काठमाडौँ– प्रणय गजलकारका रुपमा परिचित पोखरेली स्रष्टा प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ ।
उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालको भेन्टिलेटरमा राखेर उनको सोमबारदेखि उपचार भइरहेको थियो ।
केही दिनदेखि बिरामी उनमा निमोनिया र जण्डिस देखिएको जनाइएको छ । उनको मणिपालमा उपचारका क्रममा निधन भएको साहित्यकार रामजी प्रसाद आचार्यले जानकारी दिए ।
प्रणय गजलकारका रुपमा परिचित भए पनि उनले १४ सयभन्दा बढी गीतहरू लेखेका छन् भने कृतिहरू पनि प्रकाशित छन् ।
उनको पार्थिव शरीरलाई भोलि (बुधवार) मणिपाल अस्पतालदेखि शवयात्रा शुरु गरी भलाम जाने बाटोमा फूलबारी घाटमा अन्तेष्टि गरिने उपेन्द्र पौडेलले जानकारी दिए ।
प्रकटका ५० भन्दा बढी गीत रेकर्ड भएका छन् । तीमध्ये ‘तगारो छेउ आएर पनि’ लगायत केही गीत निकै लोकप्रिय छन् । उनका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमारदेखि मदनकृष्ण श्रेष्ठले समेत स्वर भरिसकेका छन् ।
उनले कविता, मुक्तक र गीत लेखे पिन श्रृङ्गारिक गजलका कारण लोकप्रियता कमाएका थिए ।
प्रकटका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ नामक गीत संग्रह, ‘प्रणय वेदका ऋचाहरू’ गजल संग्रह र ‘अक्षरभरि अक्षता’ कविता संग्रह प्रकाशित छन् ।
उनका श्रृङ्गारिक गजल गजलप्रेमी युवापुस्तामाझ निकै लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया