मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च २०८०

वर्ष २०८० मा झण्डै ५० वटा मौलिक नाटक मञ्चन, प्रभाव कस्तो?

पुस्तक र उपन्यासमा आधारित नाटकमार्फत समाज नियाल्ने प्रयास

काठमाडौँ– वर्ष २०८० मा रङ्गमञ्चमा निरन्तर नाटकहरु मञ्चन गरिए । नेपाली नाट्य क्षेत्र यस वर्ष निकै उर्वर रहेको विश्लेषण गरिएको छ ।

गत वर्ष काठमाडौँ उपत्यका र मोफसलमा नाटक घरमा कथा/उपन्यासमा आधारित रहेर लेखिएका मौलिक नेपाली नाटकहरु मञ्चन गरिए । तीमध्ये धेरै नाटकले दर्शकको उत्साहजनक साथ पनि पाए ।

मञ्चन भएका नाटकहरुलाई हेर्दा यस वर्ष अधिकांश थिएटरहरुमा मौलिक नाटकहरु प्रदर्शनमा आएका छन् । थिएटरका नियमित तथा नयाँ दर्शकहरुले मौलिक नाटकहरुको स्वाद चाख्न पाए ।

मौलिक नाटकहरू मञ्चन गरिए पनि जति लेखिनुपर्ने हो, त्यति नाटक नलेखिएको रङ्गकर्मी आशान्त शर्मा बताउँछन् ।

उनका अनुसार समकालीन समय र समाजलाई केलाउन नाटक लेख्दा लामो समय लाग्ने भएकाले पनि मौलिक नाटक कमै मात्र लेखिएका हुन् ।

‘मौलिक नाटक लेख्न र आँट गर्न अझै चुनौती नै छ,’ जोय नेपालको कुराकानीमा उनले भने, ‘आफ्नो अवधारणा बनाएर त्यसैमा अध्ययन, अनुसन्धान गरेर नाटक लेख्न एकदेखि डेढ वर्ष लाग्छ, त्यसको प्रतिफल थिएटरबाट आउँछ भन्ने निश्चित पनि हुँदैन ।’

समय, लगानी र मेहनतको जोखिम मोलेर हत्तपत्त नाटक लेख्न आँट गर्न नसकिने उनले सुनाए । नाटक लेखिसकेपछि मञ्चनसम्म पुर्‍याउन लामै प्रक्रिया र मेहनत गर्नुपर्ने रङ्गकर्मीहरु सुनाउँछन् ।

एकाध नाटकलाई छोड्ने हो भने, लामो समय र मेहनत लगाएर तयार गरिएको नाटकले एक त हल नपाउने अर्कातिर पाए पनि भाडासम्म तिर्न नसक्ने अवस्था रङ्गकर्मीहरुले बेहोरेका छन् । मौलिक नाटक लेखनमा जेडी तमु, रविन दोङ, केदारनाथ पाैडेल लगायतका नयाँ पुस्ता अग्रसर देखिएका छन् ।

नाटक लेखिएपछि त्यसलाई मञ्चसम्म पुर्‍याउनेदेखि व्यवस्थापमा पनि निकै धेरै समय दिनुपर्ने तमु बताउँछन् । उनको लेखन तथा निर्देशन रहेको नाटक ‘ब्युँझिएको सिरानी’लाई थापागाउँस्थित मण्डला र बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको थियो ।

नाटकलाई मञ्चनसम्म लैजाने आधार भएमा नयाँ पुस्ताका सिर्जनाहरु पनि आउने उनको भनाइ छ ।

यस वर्ष मण्डलामा मञ्चन भएको नाटक ‘मासिन्या’ले पनि दर्शकको राम्रो साथ पायो । तामाङ समुदायको पीडालाई समेटिएको नाटकको लेखन राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतले गरेका छन् भने बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गरेका हुन् ।

मौलिक नाटक लेखन अगाडि बढे पनि नाटकलाई थिएटरसम्म पुर्‍याउन धेरै घेराहरु नाघेर पुग्नुपर्ने लेखक स्याङ्तानले सुनाए । उनका अनुसार नेपाली नाट्य क्षेत्रमा अझै पनि शेक्सपियर र बालकृष्ण समसम्मको नाटक हुन्छन् भन्ने आम मानिसको बुझाइ छ ।

यसले गर्दा मौलिक नाटकहरु लिएर आउने लेखकहरुलाई निकै कठिन हुने उनले बताए ।

‘नेपाली लेखकहरुले लेखेको नाटकलाई अझैपनि दर्शकले पत्याउँदैनन्, विदेशी वा भारतसम्मकै राम्रा लेखकको नाटकमा दर्शकको आकर्षण देखिन्छ,’ उनले भने ।

मौलिक नाटकले थिएटरमा दर्शक नपाउने डरले निर्देशकसम्म नपाउने अनुभव उनले बटुलेका छन् । सिनेमा क्षेत्रको जस्तै नाटक निर्माता संघ वा संस्थाहरु भएमा मौलिक नाटक लेखन अगाडि बढ्ने उनको ठम्याइ छ ।

उनका अनुसार नाटक क्षेत्र नै खर्चिलो विधा भएकाले आर्थिक रुपमा घोषित वा अघोषित पक्षको सहायता हुनपर्छ ।

यद्यपि नेपाली रङ्गमञ्चमा रङ्गकर्मीहरुको आफ्नै बलबुताले थिएटरलाई व्यावसायिक रुपमा अगाडि बढाइरहेको छ ।

यसमा राज्यका कुनै संस्था भन्दा पनि व्यावसायिक रङ्गकर्मीहरुकै देन रहेको हालै नक्सालस्थित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरिएको एक गोष्ठीमा रङ्गकर्मीहरु शर्मा, केदार श्रेष्ठ, प्रभाकर न्यौपाने लगायतले प्रस्ट पारेका थिए ।

यी हुन् व्यावसायिक रङ्गकर्मीको पहलमा वर्ष २०८० मा मञ्चन गरिएका नाटक

काठमाडौँको थापागाउँस्थि मण्डला थिएटरमा मञ्चन भएका नाटक

मण्डला थिएटरमा वैशाख १५ गतेदेखि २४ गतेसम्म नाटक ‘जून’ मञ्चन गरियो । संयोग गुरागाईको लेखन रहेको यस नाटकमा नम्रता केसीको डिजाइन, निर्देशन र कोरियोग्राफी रहेको छ । विशेष गरी संगीत, ध्वनी र शास्त्रीय नृत्यको फर्ममा प्रस्तुत गरिएको यस नाटकमा सानैमा आमा गुमाएपछि जून पात्रले गरेको सङ्घर्ष देखाइएको छ ।

नाटक: जून

निर्देशन: नम्रता केसी

बुद्ध र भिकारी

थापागाँउस्थित मण्डला थिएटरमा ज्येष्ठ १६ देखि ३२ गतेसम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भएको थियो । नेपाली पौराणिक लोककथालाई नाट्य रुपान्तरण गरी ‘स्याडो प्ले’ मार्फत नाटक मञ्चन गरिएको थियो । चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटकलाई चेतन आङ्थुपोले नाट्य रूपान्तरण तथा अनुवाद गरेका थिए भने परिकल्पना तथा निर्देशन अनिल सुब्बाको रहेको थियो ।

नाटक: बुद्ध र भिकारी

निर्देशन: अनिल सुब्बा

कोराघाट

थापागाँउस्थित मण्डला थिएटरमा असार ७ गतेदेखि २१ गतेसम्म मञ्चन भएको नाटक ‘कोराघाट’लाई कमलमणि नेपालले निर्देशन गरेका हुन् । मण्डलाको थिएटर ल्याबको एघारौँ ब्याचका प्रशिक्षार्थीहरुले कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरु’मा आधारित रहेर नाटक तयार गरेका हुन् । 

नाटक: कोराघाट

निर्देशन: कमलमणि नेपाल

चक्र

थापागाउँस्थित मण्डला थिएटरमा जीवन र सङ्घर्षको चक्रलाई अनुभूति गराउने संवेदी नाटक ‘चक्र’लाई साउन ४ गतेदेखि १४ गतेसम्म मञ्चन गरिएको थियो । नाटकमा नर्वेमा सेन्सरी थिएटर अध्ययन गरेका रामहरि ढकालको परिकल्पना तथा निर्देशन रहेको थियो । १५ जनाको संख्यामा सहभागिता जनाउन सक्ने नाटकमा सहभागीले विशेष गरी पाँच ज्ञानेन्द्रीयहरू आँखा, नाक, कान, जिब्रो र छालाको माध्यमबाट आ–आफ्नो अनुभूतिहरु महसूस गरेका थिए ।

नाटक: चक्र

निर्देशन: रामहरि ढकाल

युद्धका घाउहरु २.०

थापागाउँस्थित मण्डला थिएटरमा साउन १६ गतेदेखि २१ गतेसम्म नाटकको मञ्चन गरिएको थियो । मण्डला थिएटरको ‘मण्डला ड्रामा स्कुल’का पहिलो ब्याचको प्रस्तुति नाटकको लेखन तथा निर्देशन अन्जान प्रदीपले गरेका थिए । नाटकमा जनयुद्ध र त्यसका असरमा परेका पात्रहरुको कथा समावेश छ ।

नाटक: युद्धका घाउहरू २.०

निर्देशन: अन्जान प्रदीप

दमिनी भीर

राजन मुकारुङको चर्चित २०६९ सालमा मदन पुरस्कार प्राप्त कृतिबाट नाटक ‘दमिनी भीर’ तयार गरिएको थियो । इंगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई भदौ २२ गतेदेखि असोज १० गतेसम्म मञ्चन गरिएको थियो ।

नाटक: दमिनी भीर

निर्देशन: इंगिहोपो कोइँच सुनुवार

ब्युँझिएको सिरानी

मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै प्रस्तुत गरिएको नाटक थापागाउँस्थित मण्डला थिएटरमा असोज १६ गतेदेखि कात्तिक २ गतेसम्म मञ्चन गरिएको थियो । कोरियोग्राफर तथा कलाकार जेडी तमुको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटकलाई बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मंसिर १५ गतेदेखि ३० गतेसम्म मञ्चन गरिएको थियो ।

नाटक: ब्युँझिएको सिरानी

निर्देशन: जेडी तमु

मानिस हराएको सूचना

थापागाउँस्थित मण्डला थिएटरमा यो नाटक मंसिर १५ गतेदेखि २४ गतेसम्म मञ्चन गरिएको थियो । लैङ्गिक तथा आम मानिसको पीडालाई समेटिएको नाटकको निर्देशन अमित गिरी र सन्तोष रहेको थियो भने लेखन अमित गिरीको रहेको थियो ।

नाटक: मानिस हराएको सूचना

निर्देशन: अमित गिरी र सन्तोष विष्ट

गुलाफ

फिजिकल थिएटर विधामा रहेर तयार पारिएको नाटक ‘गुलाफः यशोधराको यात्रा’लाई रङ्गकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशन गरेका हुन् । सिद्धार्थ गौतमले आफ्ना प्रश्नको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले समेटेको छ । थापागाउँस्थित मण्डला थिएटरमा पुस ११ गतेदेखि २२ गतेसम्म नाटकको मञ्चन गरिएको थियो ।

नाटक: गुलाफ

निर्देशन: रामहरि ढकाल

मासिन्या

तामाङ लगायत सीमान्तकृत समुदायको पीडालाई प्रस्तुत गरिएको नाटकलाई थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ गतेदेखि मञ्चन शुरु गरिएको थियो । २८ गतेसम्म मञ्चन गर्ने भनिएपनि दर्शकको मागका कारण १० दिन समय थप गरिएको थियो । राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबत(रामबहादुर तामाङ)को लेखन रहेको नाटकको निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् ।

नाटक: मासिन्या

निर्देशन: बुद्धि तामाङ र सोनाम लामा

क्लेशा

सन् २०१९ मै मण्डला थिएटरमा मञ्चन गरिएको नाटक ‘क्लेशा’ २३ औं भारत रङ्ग महोत्सवमा सहभागिता जनाउनुअघि मण्डलामा माघ २९ र फागुन १ गरी दुई सो पुनः मञ्चन गरिएको थियो । विजया कार्कीको निर्देशन रहेको नाटकमा प्रतीक्षा कट्टेलको लेखन रहेको छ । यसमा रामायणको कथालाई फरक दृष्टिकोणबाट भनिएको छ ।

नाटक: क्लेशा

निर्देशन: विजया कार्की

अन्धवेग

बालकृष्ण समको नाटक ‘अन्धवेग’लाई मण्डला थिएटरमा फागुन १८ गतेदेखि चैत्र १८ गतेसम्म मञ्चन गरिएको थियो । प्रवीण खतिवडाको लेखन तथा निर्देशन रहेको दुखान्त नाटकमा यौन विज्ञानलाई समावेश गरेका छन् ।

नाटक: अन्धवेग

निर्देशन: प्रविण खतिवडा

आकाशको बाटो

थापागाउँस्थित मण्डला थिएटरमा चैत २ देखि १८ गतेसम्म नाटक ‘आकाशको बाटो’ मञ्चन गरिएको थियो । नेपालमा बढ्दै गएको बेरोजगारीका कारण विदेशिएका नेपाली युवा र त्यसले नै सिर्जित सामाजिक समस्याहरुलाई केलाएको नाटकको लेखक तथा निर्देशक प्रदीप कुमार चौधरी गरेका हुन् ।

नाटक: आकाशको बाटो

निर्देशन: प्रदीप कुमार चौधरी

पुरानो घर थिएटरमा मञ्चन भएका नाटक

चे इज ब्याक

काठमाडौं सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक ‘चे इज ब्याक’ वैशाख १५ गतेदेखि जेठ ७ गतेसम्म मञ्चन गरिएको थियो । सुलक्षण भारतीको लेखन र कुन्दन थारुको निर्देशन रहेको नाटकमा काठमाडौंमा संघर्षरत एक पत्रकारको कथालाई प्रस्तुत गरिएको छ ।

नाटक: चे इज ब्याक

निर्देशन: कुन्दन थारु

मोन्टाज

काठमाडौं सिनामंगलस्थित पुरानो घर थिएटरमा मंसिर २२ गतेदेखि पुस १५ गतेसम्म नाटक ‘मोन्टाज’ मञ्चन गरिएको थियो । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटकमा ‘फस्ट किस,’ ‘धोती भर्सेस ब्रा’ र ‘इन्गेजमेन्ट रिङ्ग’ तीनवटा कथाहरु समावेश गरिएको थियो । जसमा समकालीन समाजकै कथाहरु प्रस्तुत भएका छन् ।

नाटक: मोन्टाज

निर्देशन: सुलक्षण भारती

ट्युबेल

सिनामंगलस्थित पुरानो घर थिएटरमा असार १५ गतेदेखि साउन १५ गतेसम्म नाटक ‘ट्युबेल’ मञ्चन गरिएको थियो । रोशन सुवेदीको परिकल्पना र निर्देशन रहेको नाटकमा हरिया चौधरीको कथा छ । भोजपुरी भाषामा तयार यस नाटकमा प्रजातन्त्रको पुनर्बहालीपछिको समयमा तराईका किसानहरूले भोगेको सिँचाइसम्बन्धी मधेशको कथालाई समेटेको छ ।

नाटक: ट्युबेल

निर्देशन: रोशन सुवेदी

घरको माया

भिमनिधि तिवारीको एकाङ्की नाटकमा आधारित रहेर दिनेश काफ्लेको परिकल्पना तथा निर्देशनमा नाटक ‘घरको माया’ सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन गरिएको थियो । साउन १७ गतेदेखि मञ्चन शुरु गरिएको थियो । 

नाटक: घरको माया

निर्देशन: दिनेश काफ्ले

सर्वनाम थिएटरमा मञ्चन भएका नाटक

कुमार जी आज्ञा गर्नुहुन्छ

कालिकास्थास्थित सर्वनाम थिएटरको १९ औं ब्याचको प्रस्तुतिमा पुस ८ गतेदेखि १५ गतेसम्म नाटक ‘कुमार जी आज्ञा गर्नुहुन्छ’ मञ्चन गरिएको थियो । अशेष मल्लको लेखन रहेको यस नाटकलाई यसअघि पनि मञ्चन गरिसकेको थियो । १९ औं ब्याचका शीतल थोकर र रसिक राजको परिकल्पना तथा निर्देशनमा पुनः मञ्चन गरिएको थियो ।

नाटक: कुमार जी आज्ञा गर्नुहुन्छ

निर्देशन: शीतल थोकर र रसिक राज

लक्ष्य/मी

धिरज थापा मगरको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘लक्ष्य/मी’को कात्तिक २५ गते सर्वनामको काव्याञ्जली कार्यक्रममा प्रस्तुत गरिएको थियो । लक्ष्य/मी समूहकै लेखन रहेको नाटकमा पारलैङ्गिक समुदाय र तिहारको भैलोको विषय समावेश गरिएको छ ।

नाटक: लक्ष्य/मी

निर्देशन: धिरज थापा मगर

च्यातिएको पर्दा

कालिकास्थानस्थित सर्वनाम थिएटरमा जेठ ७ गतेदेखि ९ गतेसम्म नाटक ‘च्यातिएको पर्दा’ मञ्चन गरिएको थियो । गोविन्दबहादुर मल्ल(गोठाले)को लेखन रहेको नाटकको परिकल्पना सुनदसिंह ठकुरी र निर्देशन ‘ल हेर्’ समूहले गरेको थियो ।

नाटक: च्यातिएको पर्दा

निर्देशन: ल हेर् समूह

द डिपार्चर

सर्वनाम थिएटरमा नरेन भट्टराईको लेखन तथा कृष्ण खड्काको निर्देशनमा नाटक ‘द डिपार्चर’ माघ २७ गतेदेखि फागुन ५ गतेसम्म मञ्चन गरिएको थियो ।  नाटकमा विदेशिएका परदेशीहरुलाई कुरेर बस्नेहरुको कथा समावेश गरिएको छ ।

नाटक: द डिपार्चर

निर्देशन: नरेन भट्टराई र कृष्ण खड्का

शिल्पी थिएटरमा मञ्चन गरिएका नाटक

ट्रान्जिट

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा साउन ५ गतेदेखि भदौ २ गतेसम्म नाटक ‘ट्रान्जिट’ मञ्चन गरिएको थियो । कुमार नगरकोटीको लेखन रहेको नाटकको निर्देशन घिमिरे युवराजले गरेका हुन् । नाटकले मायावी संसार र पात्रहरुबीच रुमलिएको वर्तमान र भूतका कथालाई खोतल्ने काम गरेको छ ।

नाटक: ट्रान्जिट

निर्देशन: घिमिरे युवराज

ह राम पण्डित

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ २७ गतेदेखि असोज १३ गतेसम्म नाटक ‘ह राम पण्डित’को मञ्चन गरिएको थियो । भैरव अर्यालको काउकुती, जय भुँडी, इतिश्री निबन्ध सङ्ग्रहभित्रको निबन्धहरुमा आधारित रहेर नाटक तयार गरिएको हो । नाटकको निर्देशन बारत लिम्बूले गरेका हुन् ।

नाटक: ह राम पण्डित

निर्देशन: बारत लिम्बु

गंगालाल

चे शंकरको लेखन तथा निर्देशनमा बत्तीसपुतलीस्थित गङ्गालाल फाउन्डेसन र गार्डेन थियटरको प्रस्तुतिमा नाटक काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ गतेदेखि फागुन ५ गतेसम्म मञ्चन गरिएको थियो । सहीद गंगालाल श्रेष्ठको जीवनमा आधारित रहेर नाटक तयार गरिएको थियो ।

नाटक: गंगालाल

निर्देशन: चे शंकर

जे थर्टी(थ्री)

साहित्यकार कुमार नगरकोटीको ग्राफिक्स नोबेल ‘जे थर्टी(थ्री)’ उपन्यास भित्रको एक अंशलाई चैत्र १७ गते विमोचन समारोहमा नाटकका रुपमा मञ्चन गरिएको थियो ।

नाटक: जे थर्टी(थ्री)

निर्देशन: घिमिरे युवराज

मासु बेच्ने केटो

शिल्पीले केही समयअघि मात्र दीवंगत भएका कथाकार राजेन्द्र पराजुलीको कथासंग्रह ‘जन्तरमन्तर’मा समावेश कथा ‘मासु बेच्ने केटो’लाई चैत्र १० गते मञ्चन गरेको थियो । नाटकको परिकल्पना तथा निर्देशन संगीता उराँवले गरेकी थिइन् । 

नाटक: मासु बेच्ने केटो

निर्देशन: संगीता उराँव

कौसी थिएटर कथाघेरामा मञ्चन भएका नाटक

त्रयम

थिएटर भिलेजको प्रस्तुतिमा नाटक ‘त्रयम’लाई टेकुस्थित कौसी थिएटरमा जेठ १२ गतेदेखि २८ गतेसम्म मञ्चन गरिएको थियो । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटकमा तीन महिलाको त्रिकोणात्मक कथालाई प्रस्तुत गरिएको छ ।

नाटक: त्रयम

निर्देशन: दिलीप रानाभाट

लेट्स अभिनय गरौं

समकालीन युवा पुस्ताको समस्यालाई केन्द्रमा राखेर तयार गरिएको नाटक ‘लेट्स अभिनय गरौं’लाई टेकुस्थित कौसी थिएटरमा असार ६ गतेदेखि १७ गतेसम्म मञ्चन गरिएको थियो । सुदाम सिकेको निर्देशन रहेको नाटकमा नृत्य, संगीत तथा शारीरिक चाललाई विशेष रुपमा प्रस्तुत गरिएको थियो ।

नाटक: लेट्स अभिनय गरौँ

निर्देशन: सुदाम सिके

बोधि–सत्व

टेकुस्थित कौसी थिएटरमा मङ्सिर २० देखि पुस ४ सम्म नाटक ‘बोधि–सत्व’ मञ्चन गरिएको थियो । नाटकको परिकल्पना, लेखन तथा निर्देशन चन्द्रमान मुनिकारले गरेका हुन् ।

नाटक: बोधि–सत्व

निर्देशन: चन्द्रमान मुनिकार

उबुर उबुर टिकी

सुदाम सिकेको निर्देशन रहेको नाटकलाई टेकुस्थित कौसी थिएटरमा चैत्र २ गतेदेखि १८ गतेसम्म मञ्चन गरिएको थियो । शारीरिक हाउभाउ र ध्वनीकै माध्यममा नाटकको विषयवस्तुत प्रतिकात्मक रुपमा बुझाउन खोजिएको थियो । जसमा शरीरको भाषालाई प्रयोग गरिएको थियो ।

नाटक: उबुर उबुर टिकी

निर्देशन: सुदाम सिके

आरोहण कुञ्ज थिएटरमा मञ्चन भएका नाटक

आधा अपूरो

मोहन राकेशको लेखन रहेको नाटक ‘आधा अपूरो’लाई जेठ ५ गतेदेखि २२ गतेसम्म थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा मञ्चन गरिएको थियो । नाटकको परिकल्पना तथा निर्देशन भने शंकर पोखरेलले गरेका हुन् ।

नाटक: आधा अपूरो

निर्देशन: शंकर पोखरेल

काल

थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा मंसिर १४ गतेदेखि ३० गतेसम्म नाटक मञ्चन गरिएको थियो । शंकर खरेलको कथा ‘काल’बाट प्रभावित भएर रामभजन कामतको लेखन, परिकल्पना र निर्देशनमा नाटक तयार गरिएको थियो । नाटकमा मृत्यु र समय चक्रको कथा बोकेको छ ।

नाटक: काल

निर्देशन: रामभजन कामत

नासो

थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा पुस ४ गतेदेखि ७ गतेसम्म नाटक ‘नासो’ मञ्चन गरिएको थियो । कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित रहेर नाट्य रुपान्तरण तथा निर्देशन राम के एसीले गरेका हुन् । नाटकको सहनिर्देशन किरण चापागाईले गरेका थिए ।

नाटक: नासो

निर्देशन: राम के एसी

ओजस थिएटरमा मञ्चन भएका नाटक

मृत्यु कुण्ड

रातोपुलस्थित ओजस थिएटरमा बैशाख २० गतेदेखि जेठ १५ गते सम्म रविन दोङको लेखन तथा निर्देशनमा नाटक ‘मृत्यु कुण्ड’ मञ्चन गरिएको थियो । नाटकमा देशमा बढ्दो बेरोजगारी, अस्थिर राजनीति, चरम गरिबी जस्ता विषयले युवाशक्ति विदेश पलायन भएको कथालाई समेटिएको छ ।

नाटक: मृत्यु कुण्ड

निर्देशन: रविन दोङ

कर्तव्य

रातोपुलस्थित ओजस थिएटरमा मंसिर २६ गतेदेखि पुस ११ गतेसम्म नाटक ‘कर्तव्य’ मञ्चन गरिएको थियो । गुरु प्रसाद मैनालीको कथालाई नाट्य परकल्पना, रुपान्तरण तथा निर्देशन रविन दोङ र विशाल महर्जनले गरेका हुन् ।

नाटक: कर्तव्य

निर्देशन: रविन दोङ र विशाल महर्जन

समयको पीडा

रातोपुलस्थित ओजस थिएटरमा माघ १० गतेदेखि २२ गतेसम्म नाटक ‘समयको पीडा’ मञ्चन गरिएको थियो । साहित्यकार पद्मावती सिंहको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन् । वैदेशिक रोजगारीले एक्लिएका अभिभावकहरुको कथा नाटकमा समेटिएको छ ।

नाटक: समयको पीडा

निर्देशन: सुन्दर धिमाल

एक चिहान

हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाट्य रुपान्तरण गरी नाटक ‘एक चिहान’का रुपमा मञ्चन गरिएको हो । रातोपुलस्थित ओजस थिएटरमा फागुन १७ गतेदेखि २५ गतेसम्म नाटकको मञ्चन गरिएको थियो । नाट्य रुपान्तरण तथा निर्देशन एचबी मगरले गरेका हुन् भने अनिल अधिकारीले निर्माण गरेका हुन् ।

नाटक: एक चिहान

निर्देशन: एचबी मगर

स्टुडियो थिएटरमा मञ्चन भएका नाटक

कि कुमार जेलमा कि कुमार रेलमा

सहलेशको लेखन रहेको नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ गौसाला पिङ्गालास्थानस्थित स्टुडियो थिएटरमा चैत्र १६ गतेदेखि मञ्चनमा आएको हो । वैशाख २ गतेसम्म मञ्चन हुने नाटकको निर्देशन सुरजले गरेका छन् । नाटकलाई मझुवा बगर जनकला मञ्चले प्रस्तुत गरेको हो ।

नाटक: कि कुमार जेलमा कि कुमार रेलमा

निर्देशन: सुरज

पोखरास्थित पोखरा थिएटरमा मञ्चन भएका नाटक

करेसा कन्सर्ट

पोखरास्थित पोखरा थिएटरमा केदार नाटक ‘करेसा कन्सर्ट’ मञ्चन गरिएको थियो । केदार श्रेष्ठको लेखन रहेको नाटकको निर्देशन अन्जु दाहालले गरेकी हुन् । नाटकलाई यसअघि पनि काठमाडौंमा मञ्चन गरिएको थियो । बालबालिकालाई करेसाबारी र त्यसमा फल्ने विभिन्न तरकारीका प्रजाति र गुणहरु सिकाउने हेतुले बालबालिकालाई केन्द्रित गरेर नाटक लेखिएको छ । साउन ६ गते मञ्चन शुरु गरिएको नाटकलाई पोखराका विभिन्न विद्यालयहरुलाई देखाइएको थियो ।

नाटक: करेसा कन्सर्ट

निर्देशन: अन्जु दाहाल

दुई नाटक

पोखरा थिएटरको प्रस्तुतिमा भिमनिधि तिवारीको एकांकीहरु ‘अमर पुत्र’ र ‘घरको माया’लाई नाट्य रुपान्तरण ‘दुई नाटक’साउन १४ गते मञ्चन गरिएको थियो । परिवर्तनको परिकल्पना तथा निर्देशनमा तयार गरिएको नाटकलाई विद्यार्थी लक्षित गरेर प्रस्तुत गरिएको थियो ।

नाटक: दुई नाटक

निर्देशन: परिवर्तन

एक चिहान

साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यासमाथि तयार पारिएको नाटक मंसिर ११ गतेदेखि पुस ६ गतेसम्म पोखरा थिएटरमा मञ्चन गरिएको थियो । नाटकको नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका थिए ।

नाटक: एक चिहान

निर्देशन: परिवर्तन

धनिरामको गोरु   

पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा ‘धनिरामको गोरु’ मञ्चन हुने भएको थियो । केदारनाथ पौडेलले लेखेको नाटकलाई कपिल शर्माको निर्देशन गरेका हुन् । पपछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटक मार्फत उठाउन खोजिएको छ ।

नाटक: धनिरामको गोरु

निर्देशन: कपिल शर्मा

चुलाचुली रङ्गमञ्चमा मञ्चन भएका नाटक

झोडा

गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित रहेर नाटक ‘झोडा’ तयार गरिएको थियो । नाटकको नाट्य रूपान्तरण सुमन लिङ्देनले र परिकल्पना तथा निर्देशन चेतन आङथुपोले गरेका हुन् । पूर्वीमधेसमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको नाटकलाई इलामस्थित चुलाचुली र काठमाडौं बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा फागुन ११ गतेदेखि २६ गतेसम्म मञ्चन गरिएको थियो ।

नाटक: झोडा

निर्देशन: चेतन आङथुपोले

कदम थिएटरमा मञ्चन भएका नाटक

लङ्ग टाइम नो सी

साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाइएको ‘लङ्ग टाइम नो सी’ झापास्थित कदम थिएटरमा  फागुन २९ गते देखि चैत ६ गतेसम्म नियमित रुपमा मञ्चन गरिएको थियो । पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गइरहेको छ भन्ने सन्देश दिएको नाटकलाई दीपक खरेलले निर्देशन गरेका हुन् ।

नाटक: लङ टाइम नो सी

निर्देशन: दीपक खरेल 

जयमाया आफू मात्र लिखापानी आइपुगी

इन्द्र बहादुर राईको कथामा आधारित नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ झापास्थित कदम थिएटरमा असोज १२ गतेदेखि २१ गतेसम्म मञ्चन गरिएको थियो । नाटकलाई जीवन बरालले निर्देशन गरेका हुन् । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई कथामा समेटिएको छ ।

नाटक: जयमाया आफू मात्र लिखापानी आइपुगी

निर्देशन: जीवन बराल

विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन गरिएका नाटक

विराटनगरस्थित आरोहण गुरुकुलमा भदौ २२ गतेदेखि ३१ गतेसम्म गरिएको ‘विद्यालय नाटक महोत्सव’ अन्तर्गत भरत कार्कीको निर्देशनमा ‘नेता जी,’ सुरज माझीको निर्देशनमा ‘आधा सत्य,’ वेदप्रसाद निरौलाको निर्देशनमा ‘कोपिला,’ लकेश दंगालको निर्देशनमा ‘तीतो बोली सच्चा गुण,’ नगेन्द्र भट्टराईको निर्देशनमा ‘अबोध,’ चाहत रिजाल र प्रथम लामिछानेको निर्देशनमा ‘चम्किला अनुहारहरु,’ भरत रोयको निर्देशनमा ‘विछोड,’ रेणुका बजगाईको निर्देशनमा  ‘स्वाद,’ शंकरप्रसाद सुवेदीको निर्देशनमा ‘खैराँती मास्टर,’ र करुणा पोखरेलको निर्देशनमा ‘आमा,’ मञ्चन गरिएको थियो ।

यसबाहेक नाटक अध्यापन र स्वतन्त्र रुपमा रङ्गकर्ममा लागेका पुष्पराज अवस्थीको परिकल्पना तथा निर्देशनमा यस वर्ष ‘बाह्रा,’ ‘ढुङ्गाको खिचडी,’ ‘हराएकी म’ र ‘भागु’ नाटकहरुलाई राजधानीका विभिन्न नाटकघरहरुमा विद्यालयकै विद्यार्थीहरुको प्रस्तुतिमा मञ्चन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?