मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

म्याद सकिएका औषधि खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?

नेपालमा स्वास्थ्य जाँच गरेपछि औषधि किन्दा त्यसको म्याद गुज्रिएको छ कि छैन भनेर ग्राहकले त्यति ख्याल गरेको पाइँदैन । चिकित्सकले औषधि किन्न सुझाए पनि धेरैले त्यसको उत्पादन मिति हेरेर औषधि किन्ने गरेको पाइँदैन ।

चिकित्सकहरूले भने औषधि किन्दा त्यसको म्याद कति छ भनेर हेर्नुपर्ने सल्लाह दिन्छन् । म्याद नाघिसकेका औषधिहरू बेच्दा कानूनी कारवाही हुने भए पनि धेरै ग्राहक यसबारे अनभिज्ञ भएको पाइन्छ । अर्कातर्फ प्राथमिक उपचारका लागि भन्दै कतिपयले सिटामोल, ब्रुफिनजस्ता औषधिहरू किनेर घरमा राख्ने गरेको पाइन्छ ।

त्यसरी घरमा थन्काएर राखिएका औषधिहरूको म्याद गुज्रेको छ कि छैन भनेर हेर्ने गरेको समेत पाइँदैन । त्यस्ता म्याद गुज्रिएका औषधिहरू सेवन गर्दा रोग निको नहुने चिकित्सकहरू बताउँछन् ।

म्याद सकिएको औषधिको सेवनले स्वास्थ्यमा कस्तो असर पर्छ? यसले असर गर्छ कि गर्दैन? औषधि किन्दा के कुरामा ध्यान दिनुपर्छ लगायतका विषयमा जनस्वास्थ्यविद् डा.समीर दीक्षितसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

म्याद नाघिसकेका औषधिको सेवन गर्दा बिरामी निको हुने सम्भावना कति हुन्छ?

म्याद नाघिसकेका औषधिको सेवन गर्दा त्यसको उपयोगिता र प्रभावकारिता हुँदैन । कतिपय वितरकहरूले औषधिको म्याद सकिए पनि दुई/तीन महिनासम्म काम गर्छ भन्ने गरेको पाइन्छ तर यो गलत हो । औषधि भनेको रसायनयुक्त केमिकल नै हो । यसलाई पनि तापक्रम लगायत विभिन्न प्रकारले भण्डारण गरेर राखिन्छ । त्यसको निश्चित समय हुन्छ । यदि उक्त समय कट्यो भने औषधिको प्रभावकारिता पनि घट्दै जान्छ ।

त्यस्ता औषधि प्रयोग गर्नु कति हानीकारक हुन्छ?

औषधि मात्र नभएर म्याद सकिएका कुनै पनि कुरा खानु हुँदैन । अझ औषधि त निकै ध्यान दिनुपर्ने कुरा हो । म्याद नाघेका औषधी सेवन गर्नु जोखिमपूर्ण पनि हुनसक्छ । तर ‘एक्सपायरी डेट’ भनेको त्यो मितिपछि औषधि विष बन्ने भन्ने चाहिँ होइन । आज औषधिको उपभोग्य मिति सकियो भने भोलिपल्ट त्यसलाई प्रयोग गर्दा नकारात्मक असर गरिहाल्ने भन्ने नै त होइन । तर, म्याद सकिएपछि औषधिको प्रभावकारिता कम हुने चाहिँ हो । औषधिको काम गर्ने क्षमता कम हुने हो ।

म्याद सकिएका औषधिले काम गर्दैन भन्ने हो?

हो । म्याद सकिएका औषधिको सेवन गर्दा यसले शरीरमा सकारात्मक भन्दा नकारात्मक असर बढी देखाउँछ । यसकारण म्याद सकिएको औषधि खानु हुँदैन । उदाहरणका लागि ‘डेट एक्सपायर’ भएको एन्टिबायोटिक सेवन गर्नुभयो भने त्यस्तो औषधिले रोगको जिवाणु मार्न सक्दैन । यसले मार्नुको सट्टामा प्रतिरोधात्मक क्षमता जिवाणुमै बढाइदिन सक्छ । यसकारण यो निकै खतरनाक हो ।

झुक्किएर उपभोग्य मिति सकिएको औषधि खाए के हुन्छ त ?

कहिलेकाहीँ कस्तोसम्म अवस्था आउन सक्छ भने डेट सकिएको औषधि खाँदा तत्काल बाहिर निकाल्नुपर्ने अवस्था पनि हुन सक्छ । मुख्य कुरा के हो भने म्याद सकिएको औषधि खानु नै भएन । यदि भुलवश सेवन गरेमा तुरुन्तै चिकित्सकीय परामर्श लिनुपर्छ ।

कुन औषधि सेवन गरेको हो, कति मिति नाघेको औषधि सेवन गरेको हो । त्यो अनुसार चिकित्सकले सल्लाह दिन्छन् । अवस्था खराब देखिएमा कलेजो र मिर्गौलाको परीक्षण समेत गरिन्छ । यी सबै परीक्षणमार्फत औषधिको कुनै साइड इफेक्ट छ कि छैन भनेर स्पष्ट हुन्छ ।

अन्त्यमा, पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

पहिलो कुरा त तपाईँले औषधि खरिद गर्दा त्यसको उपभोग्य मिति अर्थात् उत्पादन भएको मिति हेर्न भुल्नु हुँदैन । यस्ता उत्पादन मिति नलेखिएका औषधिहरु किन्दै नकिन्नुहोस् । अर्को भनेको धेरैजसो औषधिहरुलाई ओसिलो ठाउँमा राख्नुपर्छ । चिकित्सकले औषधिलाई कस्तो स्थानमा राख्नु भनेको छ त्यही स्थानमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?