तकृत एक बनौं भन्ने भाव गीत मार्फत भन्न खोजिएको रचनाकार बोम्जनले सुनाए । ‘हामी तामाङ लगायत जनजाति र दलित समुदायको पीडा एउटै छ,’ उनले भने, ‘हामीबिच पनि किन जातिय रुपमा अलग हुने ? जातकै कारण मायामा नेल लगाइएको छ ।
मायाप्रेमले हामी एक बनौं भन्ने नै मेरो गीतले भन्न खोजेको छ ।’ दुई दशकभन्दा लामो समयदेखि सेलो गीतसंगीत सिर्जनामा रहेका बोम्जनको डेढ सयभन्दा बढी गीतहरुमा प्रेम, विरह र उत्पीडनका स्वरहरु समावेश छन् ।
गीतको भिडियोमा गायक योन्जनसँगै सचिन बोम्जन, प्रेम लोप्चन र कविता न्यौपानेलाई देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया