काठमाडौँ- तीन देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित गरी १० दिने पहिलो नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ घोषणा गरिएको छ ।
सोमवार विश्व कला दिवसका अवसरमा ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसीएफ नेपाल)ले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको घोषणा गरिएको हो ।
महोत्सवको घोषणा कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले गरेका हुन् । एसिएफ नेपाल जारी गरेको विज्ञप्ति अनुसार महोत्सव मंसिर ५ देखि १४ गतेसम्म काठमाडौँमा हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन, १८ वर्षभन्दा मुनिका फिल्म निर्माता (योङ्ग फिल्म मेकर)को फिल्म प्रतियोगिता तथा कार्यशाला, बाल–चलचित्र तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालाहरुसँग छलफल/अन्तक्रिया, बालबालिकाको कला तथा बाल–पुस्तक प्रदर्शनी, बालबालिकाको सहभागिता र संग्लनतामा चलचित्रकर्मीसँग छलफल र निर्णायक (जुरी)को रुपमा बालबालिका समावेश तथा सहभागिता हुने जनाएको छ ।
चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम भएकाले यसले बालबालिकालाई दृश्यहरुले बालबालिकालाई कल्पना गर्न, तुलना तथा विश्लेषण गर्न, रचनात्मक सोचको विकास, विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्यहरु बुझ्न र बालबालिकामा सीपहरु विकास गर्न, दीर्घकालिन सम्झनाहरु निर्माण गर्न, ध्यान केन्द्रित गर्न सघाउ पुराउन आयोजक पक्षको विश्वास छ ।
चलचित्रले बालबाबलिकाको व्यक्तित्व विकासमा र असल नागरिक निर्माणमा समेत मद्दत पुराउने आशा राखिएको छ ।
एसिएफ नेपालका अध्यक्ष केदार श्रेष्ठका अनुसार संस्था ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित वि.सं.२०६९ सालमा स्थापना गरिएकाे हाे ।
जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्देश्यले स्थापना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया