मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वर्ष २०८०: स्टेज भत्किनेदेखि जुत्ता प्रहारसम्म, यी हुन् सङ्गीत क्षेत्रका चर्चित घटना

काठमाडौँ– वर्ष २०८० लाई सरसर्ती हेर्दा नयाँ गीत रिलिजदेखि कलाकाहरु स्टेज कार्यक्रमहरुमा उत्तिकै व्यस्त रहे । यो वर्षमा नेपाली सांगीतिक क्षेत्रले फराकिलो बाटो बनाएको देखिन्छ ।

प्रकाश दुतराज जस्ता स्रष्टाका ठेट नेपाली गीतलाई पनि संगीतप्रेमीहरुले निकै रुचाए । संगीत सिर्जनामा नाम र दाम दुवै बटुलिरहँदा सांगीतिक क्षेत्रका सर्जकहरु विभिन्न प्रकरणहरुका कारण चर्चामा रहे । नेपाली गीतसंगीत क्षेत्रका हस्ति मानिनेहरु नै विभिन्न कारणले चर्चामा आए ।

केही कलाकारहरु बलात्कारको आरोपदेखि दर्शकमाथि माइक प्रहार त कहीँ गाउँदै गर्दा स्टेज भासिएकै कारण ट्रोलको सिकार भए । त्यस्तै ब्रेकअपदेखि विवाहका किस्सा पनि चर्चामा रहे ।

यी हुन् वर्ष २०८० का चर्चित घटना:

शर्मिला श्रेष्ठ र कृष्ण कँडेल

वर्ष २०८० मा लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबीचको झगडाले पनि राम्रै चर्चा पायो । आफूमाथि यौन हिंसा गरेको आरोप लगाउदै शर्मिला लगायतका कलाकारहरुले इन्द्रेणी कार्यक्रका सञ्चालक कडेँलमाथि मुद्दा दायर नै गरे । जसले सामाजिक सञ्जालमा दुवैको पक्षविपक्षमा धेरैथरि तर्क–वितर्क गरे । कँडेलले पनि श्रेष्ठ विरुद्ध मुद्दा हालेका थिए । अहिले भने यी दुईको विवाद मिलिसकेको छ ।

प्रकाश सपूत

आफ्ना सिर्जनामा समकालीन समाज, जातीय विभेद जस्ता विषयमा मुद्दा बनाएर सशक्त रचना गर्ने गायक, कलाकार तथा निर्देशक प्रकाश सपूत वर्षभरि नै चर्चामा रहे । गत वर्षको शुरुवातमा उनले सार्वजनिक गरेको गीत ‘सकुम्बरी’ ले निकै चर्चा पायो ।

गीतमा पृथक प्रयोग गर्न रुचाउने प्रकाश सपूतले तीन महिनाअघि सार्वजनिक गरेको ‘मुटु कटक्कै’ कारण पनि उनले झन चर्चा बटुले । यस्तै ‘जाले रुमाल फाट्यो’ र ‘दमाई महाराज’ गीतका कारण पनि उनले लोकप्रियता कमाए ।

अझ केही समयअघि उनले पोखरामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेतालाई ‘गलबन्दी’ गीतमा स्टेजमा नचाएर चर्चा बटुलेका थिए । यस्तै रोमानियाको एक कार्यक्रममा क्यान बियरको उनीमाथि बोतल प्रहार भएका कारण पनि वर्ष २०८० मा उनी सामाजिक सञ्जालमा छाए ।

विदेशको एक कार्यक्रममा स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको थियो । जसको कारण उनको निधारमा सामान्य चोट समेत लागेको थियो ।

एलिना चौहान

विभिन्न कारणले बेलाबेलामा चर्चामा आइरहने गायिका एलिना चौहान यो वर्ष पनि चर्चामै रहिन् । उनी वर्ष २०८०मा गीत चोरी, ब्रेकअप तथा साउन्ड टेक्निसियनसँग विवादका कारण चर्चामा रहिन ।

पर्वतमा आयोजित एक महोत्सवमा साउन्ड टेक्निसियनसँगको विवादका कारण उनी सामाजिक सञ्जाल तथा मिडियामा छाइन् । पछि चौहानले नै माफी मागेपछि विवाद साम्य भएको थियो ।

त्यसपछि उनीमाथि ‘कट्टा हानिदिन्छु’ भन्ने बोलको गीतमा चोरीको आरोप समेत लाग्यो । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’बाट हुबहु चोरिएको आरोप लगाएका थिए ।

राजेशपायल राई

तेह्रथुमको एक स्टेज कार्यक्रममा कमेडियन राकेश दर्नाललाई ब्याक किक हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वर्ष २०८० मा गायक राजेश पायल राई पनि चर्चामा आए ।

यस्तै पाँच करोड बढी रुपैयाँसहित पत्नी साङबुङ राईसँग डिभोर्स गरेका कारण पनि उनी यस वर्ष चर्चामा आए । मादक पदार्थ सेवन गरी होहल्ला गरेको केही दिन अघिमात्रै उनी पक्राउ परेपछि फेरि सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका थिए ।

सुगम पोखरेल

गायक सुगम पोखरेल पनि वर्ष २०८० मा विवादरहित रहन सकेनन् । अस्ट्रेलियामा आयोजित एक कन्सर्टमा दर्शकमाथि माइक नै प्रहार गरेपछि उनी विवादमा तानिए ।

दर्शकमाथि माइक प्रहार गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले माफी नै मागेका थिए ।

हिमाल परियार

लोक संगीत क्षेत्रमा अछामका बालगायक हिमाल परियारको चर्चा पनि वर्ष २०८० मा निकै भयो । गायक, संगीतकार तथा गीतकार नरेश खाती परियारलाई काठमाडौँ ल्याएर गीत रेकर्ड गर्ने अवसर दिएका थिए ।

खातीकै शब्द तथा संगीतमा रहेको  ‘किन रुवाको’ बोलको गीत हिमालको स्वरमा रेकर्ड भएपछि श्रोताले निकै मन पराएका थिए । युट्युबर भोजराज थापाले हिमालसँग अन्तर्वार्ता लिएपछि उनको स्वरको प्रशंसा धेरैले गरेका थिए ।

यस्तै नेपाल आइडल सजिन २ का विजेता तथा गायक रवि ओड, देउडा गायक तथा मोडल चक्र बम र गायक दुर्गेश थापा पनि वर्ष २०८० मा विवादित रहे । गायक ओडविरुद्ध उनकै श्रीमतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा वैवाहिक बलात्कार मुद्दा दर्ता गरेकी थिइन् । जसका कारण ओड यसवर्ष विवादरहित हुन सकेनन् । र, चर्चामा आए ।

यस्तै देउडा गायक तथा मोडल वम भने गत कार्तिक महिनामा काठमाडौँको मैतिदेवीबाट पक्राउ परेपछि चर्चामा आएका थिए ।

मैतीदेवीस्थित एक डान्स बारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले बमसहित ९ जना अन्य कलाकारहरुलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेपछि उनका कारण पनि उनले सामाजिक सञ्जाल तथा मिडियाहरुले कभरेज पाए ।

हरेक वर्षजसो कुनै न कुनै कुराका कारण चर्चामा रहने गायक दुर्गेश थापा पनि वर्ष २०८० मा चर्चामै रहे । स्याङ्जामा आयोजित वालिङ महोत्सवमा प्रस्तुति दिँदै गर्दा उनीमाथि स्टेजमै जुत्ता प्रहार भएको थियो ।

दुर्गेशले भने कलाकारलाई यस्तो हुन्छ भन्दै जुत्ता हान्ने व्यक्तिलाई माफी दिएपछि यो कुरा साम्य भएको थियो ।

यस्तै बालगायक सचिन परियार तथा उनका बुवा तेजेन्द्र परियार पनि विभिन्न कारणले वर्ष २०८० मा निकै चर्चामा रहे । केही समय अघि भाइरल भएका बालगायक परियार बिरामी भएपछि उनको उपचारको लागि संकलन भएको पैसा अनावश्यक रुपमा खर्च भएको कुरा बाहिरिएको थियो ।

यसले बावुछोरा नै विवादमा तानिए । वर्षको अन्त्यतिर तेजेन्द्रले एक्कासी दोहोरी साँझ खोलेको तथा गाडी किनेको भन्ने कुरा बाहिरिएपछि उनी अहिले सामाजिक सञ्जालभरि नै छाएका छन् । 

केही समयअघि बोली र व्यवहारका कारण चर्चामा अएका प्युठानका मिनबहादुर बुढामगर (भेलुबाजे) पनि यसवर्ष पनि फेरी चर्चामा आए । संगीतकार बिबी अनुरागीसँग मिलेर ठाडी भाका ‘काटे डाली कैन’ गीत रेकर्ड गराएका भेलुबाजे बिरामी भएर थला परेपछि फेरि एकपटक सामाजिक सञ्जालमा चर्चाका पात्र बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?