मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जोखिमपूर्ण हुन सक्छ गर्भावस्थामा यस्ता लक्षण

गर्भावस्था निकै नै संवेदनशील अवस्था हो । यो समयमा धेरै कुराहरूमा ध्यान दिनुपर्दछ । यस्तो अवस्थामा विभिन्न लक्षणहरू देखा पर्दछन् ।

यस्ता लक्षणहरू सामान्य हुन् अथवा जटिलता निम्त्याउने खालको हो भन्ने कुरामा धेरै नै होसियारी अपनाउनुपर्ने हुन्छ । 

गर्भावस्थाको जटिलतालाई बुझाउने सङ्केत 

तल्लो पेट दुख्ने 

गर्भावस्थामा पेट हल्का दुख्नु सामान्य हो । तर कडा रूपमा  पेट दुख्ने वा तल्लो पेट दुख्ने र छोड्ने भइरहेमा अवस्था गम्भीर भनेर बुझ्नुपर्छ । प्रसवको समयभन्दा धेरै समय अघि यस्ता समस्या भएमा ‘प्रिम्याच्योर्ड लेबर’को लक्षण बुझ्नुपर्छ । यस्तो पेट दुखाइ गर्भपात, ९ महिना अगावै शिशुको जन्म वा अन्य कुनै गम्भीर अवस्थाको लक्षण पनि हुनसक्छ ।

अत्यधिक रक्तस्राव

कतिपय महिलाले गर्भावस्थाको सुरुका दिनमा हल्का रगत बग्ने गुनासो गर्छन्, जुन सामान्य हो । रगत बग्ने समस्या एक दिनभन्दा बढी समयसम्म रह्यो वा धेरै रगत बग्नुका साथै पेट दुख्ने समस्या भएमा सल्लाह परामर्शको लागि तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

गर्भावस्थाको अन्तिम महिनातिर अत्यधिक रक्तस्राव हुन्छ भने यसलाई हल्का रूपमा लिनु हुँदैन । अत्यधिक रक्तस्राव हुनुको मतलब साल गलत ठाउँमा बसेको वा प्रसवपूर्व साल छुट्टिएको हुनसक्छ । यो आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ ।

योनीस्राव

गर्भावस्थाको समयमा योनीस्राव हुनु पनि सामान्य हो । तर पातलो तरल पदार्थ बग्ने क्रम जारी रह्यो भने जोखिमपूर्ण हुनसक्छ । यो पानी फुटेको सङ्केत हुनसक्छ । गर्भमा रहेको बच्चाको वरिपरिको एम्निओटिक फ्लुड (तरल पदार्थ)ले बच्चालाई सुरक्षा प्रदान गर्छ ।

यस्तो एम्निओटिक फ्लुड रहेको पोकालाई बोलीचालीको भाषामा पानीको थैली भनिन्छ । यो गर्भे शिशुको वृद्धि विकासको लागि धेरै महत्त्वपूर्ण छ । यदि एम्निओटिक थैली समय भन्दा पहिले फुट्यो भने गम्भीर अवस्था आउन सक्छ ।

आँखाको दृष्टि धमिलो हुनु

गर्भावस्थाको अन्तिमतिर महिलामा शरीर कमजोर भई चक्कर आउने र दृष्टि धमिलो हुने हुनसक्छ । तर लगातार ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ वा आँखाले हेर्दा धमिलो दृष्टि छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ । विशेषगरी उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या हुनसक्छ ।

हात–खुट्टा सुन्निने

गर्भावस्थामा हात, खुट्टा वा शरीरका अन्य अङ्गमा सुन्निने सामान्य कुरा हो । जुन आराम गरेसँगै बस्छ । तर सुन्निएको ठाउँमा दुखाइ भएमा वा रातोपन देखा परेमा चिन्ताको विषय हुन्छ । त्यसैले यो समयमा आफ्नो शरीरको हेरविचार गर्नु अति जरुरी छ । यदि हात वा खुट्टामा सुन्निएको छ र दुख्छ भने तुरुन्तै चिकित्सकलाई जाँच गराउनुपर्छ ।

बच्चा नचल्नु

गर्भावस्थाको चार महिनापछि बच्चा यताउति चलिरहनु भनेको बच्चा ठिक रहेको सङ्केत हो । तीन महिनापछि गर्भको भ्रूण शिशुमा विकास हुन थाल्छ ।

पेटमा महिलाले लात हानेको महसुस गर्छिन् । तर परिपक्व सक्रिय बच्चाले अचानक केही घण्टा वा दिनभर कुनै हलचल नै गर्दैन भने यो गम्भीर समस्याको सङ्केत हो ।

बिहानको खाना, दिउँसोको खाजा र रातिको खाना खाएको एक घण्टा देब्रेतर्फ कोल्टिएर सुत्दा तीन–तीन पटक चल्नुपर्छ, दिनभरिमा कम्तीमा १० पटक चल्नुपर्छ । यसरी यी अवधिमा बच्चा चल्दैन भने तुरुन्तै परामर्श लिनुपर्छ ।

एक दिन भन्दा बढी ज्वरो आउनु

गर्भावस्थामा सामान्य रुघाखोकी लाग्नु ठिकै हो । किनकि गर्भावस्थाको बेला प्रतिरोधात्मक क्षमता कम हुने भएकाले महिलामा रुघाखोकीको मौसममा फ्लु छिट्टै सर्न सक्छ ।

तर पनि यस्तो बेलाको ज्वरो, खोकीलाई हल्का रूपमा लिनु हुँदैन । १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा तुरुन्त अस्पताल जँचाउन जानुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि सेवन गर्नुहुँदैन ।

छाला चिलाउनु

धेरैजसो महिला गर्भवतीको समयमा छाला चिलाउने समस्या लिएर आउँछन् । शरीर सुक्खा हुने कारण गर्भावस्थामा यो समस्या देखिन्छ । तर अत्यधिक चिलाइरहने समस्या भएमा कलेजोमा समस्या भएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?