काठमाडौँ– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो ।
सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए ।
यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै २८७ रन बनाएको थियो ।
सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए ।
यो आइपिएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा ठूलो टोटल हो । सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इण्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको थियो ।
यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो । ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया