मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

युवापुस्तामा ढाड दुख्ने समस्या भए कसरी छुटकारा पाउन सकिन्छ?

पछिल्लो समय युवापुस्तामा ढाड दुख्ने समस्या बढ्दै गएको छ । दैनिक खानपान र व्यस्त जीवनशैलीले हाम्रो स्वास्थ्यमा पनि असर पार्दै गइरहेको छ ।

अधिकांश युवापुस्ता ढाड दुख्ने समस्याबाट पीडित छन् । केही वर्षअघिसम्म यो समस्या खासगरी महिला र वृद्धवृद्धामा बढी मात्रामा देखिन्थ्यो भने आजभोलि युवा अवस्थामा नै यस्तो समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

युवापुस्तामा ढाड दुखाइको समस्या बढ्नुको मुख्य कारण के हो ? यस्तो समस्याबाट कसरी छुटकारा पाउने? लगायतका विषयमा हाडजोर्नी विशेषज्ञ डा. अर्जुन प्रसाद डुम्रेसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

आजभोलि युवापुस्ताले ढाड दुख्ने समस्या बढ्दै गएको बताउनुहुन्छ, कारण के होला?

धेरैजसो ढाड दुखाइ हाम्रो उठाइ बसाइ, काम गर्ने तरिकासँग सम्बन्धीत हुन्छ । यसलाई हामी मेकानिकल ब्याक पेन पनि भन्छौँ । जुन हाम्रो जीवनशैलीसँग सम्बन्धित छ । यो उमेरअनुसार पनि फरक हुन्छ । साथै अरु सम्बन्धित रोगहरु पनि छन् कि छैनन् भनेर बुझ्नुपर्छ । सामान्यतया  खुट्टातिर दुखाइ सरेर गएको छैन, ढाड दुखाइ मात्रै छ, ज्वरोहरु छैन, खाना रुचि भइरहेको छ भने त्यो सामान्य ढाड दुखाइ हो ।

यस्तो समस्याबाट छुटकारा पाउने उपायहरू पनि होलान् नि?

मुख्य समस्या भनेको आजभोलि हाम्रो दैनिकीमा व्यायाम निकै कम हुन्छ । अझ शहरीया परिवेशमा त स्क्रिनको अर्थात् धेरैजसो कामहरु कम्प्युटरबाट गर्ने भएकाले ढाड दुख्ने समस्या निकै बढ्दो छ । यसबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको नियमित ढाडको व्यायामहरु गर्नु नै हो ।

अर्को कुरा भनेको पोस्चरलाई हेरचाह गर्नु पनि हो । जसको मतलब हाम्रो बसाइको तरिका मिलेको हुँदैन । जस्तो बस्दा ढाडको पोजिसन मिलाएर बस्ने, लामो समय एउटै पोजिसनमा नबस्ने, आधा घन्टा अथवा ४५ मिनेटमा बसिहरनुभन्दा केही समय उठेर हिँड्ने गर्नुपर्छ । यदि आधा घन्टा उभिरहेका छौं भने एकछिन बस्ने गर्नुपर्छ । त्यसो गरियो भने ढाडलाई सपोर्ट गर्ने मांशपेशीहरु थाक्न पाउँदैनन् र दुखाइ हुने समस्या कम हुन्छ ।

हामीले हाम्रो दैनिकीमा गर्ने कस्ता कामहरुले यस्तो ढाड दुखाइको समस्या निम्त्याउँछ भन्ने हो ?

मुख्यतया ढाडमा सबैभन्दा बढी प्रेसर पर्ने भनेको हामीले झुकेर निकै भारी सामानहरु बोकेका छौँ भने त्यसमा सबभन्दा बढी प्रेसर पर्छ र सबभन्दा बढी दुखाइ पनि बढ्ने हुन्छ । यस्तो नर्गनलाई धेरै भारी चिजहरु अगाडि झुकेर नउठाउने, त्यही कुरालाई बरु बसेर थोरै–थोरै गरेर उठाउन सकिन्छ । यसकारण धेरै ठूलो भारी सकेसम्म बोक्नु हुँदैन ।

पछिल्लो समय भर्खरका युवापुस्तामा पनि ढाड दुख्ने समस्या देखिएको छ । यो के कारणले भइरहेको छ ?

उमेर पुगेका वृद्ववृद्घाहरुमा यस्तो समस्या हुनु भनेको स्वभाविक हो । उमेर अनुसार पनि ढाडका हड्डीहरू खिइने, त्यति सपोर्ट नगर्ने हुँदा यस्तो समस्या हुन्छ । तर युवापुस्ताहरुमा हुने दुखाइ भनेको मेकानिकल पेन नै हो ।

अहिलेको पुस्ता यस्तो छ कि, धेरै समय ल्यापटपमा बस्नुपर्ने, पढाइ–लेखाइ पनि ल्यापटपबाटै गर्ने हुँदा मेकानिकल ब्याक पेन हुने गर्छ । नब्बे प्रतिशतभन्दा बढी मानिसहरुलाई हुने ढाड दुखाइको समस्या मेकानिकल ब्याक पेन नै हो । जुन हाम्रो जीवनशैली र पोस्चरका कारण हुन्छ । यसकारण हामी लामो समय एउटै पोजिसनमा बस्नु हुँदैन ।

ढाड दुखाइ कस्ता रोगहरुको लक्षण हो र कस्तो अवस्थामा जटिल बन्न सक्छ ?

धेरैजसो ढाड दुखाइलाई हामीले त्यसैसँग सम्बन्धित रोगहरु पनि छन् कि भनेर बुझ्नुपर्छ । कस्तो बेलामा ढाड दुखाइलाई गम्भीरतापूर्वक लिने भन्दा ढाड दुखाइसँग सम्बन्धित बिरामीलाई ज्वरो आको छ ।  तौल घट्दै गइरहेको छ अथवा खानामा रुचि कम हुँदै गएको छ । आरामसँग बसिरहेका बेला पनि ढाड दुख्ने समस्या भइरहेको छ भने यो जटिल बन्न सक्छ । यस्तो अवस्थामा इन्फेक्सन वा ट्युमर पलाएको हुनसक्छ । ५० वर्ष कटेका वृद्धवृद्धामा यस्ता समस्या छन् भने समयमै चिकित्सकीय परामर्श लिनुपर्छ । यो बाहेक चोटसँग सम्बन्धित ढाड दुखाइ छ भने यसलाई पनि तुरुन्त चेकजाँच गर्नुपर्दछ । सामान्यतया अरु ढाड दुखाइलाई अरु जाँचहरु आवश्यक पर्दैन ।

यसका घरेलु उपायहरु के–कस्ता छन् ?

नियमित व्यायाम यो समस्याको सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो । व्यायामले ढाड दुखाइलाई निको पनि पार्छ र साथसाथै बल्झिनबाट रोक्छ । अर्को भनेको दुखेको ठाउँमा हट वाटर ब्यागले सेक्न सकिन्छ । मसाज गरेर पनि कम गर्न सकिन्छ ।

ढाड दुखाइकै कारण अरु के–कस्ता समस्या सिर्जना हुनसक्छ ?

मुख्यकुरा ढाड दुखाईसँगै खुट्टातिरको दुखाइ छ कि छैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । अर्को भनेको ढाडको समस्या भए पनि कहिलेकाहीँ त्यसले नशाहरु च्यापिएको हुनसक्छ । यो ढाड दुखेकै कारण खुट्टामा जाने नशाहरु च्यापिएको अवस्थामा खुट्टा पनि दुख्ने हुन्छ । दुखाइ सरेर खुट्टासम्मै पुग्ने हुन्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा यस्तो समस्या बढी देखिन्छ ?

अहिलेको परिवेशमा भन्नुपर्दा युवाहरुमा नै यो समस्या बढी देखिन्छ । अर्को उमेर समूह भनेको ६५ वर्ष उमेर पार भएका वृद्ववृद्घामा यो समस्या देखिन्छ ।

महिला र पुरुषमा तुलनात्मक रुपमा कसमा यो समस्या बढी देखिन्छ ?

तुलनात्मक रुपमा पुरुषको तुलनामा महिलाहरु यो समस्याबाट पीडित छन् । किनभने महिलाहरुमा महिनावारी सकिएपछि हड्डीलाई सुरक्षा गर्ने हर्मोन कम हुन्छ र महिलाहरुमा हड्डी कमजोर हुने समस्या देखा पर्छ । यसकारण महिलाहरु यस समस्याबाट पीडित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?